कल बाइपासको आरोपमा तीन जना पुगे थुनामा,१८ करोड रकम बराबरको मागदावी
भदौ ४,चितवन ः जिल्ला अदालत चितवनले कल बाइपासको आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको ईजलाशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । कल बाईपास गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर ८ बस्ने ३१ वर्षीय विजय गुरुङ, २९ वर्षीय मिनप्रसाद रिजाल र भरतपुर महानगरपालिका वडा नम्बर १६ बस्ने २३ वर्षीय सुनिल अधिकारीलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
कल बाईपास गरी दूरसञ्चार प्रणालीमा हानिनोक्सानी पु¥याएको भन्दै प्रहरीले दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा ५ बमोजिम कारबाहीको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुलाई प्रहरीले गत साउन ७ गते भरतपुर महानगरपालिका वडा नम्बर १० रिजालचोकबाट पक्राउ गरेको थियो ।
उनीहरुले प्रयोग गरेको सिम २०७४ साल माघ १ गतेबाट प्रयोगमा आएको पाइएको छ । नेपाल दूरसञ्चार सेवा प्रदायकहरुलाई १७ करोड ५९ लाख २० हजार बराबरको क्षति पु¥याएको भन्दै बिगोसहितको माग दाबी गरिएको अदालतका उपसचिव गेहेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार कल बाइपास कार्यमा उनीहरुसहित २ जना बंगलादेशी नागरिक पनि रहेका छन् । उनीहरु सम्पर्कमा नरहेको पन्तले बताउनु भयो । सरकारी वकिल कार्यालयका तर्फबाट परमेश्वर पराजुलीले उनीहरुलाई बिगो बराबरको जरिबाना वा ५ वर्ष कैद वा दुबै सजाय गरियोस् भन्दै बहस गर्नु भएको थियो । उपसचिव पन्तका अनुसार जिल्ला अदालत चितवनमा परेको सबैभन्दा ठूलो धनराशि बिगो माग गरिएको मुद्दा यो नै पहिलो हो ।
तपाइँको प्रतिक्रिया