नारायणगढ–मुग्लिन सडक : तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

एटुजेड समाचार

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन विस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउनका लागि डाँडा भत्काउनुपर्ने भएकाले विस्फोट गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ. कृष्ण आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को पूरै भत्काउन नसकिएपछि विस्फोट गर्न लागिएको हो । पुलको मुग्लिनतर्फको झण्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ । बाँकी ३५ मिटरका लागि लाई विस्फोट गर्न लागिएको छ ।

यसअघि गएको हिउँदमा सडक रोकेर दुई वटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको छ ।

प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमै विस्फोट गर्ने गृहकार्य गरिए पनि काममा ढिलाइ भएको थियो । उनका अनुसार ढिस्को भत्काउनका लागि विस्फोटक पदार्थ ल्याउन अनुमति पाइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय र पुनः गृहमन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको सूचना अधिकारी आचार्यको भनाइ थियो । यससँगै विस्फोटक पदार्थ ल्याएर राख्न नेपाली सेनासँग रहेको बङ्कर मर्मत गर्ने तयारी गरिएको छ । दश टन विस्फोटक पदार्थ झिकाउन लागिएको उनले जानकारी दिए ।

दुई महिनाभित्रमा विस्फोटक पदार्थ झिकाएर अर्को दुई महिनामा विस्फोट गरी डाँडा भत्काउने तयारी छ । सूचना अधिकारी आचार्यले भने, ‘हाम्रो योजनाअनुसार काम भएमा आगामी असारसम्ममा पुल बनिसक्छ ।’ यो खण्डमा पर्ने १९ पुलमध्ये चार वटा पुल सन् २०२० मा निर्माण गरिएको थियो । बाँकी १५ पुल सँगसँगै निर्माण थालिएको हो । तीमध्ये पाँच वटा पुल निर्माण भएर गाडी चलाउन थालिएको छ ।

खहरे खोलाको पुल मुआब्जाका कारण रोकिएको थियो । मुआब्जा दिई ठाउँ खाली गरेर काम थालेसँगै निर्माणको काम ५० प्रतिशत सकिएको छ । बाँकी नौ वटा पुलमध्ये एउटाको भित्तो भत्काउनुपर्ने भएकाले काम थालिएको छैन भने बाँकी आठ वटाको काम दुई महिनाभित्रमा सम्पन्न हुनेछ । अधिकांश पुलमा पहुँचमार्गको काम भइरहेको छ ।

विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको थियो । पुलको लागत रु. एक अर्ब २८ करोड रहेको छ । पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । यो राजमार्गलाई एसियन विकास बैंक (एडिबी) को सहयोगमा एशियाली मापदण्डअनुसार एघार मिटर चौडा पुल बनाइएको छ । सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू