काठमाडौं, असोज १८- राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ केन्द्रबिन्दु बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरिएका हुन् ।
प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापना लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ । भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ । टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो । बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । ३०१ वटा निजी घर र ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ ।