“तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ”

एटुजेड समाचार

तीज पर्व  : परिस्कृत स्वभाविक तर विकृती अस्वभाविक

शोभा पुडासैनी, 

पाकापुरानाका कुरा सुन्दा उ वेला मिठो खान चाड कुर्नु पथ्र्यो तर यसको मतलव अहिले पनि मिठो खान चाडै कुर्नु पर्छ भन्ने मान्यता राख्नु गलत हुन्छ । त्यती मात्र होइन राम्रो लाउन पर्व पर्खनु पर्दथ्यो अव पनि राम्रो लाउन पर्व नै कुर भन्नु ठिक हुँदैन । महिलाहरुका लागि खुसी हुन नाच्न गाउँन माइतीको आँगन र तीज आउनु पर्दथियो तर अव पनि खुसी हुन र नाच्न गाउन तीज र माइतीको आँगन पर्खनुपर्छ भनियो भने गलत हुन्छ ।

समाजमा आधुनीकताको विकास क्रमसंगै हाम्रा पर्वका रिती,रिवाज र चालचलनमा परिस्कृत हुनुसम्मलाई नराम्रो मान्न सकिदैन । तर, परिस्कृत हुने बहानामा विकृति प्रवेशलाई स्विकारीनु हुन्न । हाम्रा हरेक पर्वमा अधुनिकताको प्रवेश भएकै छ । कुन पर्व परिस्कृत भएको छैन र ? तर, अन्य पर्व परिस्कृत भएको बिषय चर्चाको बिषय नबन्ने तीजमा केही परिस्कृत भएको बिषय हल्लाको बिषय बन्नु सकारात्मक होइन । समय परिस्थिती अनुसार परिवर्तन हुनुलाई स्वभाविक रुपमा लिन सक्नुपर्छ तर परिवर्तनको बाहनामा अनावश्यक शैली र तरिका हावी हुँदै गयो भने त्यो हानीकरक बन्न सक्छ । यस तर्फ सचेत हुनुपर्छ ।

हो हिजो हाम्रा आमा हजुरआमाका पालामा महिलाहरु धेरै बन्धनमा थिए । उनीहरुलाई खुलेर वोल्ने स्वातन्त्रता थिएन । बोल्नै स्वतन्त्राता नभएको समयमा नाच्न गाउँन धेरै परको कुरा थियो । आफ्ना धारणा राख्न सक्ने महिलाहरुले अनेकन आरोप प्रत्यारोपको सामाना गर्नुपरेको उहाँहरुको अनुभव सुन्दा थाहा हुन्छ । मनको बह पोख्ने ठाउँ थिएन । वेदनाको पोको पोख्न तीज कुर्नुपर्ने बाध्यता थियो । माइतिमा दिदि बहिनी जम्मा भएको समयमा संवाद वा गितको माध्यमबाट विरह र पीडा पोख्ने गरिएको थियो । अव अहिले पनि वोल्नै नहुने गाउनै नहुने नाच्नै नहुने जम्मा भएर खानै नहुने भन्ने तर्क राखियो भने त्यो स्वभनिय हुदैन र न्यायोचित पनि हुन्न ।

हिजोको परिस्थिती र आजको अवस्थामा हरेक बिषयमा परिवर्तन भइसकेको छ । खालीखुट्टा दैनिकी गुजारा चलाउनुपरेको पुस्ताकालको समयलाई जोडेर अहिले पनि महिलाहरुलाई हरेक पर्वमा त्यही पहिलेको समय भन्दा माथी उठ्न पाउँदैनन भन्ने सोच राख्नु राम्रो होइन । तीज पर्वमा पनि हिजो भन्दा फरक शैलीमा जानै हुँदैन भन्न मिल्दैन । पर्वको मर्म नमर्नेगरी दिदि वहिनी खुसी हुन्छन भने त्यसलाई आलोचनाको बिषय बनाइनु हुँदैन ।

उ बेला माइत जानका लागि तीज कुर्नु पर्ने महिलाले अहिले आफ्नो जन्मघर जानका लागि बर्ष दिन कुर्नै पर्छ भन्न थालियो भने के हुन्छ ? तीजमा केही समय अगाडी नै माइत पुगेकी चेलीलाई चाँडै माइत हिँडेर विकृती सुरु गरी भन्न मिल्ला ? माइतिको आँगन प्यारो लाग्ने चेलीका लागि पर्व विशेषसंग जोडर समय निर्धारण गर्नु राम्रो हुँदैन । तीजमा माइत पुग्नु ढिला चाँडोको बिषय विकृतिको रुपमा हेरिनु हुन्न ।

उवेला दर खाने दिन एक दिन थियो । अहिले पनि खास दर त एक दिन नै हो । तर, आफ्ना साथीसंगी जम्मा भएर खानपीन गर्नु लाई विकृतीको रुपमा हेरिनु पर्छ र ? हो हिजो आफ्नै दिदि बहीनी आमा हजुरआमाको विचमा घर भित्र खाइन्थे । तर अहिले आफ्ना साथी सहकर्मीका बिचमा जम्मा भएर खुसीका साथ खानपीन गर्दैमा विकृति भित्रीएको नजरले देख्नु राम्रो होइन । यसमा फजुल खर्च र देखासेकी गर्नु भएन तर आफ्ना साथीभाई र सहकर्मीको विचमा जम्मा भएर खानु रमाउनुलाई विकृति मान्नु हुँदैन ।

बर्षदिनमा एकसरो नयाँ कपडा लगाउने, पर्व विशेषमा पहिरन लगाउने चलन थियो । अहिले पनि नयाँ कपडा र गहना लगाउनका लागि पर्व नै कुर्नु पर्ने वा भएका कपडा गहाना लगाएर रमाउनै नपाइने भन्ने मान्यता राखिनुहुँदैन । आधुनीक समयमा विभिन्न प्रविधिको विकास भएको छ । अनेकन समाजिक संजालले समाजलाई घरेको छ । आफ्नै शैलीमा आफुसंग भएका चिज लगाउनु र रमाउनु स्वतान्त्रता भित्र पर्नुपर्छ । यसलाई पनि विकृती बन्देज भित्र पारेर लाउने कुरालाई पनि नियन्त्रण गर्न थालिएको भने समस्या हुन्छ । अनावश्यक प्रस्तुती र देखावटी गर्न भएन तर लाउने र आफुलाई सो गर्ने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ ।

परिवारमा आफु भन्दा अग्रजका अगाडी पर्दा घुम्टोलो टाउको छोपेर हिड्नु पर्ने जमानासंग अहिलेको समयलाई जोडेर त्यही समय अनुसार त्यसै गरे मात्र संस्कृतिको संरक्षण गरेको ठान्ने र मान्ने समाजको सोचमा परिवर्तन आवश्यक छ । महिलालाई निर्धक्कसंग वोल्न पाउने, स्वतन्त्रताका साथ हिडडुल गर्न पाउने, मन लागेको खान पाउने, रहर लागेको लाउन पाउने कुरामा बन्देज गराउने बिषय स्विकारयोग्य हुन सक्दैन ।

अहिलेको शिक्षीत समाजमा के गर्दा गलत र कसो गर्दा सहि भन्ने छुट्याउन सक्ने महिलालाई लाएको खाएको हिडेको बिषयलाई पर्वको विकृतिसंग जोड्नु हुँदैन ।मात्र यती हो हाम्रा पर्वलाई धन हुनेले देखाउने अवसर र नहुनेले हेर्ने अवसरको रुपमा लादिनु हुँदैन । पछिल्लो समयमा यदाकदा नयाँ पुस्ता र हुने खाने देखाउन अग्रसर जस्तो तर पुरानो पुस्ता हेर्नमा नै व्यस्त जास्तो देखिन्छ ।

नयाँ पुस्ताको प्रस्तुतीलाई अनावश्यक आलोचनाको बिषय बनाइएको पाइन्छ । हुने र नहुने बीचको खाडल बढाएको हो आरोप लगाइन्छ । तीज नेपाली महिलाहरुको लागि सबै भन्दा महान चाड भएपनि तीजलाई सबैभन्दा खर्चिलो, तडकभडक र लामो पर्व बनाउन थालिएको भन्ने आरोप छ । नेपालीहरुको सबै भन्दा ठूलो पर्व दशैं वा तिहार भन्दा तीज लामो, खर्चिलो र तडक भडकपूर्ण देखिएको हो की भन्ने बहस चलेको छ ।

अनावश्यक रुपमा यस्ता गतिविधी बढेको सवाल सामाजिक हिसावले चिन्ताको बिषय स्वभाविक हो । तर, सोलोडोलो सवैलाई एउटो डालोमा राखेर सवैले विकृति निम्त्याए भनेर महिलालाई दोष थुपारिनु हुँदैन । समिक्षा जरुरी छ, भाग्न जरुरी छैन । महिला आवद्ध भएका संघसंस्थाले तीज पर्वका बिषयमा गरेका समिक्षा अन्तरक्रिया कार्यक्रमलाई पनि भुल्न हुँदैन । हरेक सचेत महिला समुहले तीज पर्वमा विकृति हावी नहोस भनेर गरेका गतिविधीलाई नजरअन्दाज गरिनुहुन्न ।

धार्मीक हिसावले आफ्नो पतिको दिर्घ आयुको कामना गर्दै एक दिन बर्त बस्ने चलन छ । खासमा तीज त्यही एक दिनलाई मनिदै आएको छ । तीजको दिन दिनभर भोकै बस्नुपर्ने भएको हुनाले अघिल्लो दिन राती दर खाने चलन मानिन्छ । तर, अहिले तीज भन्दा एक महिना अघि देखि नै दर खाने र खुवाउने प्रचलन बढ्यो भनेर आलोचना हुने गरेको छ । महिनौ दिन अघि देखि खानपीनमा रमाउनुलाई राम्रै मान्न त नसकिएला तर साथीभाई र सहकर्मीका विचमा तीजको अवसर पारेर जम्मा भइ खानु रमाउनुलाई अति भएको ठान्नु गलत हुन्छ ।

तीज पर्व हिन्दु धर्मसंग मात्रै जोडिएको बिषय होइन यो नेपाली समाजको संस्कृती हो । तीजको अवसरमा नांचगान गर्ने, दिदी बहिनी माइती घर जाने, भेटघाट गर्ने, राम्रो लुगा लगाउने आदि प्रचलन संस्कृतीसंग सम्बन्धित बिषय बनेको पर्व हो । हिजो अर्कै परिस्थिती थियो अज अवस्था फरक छ । आजको अवस्था अनुसार चल्नुलाई बेठिक ठान्नु हुँदैन । तर, देखासिकी र तडकभडकको सिकारमा तीज पर्व लाई पारिनुहुन्न । यस्तो भावले यो पर्वको गरिमा घटाउछ । पर्वको गरिमा बढ्नेगरी समय अनुकुल परिस्कृत हुनुपर्छ ।

महिला सशक्तीकरणसंगै महिलालाई खुला रुपमा बाहिर आउनका लागि सहयोगी बनेको यो तीज पर्व नेपाली महिलाहरुको आर्थिक हैसियत बढाउन सहयोगी बन्दै गएको कुरालाई अस्विकार गर्न सकिन्न । नेपाली महिलाले हिन्दु परम्परा, धर्म संस्कृतिको महत्वलाई थप उजागर गर्दै लगेको बिषयलाई पनि भुल्न हुँदैन ।

सामाजिक र पारिवारिक सद्भाव कायम गर्न, आफ्नो माइती, साथीसंगीसँगको सम्बन्ध दिगो र सुमधुर राख्न, मनोरञ्जन गर्न, सुख दुख साट्न, धार्मिक र सांकृतिक दृष्टिकोण आदिका हिसावले तीज पर्वको नेपालीसमाजमा ठूलो भूमिका छ । अव थप सशक्त, सचेत र सबल बन्दै आफु पनि रमाउने र दुरदराजमा रहेको भएखाने दिदि बहिनीहरुका हितमा यही पर्वलाई जोडेर सामाजिक काम गर्न अग्रसरता देखाउन आवश्यक छ ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यो चाडमा भगवान शिवको आराधना गरिन्छ । तृतीयाको दिन महिलाहरु रातो पहिरनमा सजिएर वर्ष दिनसम्म आफूले भोगेका भोगाइहरु गीतमार्फत अभिव्यक्त गर्ने परम्परा रहेको तीज मनाउने क्रममा अव वेदनाको पोकोलाई फुकाउन तीज नै कुर्नु पर्दैन । तीज एउटा माध्यम बन्न सक्ला तर अव लुकेर होइन खुलोर बोलौँ गाउँ, रमाऔँ ।

नेपाली महिलाहरुका ठुलो पर्व तीज सभ्य, सुसंस्कृत र उल्लासमय नेपाली महिलाहरुनै सक्रिय हुने हो । आफ्नो पर्वको मर्म नमर्नेगरी धर्म अनुसार मनाउन आफै लाग्ने हो । समय अनुकुल परिस्कृत हुदैँ जाने पनि हो र अनावश्यक विकृती भित्रन नदिने पनि हो । त्यसैले तीज पर्व परिस्कृत होस र विकृत नबढोस भन्ने बिषयमा हामी सवैको ध्यान पुगोस । सबैमा तीजको शुभकामना ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु