चितवन, असोज २२ – भरतपुर ११ स्थिति मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडमीका बालबालिकाले किनमेल गरेका छन् । उनिहरुलाई घरायसी समान किनमेल गर्न सिकाइएको हो ।
बालबालिकालाई बजार मैत्री बनाउनुका साथै पैसाको महत्व बुझाउन किनमेल गर्न सिकाइएको मन्टेश्वरीका सञ्चालक गणेश रानाले बताए ।
यसका साथै सपिङ्ग गर्न जाँदा के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने ज्ञान दिन पनि बालबालिकालाई किनमेल गराइएको उनको भनाइ छ । भरतपुर ११ मुक्तिनगर चोकमा रहेको पूरानो सपिङ्ग सेन्टर होप दि डिपार्टमेन्टल स्टोर्समा लगेर बालबालिकालाई किनमेल गराइएको हो ।
अभिभावकले दिएको पैसाबाट बालबालिकाले सपिङ्ग गरेका हुन् । पैसाको महत्व बुझाउन तथा पैसा दिएपछि मात्र कुनै सामान पाइन्छ भन्ने ज्ञान दिलाउन बालबालिकालाई किनमेल गराइएको उनको भनाइ छ ।
अभिभावकहरु बालबालिकालाई लिएर सपिङ्ग मल जाँदा बालबालिकाले जथाभावी समान चलाउने, गोजीमा हाल्ने गर्न सक्छन् । त्यो गर्नु हुँदैन भन्ने कुराको ज्ञान पनि किनमेलका क्रममा सिकाइएको रानाले बताए ।
किनमेलका क्रममा बालबालिकालाई जन्क फुड र हेल्दि फुडको बारेमा पनि ज्ञान दिइएको थियो । आफूलाई आवश्यक परेको समानमात्र किन्नुपर्छ,बा-आमालाई नचाहिने समान किनिदिनुस भनेर दुख दिनुहुन्न भन्ने कुरा बालबालिकालाई सिकाइएको थियो ।
मन्टेश्वरीको क्षेत्रमा ब्राण्डका रुपमा स्थापित बनेको स्टार्श मन्टेश्वरीले बालबालिकालाई समयसमयमा यस्ता खालका व्यावहारिक शिक्षा दिँदै आएको छ ।