भरतपुर – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-११ स्थित स्टार्स मन्टेश्वरी एकेडेमीले मंगलबार आफ्ना विद्यार्थीहरुलाई रिफ्रेसमेण्टको लागि भ्रमण गराएको छ । उनीहरुलाई मौलाकालिका मन्दिर भ्रमण र नारायणी नदीमा मोटरबोटमा राखेर जलविहार गराइएको हो ।
सानै उमेरदेखि नानीबाबुहरुलाई प्राविधिक विषयमा जानकारी दिने उद्धेश्यले मौलाकालिका केवलकारको भ्रमण गराइएको स्टार्स मन्टेश्वरीका प्रवन्ध निर्देशक गणेश रानाले बताए । उनले भने ‘नानीबाबुहरुलाई सडक यातायात र हवाइ यातायातको अलवा केवल यातायात र जल परिवहनको बारेमा ज्ञान दिन यस किसिमको भ्रमण गराइएको हो ।’
मौलाकालिका मन्दिर परिसरमा पुगेपछि प्रवन्ध निर्देशक रानाले नानीबबुहरुलाई हाम्रो सांस्कृतिक सम्पदाको महत्व बारे प्रष्ट्याएका थिए । आफ्नो मौलिक संस्कृति र धार्मिक विश्वास अनुरुप पूजा आराधना गराई उनीहरुलाई फर्काइएको थियो ।
मन्दिर दर्शनपछि फर्किएका नानीबाबुहरुलाई नारायणी नदि किनारमा लगेर जलपरिवहनको बारेमा जानकारी दिँदै मोटरबोटमा जलविहार गराइएको थियो । मोटरबोट चढ्न पाउँदा नानीबाबुहरु हर्षित भएका थिए ।
स्टार्स मन्टेश्वरी एकेडेमीले यस किसिमको भ्रमणबाट विद्यार्थी नानीबाबुहरुमा प्राविधिक विषयको जानकारी हुने विश्वास लिएको छ । मन्दिर भ्रमणबाट नानीबाबुहरुमा मौलिक संस्कृति सिक्न, बुझ्न र व्यवहारमा उतार्न सहज हुने समेत निर्देशक रानाले बताए ।
स्टार्स मन्टेश्वरी एकेडेमीले साना नानीबाबुहरुलाई सानै उमेरदेखि अब्बल साबित गराउन नयाँ नयाँ कृयाकलाप र भ्रमणमा समावेश गराउँदै आएको छ । चितवनमा स्थापना भएका अधिकांश मन्टेश्वरी स्कुलहरु मध्य स्टार्स मन्टेश्वरी एकेडेमी अब्बल दर्जामा परिचित छ । हरेक अभिभावकको मन जित्न सफल यस एकेडेमीमा विद्यार्थीहरुको चाप बढ्दै गैरहेको छ ।
“जहाँबाट तपाईंका नानिबाबुको भबिष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ” भन्ने मूल नाराका साथ पोखराको पालिखेचोकमा २०६५ सालमा स्थापना भएको यस मन्टेश्वरी, भरतपुर-११, मालपोतचोकमा २०६७ सालमा स्थापना भएको हो ।