काठमाडौं । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर एफसीले ५ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
यस टिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ छन् ।
उनले घरेलु लिग, ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडको कप्तानी गर्दै पहिलो पटकमै टिमलाई च्याम्पियन बनाएका थिए ।
ललितपुर एफसीमा आवद्ध विदेशी खेलाडीबारे पढ्नुहोस् ।
इमोह इजेकिल (सेन्टर फरवार्ड–नाइजेरिया)
नाइजेरियन सेन्टर फरवार्ड इमोह ललितपुरका लागि निकै राम्रा अनुभवी खेलाडी हुन् । उनले सन् २०१२ देखि व्यावसायिक फुटबल खेल्न थालेका हुन् ।
उनले बेल्जियन जुपिलर प्रो लिग, यूएई प्रो लिग, युरोपा लिग, ला लिगा, सुपर लिग, युरोपा लिग क्वालिफाइ जस्ता विभिन्न देशमा रहेर १५ भन्दा बढी लिग खेलिसकेका छन् ।
नले जुपिलर प्रो लिगमा १०८ खेल खेल्दै ३० गोल २१ असिस्ट गरेका छन् । उनले युरोपा लिगमा समेत १३ खेल खेल्दै १ गोल र १ असिस्ट गरेका छन् ।
जेफ्री बाल्टुस (गोलकिपर–फ्रान्स)
फ्रान्सका गोलकिपर जेफ्री पहिलो पटक नेपाली लिग खेल्न आउन लागेका हुन् । उनी यसअघि एफसी रुएन १८९९ मा थिए । २०११ बाट व्यावसायिक लिग खेल्न थालेका जेफ्रीले फ्रान्सको लिग १ र लिग २ मा समेत खेलेका छन् ।
पब्बा इबोउ केबे (फरवार्ड–फ्रान्स)
३३ वर्षीय फ्रेन्च फरवार्ड पब्बा ललितपुर सिटीका लागि अर्का महत्वपूर्ण स्ट्राइकर हुन् । उनले २०१३ बाट व्यावसायिक फुटबल खेल्न थालेका हुन् ।
२०२३ जुलाईयता कुनै पनि क्लबमा आबद्ध नभएका उनी ललितपुरमा आवद्ध भएका हुन् ।
उनले विशेषत फ्रान्स तथा अन्य देशमा रहेर सातवटा लिग तथा प्रतियोगिता खेलेका छन् । उनले एएफसी कपमा ६ खेल खल्दै १ गोल र १ असिस्ट गरेका छन् । उनले भियतनाममा भएको लिगमा भियतनाम लिग १ मा ३८ खेल खेल्दै ११ गोल र ३ असिस्ट गरेका छन् ।
जोनाथन इसी जोरिला विवियाना (मिडफिल्डर–प्यालस्टाइन)
मलेसियन सुपर लिगमा समेत अनुबन्ध रहेका जोनाथनले सन् २०१२ बाट व्यावसायिक फुटबल खेल्न थालेका हुन् ।
मिडफिल्डमा उनले नेपाली खेलाडीको टिमसँग सहकार्य गर्दै आफ्नो अनुभवको प्रयोगले ललितपुर सिटीको मिडफिल्ड बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
ओमलाजा करिम (डिफेन्डर– नाइजेरिया)
ओमलाजा करिम नेपाली फुटबलमा परिचित नाम हो । मछिन्द्र क्लबमा आबद्ध रहेका उनको डिफेन्सको चर्चा नेपालको घरेलु लिग ए डिभिजन लिगमा धेरै नै हुने गर्थ्यो ।
नाइजेरियन खेलाडी करिमले २०१६ बाट व्यावसायिक फुटबल खेल्न थालेका हुन् । उनले २०२१ मा पहिलो सिजनको एनएसएलमा बुटबल लुम्बिनीबाट खेलेका थिए । २०२१ को ए डिभिजन लिगमा मछिन्द्रमा आबद्ध भएका उनले यस सिजनको ए डिभिजन लिगमा पनि मछिन्द्रबाट खेलेका थिए । अनलाइनखबर