दोधारा चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका ६५ वर्षीया नारुदेवी जोशीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत कात्तिक १९ मा घर नजिकै मृत भेटिएका जोशीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज स्थानीय महेश डगौरालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी जोशीको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएपछि डगौरालाई सार्वजनिक गरिएको बताए । “डगौरा लागुऔषध प्रयोगकर्ता समेत रहेछन् उनले नारुदेवी एक्लै घाँस काटन जङ्गल जाने क्रममा देखेपछि पिछा गर्दै गएको पुष्टि भएको छ ।” प्रहरी उपरीक्षक थापाले भने, “डगौराले घाँस काटिदिन्छु भन्दै घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन् ।”
नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बिक्री गर्न सहयोग पुगाउने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन खरिद गर्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतिलाई आज कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले आफतमा सुन बिक्री गर्नुपरेको बताएका थिए ।