काठमाडौँ – भूकम्प प्रभावित क्षेत्रको उद्धार कार्यमा खर्च हुने इन्धनको सबै खर्च नेपाल आयल निगमले व्यहोर्ने भएको छ। रुकुम पश्चिम र जाजरकोटमा उद्धारका लागि खटिएको नेपाल एयरलाएन्सको ट्विनअटर र नेपाली सेनाको हेलिकोप्टर उडानमा लाग्ने इन्धनको सबै खर्च निगमले व्यहोर्ने भएको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार शनिबार विहानैदेखि उद्धारका लागि भएको उडानको सम्पूर्ण इन्धन खर्च निगमले नै व्यहोर्ने छ। ‘रुकुम पश्चिम र जाजरकोटमा उडान भर्नका लागि चौरजहारीमा एयरपोर्ट छ। यहाँ ट्विनअटर मात्रै जान सक्ने हुँदा नेपाल एयरलायन्सको ट्विनअटरका लागि निःशुल्क इन्धन उपलब्ध गराउने भएका हौं,’ उनले भने, ‘उद्धारका लागि होलिकोप्टर जहाँ पनि जानसक्छ, त्यसको सबै खर्च निगमले व्यहोर्छ।’


