विश्व बैंकले १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने
काठमाडौँ – माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन विश्व बैंकले १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंक र आइएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गदैै बैंक सहुलियतपूर्ण ऋण सहायता दिन सकारात्मक भएको जानकारी दिएका हुन । मन्त्री महतले कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता प्राविधिक तथा वित्तीय पक्षसँग छलफल समेत गर्ने तयारी गरेको जानकारी दिए ।
मन्त्री महतले आइडिएको २१ औँ रिप्लेनिस्मेण्ट बैठक नेपालमा आयोजना गर्न राखेको प्रश्तावमा विश्व वैंक सकारात्मक रहेको पनि जानकारी दिए । अमेरिकी डलर ३ सय मिलियन अर्थात ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न पनि विश्व बैंक तयार भएको छ । विश्व बैंकले तयार गरेको ‘प्लेबुक” मा सहुलियत दर बढाउँदै जाने कुराको प्रतिवद्धता ठोस रुपमा प्रतिविम्वित हुनुपर्ने कुरा पनि छलफलमा नेपालले उठाएको छ ।
त्त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषको वित्तीय सुविधाहरु परम्परागत कोटाको आधारमा वितरण गर्ने अभ्यासका कारण कम प्रतिनिधित्व भएका मुलुकको आवश्यकता प्रतिविम्वित हुन नसकेकोले कोटा पुनरावोलकन प्रक्रियामा पुनर्विचार हुनुपर्ने प्रस्ताव पनि नेपालले गरेको छ । कोरियाका अर्थमन्त्री चु क्यूङ हो सँगको भेटमा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेकोले कोरियन कम्पनीहरूलाई पनि लगानी गरी लाभान्वित हुन आग्रह गरेकोपनि मन्त्री महतले जानकारी दिए । सो क्रममा नेपाली वायुसेवालाई पनि कोरियामा सिधा उडान गर्न दिन कोरियन पक्षसँग छलफल भएको उनले बताए ।
तपाइँको प्रतिक्रिया