काठमाडौँ – दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् । बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ ।
यती एयरलाइन्सको दसैँ लक्षित ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यको उडानमा बढी चाप रहेको छ । दशैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दसैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने छ । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको छ ।