काठमाडौं उपत्यकामा प्याराग्लाइडिङ उडान :चन्द्रागिरिबाट चित्लाङमा अवतरण

एटुजेड समाचार

काठमाडौं – काठमाडौं को एक व्यस्त ‘हिल स्टेसन’ चन्द्रागिरिबाट अब प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ । बाबु एड्भेन्चर्सले चन्द्रागिरिबाट उडान गरी मकवानपुरको चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

हाइ अल्टिच्युड प्याराग्लाइडिङका लागि नेपालका पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारले यो कम्पनीमार्फत व्यवसायी उडान थालेका हुन् । सुनुवार नेसनल जियोग्राफ्रीबाट ‘एडभेन्चर्स अफ इयर–२०१२’ अवार्ड विजेता हुन् ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने गरी माथिल्लो स्टेसन तोकिएको छ । चन्द्रागिरि (२३ सय मिटर)बाट सुरू भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिने कम्पनीले जनाएको छ । त्यसपछि १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यू’का साथै काठमाडौं उपत्यकाको अधिकांश भू–भागको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ । उडानका दौरान रसुवा र धादिङका भू–भाग समेत देख्न पाइन्छ । उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिने बताइएको छ ।

उडानको अधिकांश समय जंगलमाथि हुने गर्छ । कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सक्ने गरी अनुमति लिएको छ । दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने सञ्चालक सुनुवारले बताए । स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकाबासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरिमा लगानी गरेको बताउँछन् ।

कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क तोकिएको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुविधा उपलब्ध छ । फोटो र भिडियोको उपकरणको प्रवन्ध कम्पनीले नै गर्छ ।

कम्पनीको सवारीमा जाने–आउने सुबिधा नलिने नेपाली पर्यटकले ७ हजार २ सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउने भएका छन् । सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू