भरतपुर, १९ असोज । भरतपुर महानगरपालिका-९ स्थित गुरुकुल माविमा व्यवस्थापन संकायमा कक्षा- १२ मा अध्ययन गर्ने विद्यार्थीसँग अन्तर्क्रिया गरिएको छ । अहिलेको युवा पुस्ताको बिदेश पलायन हुने समस्या (brain drain) र समाधानका रुपमा युवा उद्यमशीलता आजको प्रमुख आवश्यकता विषयमा केन्द्रित रहि अन्तर्क्रियात्मक कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा स्रोतव्यक्तिका रुपमा युवा उद्यमी विशाल कोइरालाले श्रव्यदृश्य सामग्रीसहितको कक्षा संचालन गरेका थिए । कोइरालाले युवाहरू के कारणले विदेश पलायन हुँदैछन्, हाम्रो देशमा भैरहेको यो ब्रेन ड्रेन कसरी सामाजिक समस्या वनेको छ, यसका नकारात्मक असरहरु के छन् र यसलाई समाधान कसरी गर्न सकिन्छ (?) भन्ने विषयमा बोलेका थिए । उनले उद्यमशीलता, युवा स्वरोजगारका सकारात्मक पक्षहरु र कसरी उद्यमी बन्ने, देशमै केही गर्न पनि अथाह सम्भावनाहरु छन् भन्दै उत्प्रेरित गरेका थिए ।
कार्यक्रममा कक्षा १२ मा अध्ययनरत १४० जना विद्यार्थी सहभागी थिए भने कलेजका शैक्षिक निर्देशक सिर्जन अविरल, कार्यक्रम संयोजक सुशील रेग्मी, निवर्तमान प्राचार्य नवीन भण्डारी तथा संचालक समिति सदस्य रुद्रनाथ दवाडीको पनि उपस्थित थियो । कार्यक्रम संयोजक सुशील रेग्मीले गुरुकुलले विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा जोड्दै आएको बताए । गुरुकुल माविले यस्ता खालका कार्यक्रम हरेक हफ्ताको दुइ दिन गर्ने गरेको बताए ।
शैक्षिक निर्देशक सिर्जन अविरलका अनुसार कलेजले आफ्ना विद्यार्थीहरुलाई वर्षभरि नै नियमितरूपमा यस्ता कार्यक्रमहरु गराइराखेको र आफ्नो शैक्षिक क्यालेन्डरमा समेत समावेश गरेको जानकारी गराए । कार्यक्रममा निवर्तमान प्राचार्य नवीन भण्डारी र संचालक समिति सदस्य रुद्रनाथ दवाडीले युवा उधमी कोईरालालाई मायाको चिनो प्रदान गरेका थिए ।