“तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ”

सिन्धु ढकाल,
हिन्दु धर्माबलम्वी महिलाहरुको महत्वपुर्ण पर्वका रुपमा रहेको हरितालिका तिजसँग पछिल्लो समय सम्रग नेपाली महिलाहरुको भावनात्मक सम्वन्ध जोडिएको छ । नयाँ लुगा लगाउन र मिठा परिकार खान चाडपर्व नै कुर्नु नपर्ने परिवारहरुमात्र होईन हुदाँ खाने परिवारका महिलाहरुले पनि हरितालिका तिजलाई महत्वका साथ लिने गरेका छन् । सांस्कृतिक र धार्मीक महत्व मात्र नभई तिजको महत्व समाज र यसको मनोविज्ञानसँग पनि जोडिएको छ ।
आफ्नै अनुभवको कुरा गर्दा अधिक मासका कारण भदौको अन्तिमतिर सरेको यो सालको तिजमा मौसम परिवर्तन लगायतका कारण स्वास्थ्यमा समस्या भएपछि खुलेर रमाउन सकिएन । केहि बर्ष अगाडि सम्म तिजका कार्यक्रममा सहभागी हुन त्यति चासो नदिने म, घरको बिछौनामा सुतिरहदा आमा समुह, टोल र आफु सम्वद्ध रहेका बिभिन्न संघसंस्थाका तिज बिशेष कार्यक्रम, शुभकामना आदानप्रदान र प्रतियोगितात्मक तिज गितका कार्यक्रममा सहभागी हुन नपाउदा खल्लो महसुस भैरहेको थियो ।
समाज भन्दा टाढा भएको अनुभव मैले गरिरहेको थिए । तिजका कार्यक्रममा महिला, पुरुषको दुबैको सहभागीता, बिषयगत सवालमा हुने तिज गित प्रतियोगीता, तिज बिशेष कार्यक्रममा महिलाको तनाव व्यवस्थापन साथै नेतृत्व विकासका सवालहरु जोडिनुले यसको सामाजिक महत्व समेत बढेको हामी सबैले अनुभव गरिरहेका छौ ।
सत्य युगमा हिमालय र मेनकाकी छोरी पार्वतिले बिष्णुसँग विवाह गर्न आफ्ना अभिभावकले गरेको तयारीलाई अस्विकार गर्दै महादेवलाई पतिका रुपमा प्राप्त गरेको प्रसंगलाई तिजको ईतिहास मानिन्छ । पार्वतिले आफ्नो साथीको सहयोग लिई घरवाट वाहिर गएको र जंगलमा गई तपस्यासँगै भाद्र शुक्ल तृतिया तिथीका दिन तिजको निराहार व्रत वसेकाले महादेव पति पाएको भने प्रसग बिभिन्न धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ । यस किसीमको ईतिहास र धार्मीक ग्रन्थहरुको कथनले तत्कालिन समयमा महिलाहरुको आफ्नो निर्णय गर्नका लागी गर्नु परेको तपस्या र संघर्ष नै तिज पर्वको धरातलीय यर्थाथता हो भन्न सकिन्छ ।
आफ्नो इच्छा बिपरीतको निर्णयलाई अस्विकार गर्न नसकेर पार्वतिले गरेको संघर्ष तिजको ईतिहाससँग जोडिन्छ । कालान्तरमा तिज पर्व महिलाहरुको दुख, पिडा र असन्तुष्टि व्यक्त गर्ने एउटा पर्वको रुपमा विकसीत हुदै गएको पाईन्छ । आफ्ना जिवनका घटेका घटनाहरु र जिवनलाई सहि मोड दिनका लागी साथीसंगी र घर परिवारले दिने साथ क्षणीक हुन्छ । हाम्रो उदेश्य पुरा गर्नका लागी हामीले आफै संघर्ष र तपस्या गर्न सकिएमात्र हामी मनोबैज्ञानिक रुपमा बिक्षिप्त हुनु पर्दैन भन्ने बिषय यस पौराणिक कथाले प्रष्ट पारेको छ । जुन आजको समयमा पनि सान्दर्भिक र सुहाउदो देखिन्छ ।
यद्यपी यस कथा र प्रसंगलाई महिलाहरले पुरुषको प्राप्ति र उसको खुसीलाई जिवनको अन्तिम उदेश्य बनाईएको कथाले महिलाहरुलाई पितृसत्ताको दासीका रुपमा व्याख्या गर्न खोजेको भन्ने आलोचनात्मक धारणाहरु माथि पनि बहस हुने गरेको छ । तर धर्मग्रन्थहरुमा पार्वतीले महादेवसँग विवाह गर्न नपाए अथवा बिष्णुसँग विवाह गर्नु परेमा आत्महत्या गर्ने सम्मको अवस्था आएकाले उनका साथीहरुले पार्वतीलाई वचाउनका लागी गोप्य ठाँउमा लगेर राखेको उल्लेख गरिएको छ ।
परिवार र समाजले महिलाका इच्छा र आंकाक्षालाई दवाउन खोज्ने हो भने जिवनमा अप्रिय घटना हुने तर्फपनि यो पौराणिक कथाले सचेत बनाएको पाईन्छ । तिजको व्रत साथै महिलाहरुको विद्रोही चेतलाई सजिलोसँग उजागर गरिएको सत्य युगको यो प्रसंगलाई सकरात्मक तवरले व्याख्या र बहस हुने र परिवार र समाजले समेत महसुस गर्ने हो भने समाजमा वढ्दो अवस्थामा रहेको महिला हिंसाका घटनाहरुलाई नियन्त्रण गर्ने मानसिकता निमार्णमा समेत यसले सहयोग पुर्याउछ ।
छोरीको विद्रोह पश्चात पीडाले शोकाकुल भएका हिमालयले छोरीलाई खोजी गरी उनको इच्छाका बिषयमा सोधपुछ गरे पश्चात महादेवसँग विवाहका लागी स्वीकृती दिएको र यसकै खुसियाली साथै आफ्नो दुख, पिडा र बेदना सुनुवाई हुने आशमा हरितालिका तिजलाई हिन्दु महिलाहरुले पनि नाच गानका साथ रमाईलो गरेर मनाउने गरेको धार्मीक ग्रन्थमा उल्लेख गरिएको छ ।
त्यस्तै त्रेता युगको अन्तमा बसुदेवकी श्रीमति देवकीको गर्भवाट भगवान विष्णुले कृष्णको अवतार लिएर मथुराको जेलमा जन्म लिएका थिए । कृष्णका मामा कंशले आफ्नो वच्चा मारिदिने डरले गोकुलका नन्दबाबा र यशोदाको घरमा छोरी योगमायासँग साटी ल्याएको प्रसंगलाई समेत धार्मीक ग्रन्थहरुमा तिज पर्वको सुरुवातसँग व्याख्या गरिएको छ ।
कृष्ण जन्म अर्थात कृष्ण अष्टमी पश्चात ११ औ दिनका दिन पर्ने तिज पर्व कृष्णको न्वारन आदी कर्म गरेको र त्यसै दिनलाई पर्वको रुपमा मनाउने गरिएको धार्मीक ग्रन्थहरुमा उल्लेख छ । न्वारन र सुतक चोखिएपश्चात भोलीपल्ट गणेश चर्तुथीका दिन गणेशको पुजा गरि आफ्नो नियमित पुजा अर्चना सुरु गरेको भन्ने कथन छ । गणेश पुजन पश्चात पन्चमीको दिन पतिव्रता अरुणदति सहित सप्तरिषीको पुजा अर्चना गरिएको प्रसंग धार्मीक ग्रन्थमा उल्लेख गरिएको छ ।
सप्तरिषीको पुजा पश्चात सुतक चोखो गरेको भन्ने कुरा कालान्तरमा गएर महिलाहरुको महिनावारी भएको पाप चोख्याउनका लागी पन्चमी पुजा गर्ने भन्ने व्याख्या गरेको पाईन्छ । महिनावारिको पाप चोख्याउने भन्दै गर्दा पञ्चमीका दिन गरिने बिभिन्न किसीमका कार्यहरु दतिउन चपाउने, बिभिन्न स्थानका माटोले शरिरका बिभिन्न भागहरु सफा गर्ने त्यो पनि बर्ष दिनमा जति दिनहरु हुन्छन् त्यति नै पटक सफा गर्ने भन्ने प्रचलन रहेको छ । यसले महिलाहरुको प्रजनन स्वास्थ, सरसफाई लगायतका बिषयमा समेत महिलाहरुलाई सचेत वनाउन खोजेको देखिन्छ ।
जे होस्, मानव समाजले बिभिन्न किसीमका पौराणीक ईतिहास र कथनहरुको आधारमा रहि चाडपर्व मनाउँदै आएका छन् । हरितालिका तीजका पछाडी पनि विश्वास गर्न लायक कथनहरु जोडिएका छन् भने केहि अन्यौलता समेत छन् । यद्यपी पछिल्लो समय तिज हिन्दु महिलाहरुले मनाउने एक महत्वपुर्ण पर्व हो भन्नेमा अधिकांशको दुई मत छैन ।
पौराणीक समयका कथाहरु र हालको परिवेश मात्रै होईन हाम्रै अघिल्लो पुस्ताहरुले मनाउने तीज र अहिलेको तिजमा समेत गहिरो भिन्नता पाईन्छ । हाम्रा आमा र हजुरआमाले तिजकै निहुमा माईति जान पाउने र बर्ष दिनको तिजमा एक जोडी नयाँ कपडा पाउने आशाले तिज मनाउने गर्दथे भने अहिले त्यस्तो अवस्था छैन । खुल्ला सिमाना, विश्वव्यापीकरण जस्ता कारणले मानिसले उपभोग गर्ने बस्तुहरुको सहज र सरल पहुचले गर्दा अहिले एउटै तिजमा ८, १० थरि फेसन अनुसारका कपडा लगाउने प्रचलन वढिरहेको छ ।
तिजकै लागी बजारको रंग नै फेर्रिर राताम्मे भएका छन् भने घरमा मात्र होईन सामाजिक संघ, संस्था, विद्यालय, टोल समाजले समेत आ आफ्नै तवरले तिज मनाउने गरेका छन् । नेपाल र भारतसँगै हिन्दु धर्माम्वलमीको उपस्थिती रहेको बिश्वका बिभिन्न देशहरुमा तिजको रौनक देखिने गरेको छ ।
फरक भुमिका साथै दोहोरो, तेहोरो भुमिकामा रहेका महिलाहरु तिजकै बहानामा जसरी हुन्छ रमाउने र आफ्नो तनाव, पिडा र जिम्मेवारी भन्दा थोरै वाहिर स्वतन्त्र पंक्षी बन्न पाएकोको मस्त देखिन्छन् । केहि महिलाहरु तिज भड्कीलो र रवाफिलो हुदै गएको चिन्ता व्यक्त गर्दै बिभिन्न किसीमका चेतनामुलक बिषय वस्तु र समसामयीक बिषय वस्तुलाई तिजको सवाल बनाउने गरेका छन् । जे होस् यो वा त्यो वहानामा महिलाहरुलाई शारीरिकरुपमा स्वस्थ र मानसिक रुपमा रोगमुक्त हुन तीजले कुनै न कुनै तवरले सहयोग गरेको छ ।
तिज पर्वलाई निश्चित धर्म, संस्कृति र कथनसँग मात्र जोडेर हेर्नु भन्दा पनि दैवि शक्तिको विश्वासमा आत्म अनुशासन कायम गर्न सक्ने हो भने तिज पर्वलाई अझै मर्यादीत र सभ्य बनाउन सकिन्छ । परम्परा र धर्मसँग जोडिएका यस्ता पर्वले आत्म अनुशासन कायम गर्दै समाजलाई सम्य बाटोमा अगाडि वढाउन सहयोग गर्दछ ।
साथै तीज पर्वको पारिवारिक, सामाजिक र सांस्कृतिक फाइदाहरुलाई समेत मनन गर्नु अहिलेको आवश्यकता हो । विवाह गरेर टाढा गएका चेलि वेटिहरु जतिसुकै टाढा भएपनि माईति जाने, महिलाहरुले आफ्नो बहुभुमिकाबाट केहि दिनका लागी मात्रै भएपनि छुट्टी पाउने भएकाले तिज पर्वले छोरी र माईतिको सम्वन्धलाई प्रगाढ बनाउने मात्र होईन महिलाहरुको पारिवारिक, व्यवसायीक तनावलाई कम गर्न समेत यथेष्ट सहयोग गरेको छ ।
यद्यपी बर्षभरि मनमा दबिएका पीडा, मर्म, बेदना र दुःखका गीतसंगितमाथि पछिल्लो समय भएको डिजिटल हस्तक्षेप र महिनौ अगाडिदेखि बिभिन्न सामाजिक संजालमा बज्ने असुहाउदा गित संगीतले तिजको महत्वलाई पुर्णत खतरामा पार्ने संभावना देखिन्छ । यस्ता गित संगीतले एकातिर विकृति भित्राएको छ भने अर्कोतर्फ हामी महिलाहरुको सिर्जनशिलतालाई समेत मारिरहेको छ । हाम्रो मौलिकतामाथि प्रत्यक्ष रुपमा यस किसीमका गित र संगीतले प्रहार गरिरहेका छन् ।
समाज विकसीत हुदै जादा महिलाहरुले भोगेका समस्या र भोगाईहरु ओझेलमा परेका छन् । केवल पार्टी प्यालेस र होटलहरुमा दर खानका खान जानु र रमाईलोको नाममा विकृति फैलाउनु नै तिजका महिलाहरुको उदेश्य हो भन्ने धारणा स्थापीत हुदै गएको छ । यसलाई चिर्नका लागी र पौराणीक, धार्मीक र सांस्कृतिक महत्व वचाईराख्दै हामी पछिका पुस्तालार्य गौरव गर्न लायक तिजको ईतिहास सुनाउनका लागी हामी महिलाहरु आफैै सचेत हुनु पर्दछ । प्रत्येक महिलाहरुले तिजलाई मर्यादित वनाउने कर्तव्यवोध गर्नु नै अहिलको आवश्यकता हो ।
तपाइँको प्रतिक्रिया