भरतपुर – भरतपुर महानगरपालिकाले भ्रमण बर्ष २०२४ लाई राष्ट्रिय उत्सवको रुपमा मनाउने तयारी गरेको छ । भ्रमण बर्ष नजिकै गर्दा महानगरपालिकाले तीब्र गतिमा तयारी थालिरहेको छ । भ्रमण बर्ष सुरु हुन अब झन्डै दुई महिनाको समय छ नगर उप प्रमुख एवं कार्य सम्पादन समितिका सयोजक चित्रसेन अधिकारीले भन्नुभयो, यो अवधी महानगरको लागि सुनौलो र इतिहास रच्ने समय हो ।
भ्रमण बर्षको सन्दर्भमा बिहिवार महानगरमा आयोजना गरिएको कार्यसम्पादन समिति र उपसमिति सयोजकहरुको सयुक्त बैठकले भ्रमण बर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने गरी काम अगाडि बढाएको छ ।
महानगरपालिकाले भ्रमण बर्षको एक वर्षको अवधीमा कम्तीमा पनि तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने गरी तयारी थालिहेको छ ।
‘‘१५ पुस अर्थात डिसेम्बर ३१ मा भ्रमण बर्षको भव्य उद्घाटन गरिनेछ,’’ नगर उप प्रमुखले भन्नुभयो, ‘‘भ्रमण वर्षका लागि महानगरपालिकाले छ करोड रुपैयाँ विनियोजन गरी काम गरिरहेको छ । महानगरपालिकाले २९ वटा वडामा ३१ वटा पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर भ्रमण बर्ष मनाउन लागेको छ ।
कार्यसम्पादन समितिका सह सयोजक दिनेश कुमार चुकेले भ्रमण बर्ष महानगरको लागि मात्रै नभइ निजि क्षेत्रको लागि पनि उत्तिकै फलदायी रहने टिप्पणी गर्नु भयो । “यो भ्रमण बर्षलाई सबैले अपन्त्व हुने गरि जिम्मेवारी लिन आबश्यक छ चुकेले भन्नुभयो ।
महानगरपालिकाले भ्रमण बर्ष २०२४ को लागि चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, देवघाटधाम, क्रुजशिप, दियालो बङ्गलाल गायतका स्थानहरुलाइ प्रमुख पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेको छ ।
महानगरपालिकाले भ्रमण बर्षमा फुड फेस्टिबल,अन्तर्राष्ट्रिय जगल सफारी,हात्ती पोलो,राजदुत सम्मेलन,मन्त्रीपरिषद् बैठक,अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलनलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यस्तै गरि जलयात्रा,अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी,अन्तर्राष्ट्रिय फर्मा एक्स्पो,अन्तर्राष्ट्रिय एग्रोभेट प्रदर्शनी,अन्तर्राष्ट्रिय मेडिकल मेसिन एक्स्पो,नाडा एक्स्पो,बोटे माझी डुगा प्रतियोगिता समेत गर्ने भएको छ ।