अस्मिता पराजुली,
चितवन – चितवनमा यसबर्ष बर्खे धान उत्पादनमा कमी आएको छ । गत बर्षको तुलनामा यसबर्ष ८ प्रतिशतले धान उत्पादनमा कमी आएको हो ।
प्रधानमन्त्री कृषि परियोजना आधुनिकिकरण इकाई चितवनका अनुसार जिल्लाभर यसवर्ष २० हजार ८१२ हेक्टर क्षेत्रफलमा ८१ हजार १६६ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९ – ८० मा २२ हजार ८७० क्षेत्रफलमा १ लाख ६२८ मेट्रिकटन धान उत्पादन भएको थियो ।
गतबर्ष भन्दा यसबर्ष १९ हजार ४६२ मेट्रिकटन धान कम उत्पादन भएको प्रधानमन्त्री कृषि परियोजना आधुनिकिकरण इकाई चितवनका कृषि अधिकृत ईन्द्र शर्मा ढुङ्गानाले बताए ।
उनका अनुसार गतबर्ष प्रति हेक्टर ४ दशमलव ४ मेट्रिक टन धान उत्पादन भएको थियो भने यसवर्ष ३ दशमलव ९ ले खुम्चिएको हो ।
मुख्यतया यसबर्ष समयमा बर्षा नहुँदा किसानहरुले समयमै धान रोपाई गर्न पाएनन्न त्यसकारण धानको क्षेत्रफलसंगै उत्पादन घटेको उनले बताए । त्यस्तै रोपेका धानमा पनि रोग, किराको प्रकोप देखियो जसकारण धान उत्पादनमा कमी आएको उनको भनाई छ ।
उनले यसबर्ष समयमै पानी नपर्दा १० प्रतिशत धान रोपाई हुन नसकेको बताउँछन् । त्यसैले धानको क्षेत्रफल घट्यो उनी भन्छन्, रोपेका धानमा कालो पोके, सितफलाईस, भेराईटर, नेकबलास्टर जस्ता रोग देखियो त्यसैले उत्पादन संगै उत्पादकतत्वमा पनि कमी आएको हो ।
प्रधानमन्त्री कृषि परियोजनाले कृषिलाई प्रोत्साहन गर्न कृषिलाई प्रविधिसंग जोडेर कम लागतमा धेरै उत्पादन बढाउन विभिन्न अनुदानका कार्यक्रम गरिराखेको बताए ।
किसानहरुले मजदुर लगाएर खेती गर्दा लागत अनुसारको फल नपाएको गुनासो आउने गरेको बताउदै अबको युगमा धान उत्पादन बढाउन किसानहरुलाई यान्त्रिकरणमा लैजाने अभियानमा आफुहरु लागि परेको बताए ।
मेसिनले धानको रोप्ने, धान काट्ने गरेमा थोरै लागतमा धेरै धान फलाउन सकिन्छ उनले भने, मेसिनले रोप्दा उत्पादन बढ्छ । थोरै लागतमा कसरी उत्पादन बढाउने र आधुनिकतर्फ पढेलेखेका युवापुस्तालाई कृषिमा कसरी समाबेश गर्ने भन्ने अभियानमा छौं । उनी भन्छन् ।
चितवनमा यसबर्ष चैते धान उत्पादनमा भने बढेको छ । यसबर्ष ५ हजार ५४० हेक्टर क्षेत्रफलमा ३१ हजार २४ मेट्रिकटन धान उत्पादन भएको छ ।
गत बर्ष ५ हजार २८ हेक्टर क्षेत्रफलमा २४ हजार १३४ मेट्रिकटन धान उत्पादन भएको थियो । गतबर्ष भन्दा ७ हजार मेट्रिकटन धान बढी उत्पादन भएको छ ।
चितवनमा सबै स्थानमा धान खेती गर्दै आईरहे पनि धानको पकेट एरिया पुर्वी चितवन, पश्चिम चितवन र माडीलाई लिईने गरिन्छ । पुर्वी चितवनमा सिँचाईको राम्रो सुविधा भएका कारण वर्षे धान र चैते धान दुबै बाली लगाईन्छ ।
चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिना जस्ता प्रजातिका धान लगाइने गरिन्छ ।