मंसिर १ गते राप्ती नदी संरक्षण दिवस मनाईने

एटुजेड समाचार

चितवन – हरेक वर्षको मंसिर १ गतेलाई राप्ती नदी संरक्षण दिवसमा रुपमा मनाइने भएको छ । मकवानपुरको हेटौंडाबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटसम्म बग्ने राप्ती नदीको संरक्षण र सरसफाई अभियानको प्रेरणाको लागि यो दिवस मनाउन लागिएको हो ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनले संरक्षण सम्बद्ध सबै निकाय र स्थानीय तहसँग समन्वय गरी दिवस मनाउने तयारी थालेको छ। अति संकटापन्न घडियाल गोही, दुर्लभ ओत, विभिन्न प्रजातिका रैथाने तथा आगन्तुक चराहरू, कछुवा, माछा लगायतका जलचर प्राणीहरूको आश्रय स्थल रहेको राप्ती नदीमा प्रदुषण बढेपछि नदी तटीय क्षेत्र सरसफाई थालनी गरिएको अभियानका संयोजक अपिल घिमिरेले बताए ।

२०७३ साल माघ २३ गते बाट सरसफाई कार्यक्रम शुरू गरे पनि अभियानकै रूपमा २०७५ साल मंसिर १ गते बाट सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको घिमिरेले बताए । २०७५ मंसिर १ गते प्रदेश सांसद,स्था नीय तहका जनप्रतिनिधि, राजनीतिक दल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, उपभोक्ता समिति, नेपाल प्रहरी, देश भरका विभिन्न स्थानमा सञ्चालित नदी संरक्षण अभियन्ता, शिक्षक, सञ्चारकर्मी, वित्तीय संस्था, स्काउट शिक्षक परिवार, विद्यार्थी, संरक्षणकर्मी लगायतको उपस्थितीमा अभियान थालिएको थियो।

राप्ती नदी संरक्षण दिवसको अवसरमा नदी अधिकारको बारेमा छलफल हुने घिमिरेले बताए । गत वर्ष सञ्चालन गरिएका सरसफाई कार्यक्रमका बारेमा प्रस्तुति साथै आगामी दिनमा निकुञ्ज, नदी, वन र तालतलैयामा हुने प्रदुषणका विरुद्ध लड्न अभियानको दायरा बढाउनेबारे छलफल गरिने उनको भनाई छ।

हरेक पक्षको निरन्तर सहभागितामा राप्ती नदी संरक्षण र सरसफाई अभियान सञ्चालन गरिएको ४४२ अंक पुगि सकेको छ । अभियानका क्रममा नदी तथा वन क्षेत्रबाट हालसम्म १८ हजार किलो प्लाष्टिक, सिसा, रवर, कपडा लगायतका फोहोर संकलन र व्यवस्थापन गरिएको छ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू