काठमाडौं– नेपालले २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ । दुबईको अल मकटोउम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति साढे ९ बजेदेखि शुरु हुने छ ।
नेपाल र युएईबीच अहिलेसम्म केवल एक खेल भएको छ । त्यो पनि सन् १९८४ मा भएको थियो । यी दुवै देशबीच ३९ वर्षपछि खेल हुन लागेको हो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।
यस खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले घाइते रहेका डिफेन्डर अनन्त तामाङ टिम बाहिर राखेर टोली घोषणा गरेका छन् ।
विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् ।