“तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ”
बद्लिएको तीजमा हराएको भाव
करुणा देवकोटा,
सातै डाँडा पारि दियौ मेरा बाबा
हामीलाई लिनलाई को जाला ।।
घाँस, दाउरा, ढिकी, जाँतो, पानी र पँधेरो
सधैँभरि नारी जीवन किन अँध्यारो ।।
मलाई लिन मेरो बाबा, लौरी टेकी आउनुभो
बाबाको अघि लाइ गएँ बरिलै ।।
तीजको छेको पारेर कहिले एक्लै त कहिले समूहमा ममीले यि गीतहरू गाउँदा, गुनगुनाउँदा मेरो बाल मन त्यसैत्यसै रमाउन थाल्थ्यो । यि र यस्तै पुराना गीतका भाव कति बुझ्न सक्थेँ, कति सक्दिनथेँ । तर पनि, तीज आइसक्यो भन्ने थाहा पाएरै नाँच्नका लागि खुट्टाभन्दा पहिले मेरो मन तम्तयार हुन्थ्यो ।
आजपनि ति गीतहरू मेरो मनसपटलमा बेलाबेला गुञ्जिरहन्छन् । जानि नजानि म ति गीतहरू गुनगुनाउने जमर्को पनि गर्छु । ति गीतका भाका र शब्द बेग्लै हुन्थे । महिलाले भोगेका वेदना र दुखदेखि खुसी र उन्मुक्ति समेत मिसिएका । अहो महिलाका मन हलुंगो बनाउने कति सुमधुर शैली । सबैखाले भावना व्यक्त गर्ने एउटा मात्रै माध्यम, गीत ।
ममी, हजुरआमाहरूले गाउने ति गीतहरू सुनेर महिलाका दुखका गहिराईदेखि खुसीका सिमितता सजिलै महशुस गर्न सकिन्थ्यो । र खुसीको त्यहि साँघुरो सिमितताभित्र कतै अटाएका भेटिन्थे आशाका त्यान्द्रा । जे होस्, घरका दुख, परिवारको दवाव, श्रीमान्को दमनदेखि माइती आउन पाएका खुसीका क्षण, साथीसंगीको माया सबैसबै बाँड्न, बुझ्न र मन बहाउन पाइने चाड हुन्थ्यो तीज ।
ती गीतहरू सुन्दा एउटी महिलालाई हेर्ने आम नेपाली परिवारको मानसिकता, समाजले महिलालाई दिने दर्जा, राज्यले महिला माथि गर्ने भेदभावदेखि महिला स्वयमले आफूलाई पहिराएको निरिहताको ताज छर्लङ्गै हुन्थे । तर यसो भन्दैमा त्यतिबेलाका गीतमा चेतनाको स्वर, विद्रोही चेत नै हुँदैनथे भन्ने होइन । शैक्षिक अधिकार, आर्थिक चेत, समानताको आवाज, अधिकार प्राप्तिका लागि सुरिलो खबरदारी, जस्ता थुप्रै मुद्दा पेचिला टुक्का बनेर गीतमा उनिन्थे । गीतबाटै भद्र विद्रोहको सुमधुर स्वर गुञ्जिन्थे ।
देब्रे हात घडी छ, दाहिने हात रेडियो,
उठ बजै दैलो पोत, पढ्न हिँडियो ।।
नाक काम छेडेर बन्दन पारे नारीलाई
जुगैभरि पुरुषकै दासी बरिलै ।।
नबुझेरै भन्थ्यौँ हामी सिक्रि लाउन पाइएन
दासत्वको सांग्लो रैछ, अब चाहिँदैन ।।
अड्कलेर दिएको अधिकार चाहिँदैन
५० प्रतिशत महिलालाई हेप्न पाइँदैन ।।
अन्याय र उत्पिडनले अन्यायले सिमा नाग्यो नारीको
हाम्रो माग छ समान हक, बराबरीको ।।
हुन त तीज पर्वको आफ्नै धार्मिक महत्व र मान्यताहरू छन् । महादेवसँगको प्रेममा रहेकी पार्वतीले ब्रत र तपश्या गरेर महादेवलाई श्रीमान्को रूपमा पाएको दिनलाई स्मरण गर्न यो पर्व मनाउन थालिएको भनिन्छ । यस दिन ब्रत बसे महादेवजस्तै श्रीमान् पाउने, आफ्नो श्रीमान्को आयु लामो हुने, जसका लागि ब्रत बसेको उहि मान्छे आफ्नो जीवनसाथीका रूपमा पाउने जस्ता धार्मिक मान्यता अझैपनि अधिकांशमा गडेको छ ।
तीजको धार्मिक मान्यता पछाडिको इतिहास र सत्यताबारे मलाई ज्ञान र चासो, दुवै नभएकाले ति विश्वासका आधारमा यस पर्व मनाउनुको कारण त म केलाउन सक्दिन । तर, आफू हुर्किँदै गर्दा देखेको, मनाएको तीजको स्मृति केलाउँदा भने यस पर्वको उमंग मलाई खास लाग्छ । तीजका त्यस्ता गीतहरू सुन्दा तिनले बोकेका सामाजिक–साँस्कृतिक चेत फराकिला लाग्थे ।
मेरा लागि तीजको गज्जब पक्ष भनेको, कलात्मक शैलीबाट परिवर्तनका लागि यसले गरेको सामाजिक–सांस्कृतिक थालनी हो । भाषण, नाराबाजी र आश्वासनबाट मात्र परिवर्तन खोज्ने÷रुचाउने मानसिकता व्याप्त समाजमा माथिका टुक्कामा कम्मर मर्काउँदै भद्र विद्रोह गर्न सिकाउनु नै तीज पर्वको सुन्दर सांस्कृतिक अभ्यास हो । यस्तो अभ्यासले पितृसत्ता विरूद्ध लड्दै समानता प्राप्त गर्न सहयोगी भूमिका खेलेको छ । सँगसँगै संस्कृतिलाई परम्परा र धर्मसँग मात्रै जोडेर हेर्ने प्रवृत्तिलाई पनि चिरेको छ ।
त्यसैले त आज तीजको सांस्कृतिक महत्व धार्मिक मान्यतामा मात्र केन्द्रित छैन । यसका सांस्कृतिक प्रभाव महिला शशक्तिकरण, महिला साक्षरता, महिला अधिकार, समानता, लगायत विविध पाटामा देखिएका छन् । परिवार, समाज, राज्य, सबैतिर महिलाको आवाज र उपस्थितिलाई स्थान दिन दरिलो माध्यम बनेको तीजको सांस्कृतिक पक्ष आफैँमा सुन्दर छ ।
हिजोआजका तीजका गीत पनि म सुन्ने गर्छु । तर अधिकांश गीतमा सामाजिक चेत, सांस्कृतिक झल्को, महिलाका मुद्धा, महिलाका मर्म किनारमा पाउँछु । तीजको सुन्दर पक्ष कतै धमिलिँदै गएको अनुभूति हुन्छ । धार्मिक, सामाजिक, सांस्कृतिक आस्था बोकेको तीजको परिभाषा र यस पर्व मनाउने शैली पनि फेरिँदै गएको छ । साँच्चै भन्नुपर्दा, भड्किलो र देखावटीमा सिमित हुँदै छ ।
हुन त समय पहिलेजस्तो छैन । बद्लिएको छ । माइती जानकै लागि तीज पर्खिनुपर्ने बाध्यता अधिकांशलाई छैन । मिठो खान र राम्रो लगाउन माइतीकै आश गर्न र चाडपर्व नै कुर्नुपर्दैन । पढ्छु भन्नका लागि ठूलो संघर्ष गर्नुपर्दैन । तर, यसो भन्दैमा महिलाका समस्या नै सकिए, महिलालाई सुखै मात्र छ भन्न कदापी खोजिएको होइन । बरु समयसँगै महिलाका दुख, बेदना र छटपटीका स्वरूप बद्लिएका छन् । तर यि स्वरूपसँगै बद्लिएका तीज गीत र तिनका सन्निहित भावले भने तीजको सामाजिक–सांस्कृतिक महत्व धर्मराउने देखिन्छ ।
झट्ट हेर्दा लाग्छ, साक्षरता दरमा महिलाको संख्यामा वृद्धि, सम्पति स्वामित्व, रोजगारी, सूचना तथा प्रविधीमा महिलाको पहुँच, राजनीतिमा महिलाको उर्जात्मक सहभागिता, लगायतका विभिन्न क्षेत्रमा महिलाको संख्यात्मक उपस्थिति बढ्दो छ ।
कतिलाई त लाग्छ, यो नै पर्याप्त भइसक्यो वा यति धेरै पनि आवश्यक छैन । तर, के यि विविध क्षेत्रमा महिलाको बाक्लो उपस्थितिले महिलाको दुखलाई घटाएको छ ? पक्कै पनि छैनन् । महिलाको यो उपस्थिति अपूर्ण छ । उनीहरूमा आएका कतिधेरै बदलाबहरू संस्थागत छैनन् । संस्थागत हुन्थ्यो भने किन महिला हिंसाका नयाँ स्वरूप किन प्रकट भईरहेका छन् ? किन बलात्कारको घटना बढ्दो छन् ? किन डिजिटल हिंसामा महिला नै सबैभन्दा धेरै शिकार भईरहेका छन् ? निर्णय गर्ने ठाउंमा महिलाको पहुँच किन नगन्य छ ?
जब यस्ता प्रश्न मगजमा सल्बलाउन थाल्छन्, तब म तीजका ति गीतहरु सम्झिन्छु । पहिलेपहिले तीजका गीतमा महिलाका बेदना मिसिएका हुन्थे, महिलाका छटपटी र गुम्साहट खोलिएका हुन्थे । त्यसो भए बदलिएका महिलाका मुद्धा अहिलेका तीज गीतमा किन मिसिदैनन् ? सानो संख्यामा महिलाहरू निर्णायक तहमा पुग्दैमा, थोरै संख्यामा महिला आर्थिक रूपमा आत्मनिर्भर हुँदैमा सबै महिलाका मुद्धा र सरोकार सकिएका हुन् त ? हो, अहिले महिलाको जीवनस्तरमा परिवर्तन आएको छ । शिक्षित महिलाको संख्या बढ्दो छ । तर त्यत्ति परिवर्तन मात्रै काफी छैन । अहिले महिलाका समस्या बहुआयामिक हुँदै गएका छन् । गीतका माध्यमबाट भन्नुपर्ने, बुझाउनुपर्ने महिलाका थुप्रै मुद्धा हाम्रै घरमा, समाजमा व्याप्त छन् ।
यस पर्वले विभिन्न कालखण्डमा महिलाको अवस्था, महिलाको इतिहास, उनीहरूको मुद्धा, उनीहरूको त्याग, उनीहरूको चुनौती, उनीहरूले प्राप्त गरेका अधिकार र अवसर, यि सबै कुरा बुझाउँछ । तर, महिलाको चाडका रूपमा सामाजिक, सांस्कृतिक पहिचान बनाएर सदियौँदेखि मनाउँदै आएको तीजमा पछिल्ला समय खोई त महिलाका कुरा, महिलाका समस्या र मुद्धा ? खोई त तीजका गीतमा ति कुरा उठाइएका ? तिजलाई हामीले पहिले पनि त महिलाका उन्मुक्त स्वरहरूको पर्वका रूपमा स्विकारेका हौँ । त्यसो हो भने किन अहिले पनि बदलिँदा चुनौतीबाट महिलाहरू पीडित भईरहेका छन् ? किन नयाँनयाँ शैलीका हिंसा र समस्यामा महिला परेका कुराहरू तीजका गीतमा नसमेटिएको होला ?
अझ कतिलाई त लाग्छ, किन गीतबाटै यस्ता कुरा भन्न आवश्यक छ त ? किनकी, तीजको सांस्कृतिक पक्षलाई बुझ्दै बुझाउँदै आउने पुस्तालाई यसको सकरात्मक पक्ष हस्तारतरण गर्नु हाम्रो दायित्व हो । गीत नै एउटा त्यस्तो माध्यम हो, जो व्यक्तिको भावनासँग जोडिन्छ । गीतका माध्यमबाट कुनैपनि कुराको उठान गर्दा व्यक्तिले त्यसको भाव र आवश्यकता छिटो बुझ्न, मनन् गर्न सक्छ । अझ तीज पर्वको खास विशेषता भनेकै यसको गीत र खान्की (दर) हो । हरेक उमेर समूहका मानिसलाई कुनैपनि कुरा सरल तरिकाले बुझाउन गीतले सहज बनाउँछ ।
हुन त तीजको सांस्कृतिक महत्व कायम राख्दै बदलिँदो समयमा कसरी तीज मनाउने र किन मनाउने भनेर उत्तर दिन त्यति सजिलो छैन । यसो भन्दैमा यो प्रश्नको उत्तर खोज्न जरुरी छैन भन्ने चाहिँ होइन । बरु यसको उत्तर छिटो थाहा पाउन अझ बढि आवश्यक छ । किनकी, तीजको अर्को महत्व भनेको यसको सांस्कृतिक पक्ष हो ।
हरेक समाज संस्कृतिको धागोमा उनिएरै बलियो हुन्छ । संस्कृतिले नै समाजमा विभिन्न मान्यताहरू कायम गर्न र दुइवटा फरकफरक पुस्तालाई जोड्न पुलको काम गर्छ । जब उक्त पुल बलियो हुन्छ, तबमात्र दुई पुस्ता जोडिन्छन् । दुई पुस्ता जोडिनु भनेको कुनैपनि पर्वको मौलिकताले निरन्तरता पाउनु हो । यसरी गाँसिँदै जाने मौलिकताको बन्धनले कुनैपनि संस्कृति जर्गेना मात्रै गर्दैन, त्यसको डोबहरू छोड्दै संस्कृतिको गाडी नयाँनयाँ पुस्ताको समयसम्म गुडाइरहन्छ ।
तपाइँको प्रतिक्रिया