चितवन – चितवनमा २५ लाख रुपैयाँ माग गरि पैसा नदिए अपहरण गरी ज्यान मार्ने धम्की दिँने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यहि कात्तिक ८ गते भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा (सोमबार) पक्राउ गरेको हो ।



रकम माग गरि ज्यान मार्ने धम्की दिने उक्त पुरुष गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएर छुटेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज (मंगलबार) पत्रकार सम्मेलन गरि पक्राउ परेको थापालाई सार्वजनिक गरेको हो । उक्त व्यक्तिले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी सुबेदिलाई अपहरणको धम्की दिएको प्रहरिको भनाई छ ।
अभियुक्त थापाविरुद्ध यसअघि ६६ सालको जेठ २७ मा चितवन प्रहरीले चोरी मुद्दा दर्ता गराएको थियो । सोही वर्षको असार ३ मा अवैध हातहतियार देखाएर डाँका गरेको अभियोग पनि उनलाई लागेको थियो ।
त्यसैगरी ७३ सालको वैशाख २२ मा ललितपुर सातदोबाटो प्रहरी वृत्तले थापा विरुद्ध लागूऔषध अपराधमा मुद्दा दर्ता गरेको डीएसपी पण्डितले बताए । ७५ सालको मंसिर १३ मा चितवन प्रहरीले डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।
सो अपराधमा उनलाई चितवन जिल्ला अदालतले नौ वर्ष कैद सुनाएको डीएसपी पण्डितले बताए । तर साढे चार वर्ष कैद पूरा गरेपछि गएको गणतन्त्र दिवसमा बाँकी कैद मिनाहा भएर उनी भरतपुर कारागारबाट मुक्त भएको डीएसपी पण्डितको भनाइ छ ।