“तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ”

तीन दिने तीजको मिठास
सविता श्रेष्ठ ,
घमाईलो दिन अनि शितल साँझ, बिहान । हरिया फाँट । हरिया डाँडापाखा । जताततै हरियाली । खुलेको आकाश । निलो आकाशमा फैलिएका बादलका सेता थुम्काहरु । दिनहरु क्रमशः छोटिने अनि गर्मी बिस्तारै घट्ने यो भदौरे समय । असारमा रोपिएका धानले गाँज फैलाएर हरिया भैसकेका छन् । खेतीपाती गर्ने किसानहरुका लागि अलिक फुर्सदिलो समय । अनि यही समयमा सुरु हुन्छन् चाडपर्वका रौनक ।
भदौ मासमा पर्ने महत्वपूर्ण पर्व तीज । तीज भन्नासाथ मलाई मेरो बाल्यकाल याद आउँछ । नेवार भएर पनि बाहुन समुदायमा हुर्किएकी म । घरमा तीज मान्ने अनि व्रत बस्ने हुँदैनथ्यो ।त्यससमय पनि हप्ता, दश दिन अघिदेखी नै टोलमा तिजको रौनक सुरु हुन्थ्यो । गाउँका सबै घरका महिलाहरु टोलको एउटै घरमा जम्मा हुन्थे । बेलुकीको घर धन्दा भ्याएर आउनेहरु आँगन, पिढीमा बसेर तीजका भाका गाउँथे । बिजुली बत्ती थिएन । टुकीको उज्यालोमा तीजको गितको सँगालोको पाना पल्टाउँदै स्वरमा स्वर मिलाएर रमाईलो गर्थे ।
संगालोमा प्रायजसो दुःख, अभाव, वेदनाका गितहरु समेटिएको हुन्थे । गाउन र नाच्न नआएपनि पनि मादलको ताल मिलाउँदै म ताली बजाउँथे । यसरी तीज नसकिउन्जेल टोलका हरेक घरमा बेलुका पालै पालो गित गाइन्थ्यो । विवाह भएका दिदिहरु प्रायजसो माईती आएका हुन्थे । तीजको अघिल्लो दिन पनि गित गाउँथे । राती दर खाईन्थ्यो । बाल्यकालमा मैंले पनि छिमेकीको घरमा गएर राती दर खाएको छु । व्रत बस्ने, मन्दिर जाने, पुजा गरिन्थ्यो । तीजको दिन विभिन्न ठाउँमा मेलाहरु आयोजना गरिएको हुन्थ्यो ।
सांस्कृतिक प्रस्तुती सहितका नाचगान हुन्थ्यो । म पनि साथी, दिदिहरुसँग मिलेर जान्थे । दिनभरी रमाईलो हेर्दै आमाले हातमा राखिदिने पैसाको टन्न खानेकुरा खाएर फर्किन्थ्यौं । यसवर्ष भदौ अन्तिम र असोज सुरुमा जोडिएको तीज नजिकै आईसकेको छ । यो लेख पढ्दै गर्दा तीजका कुनै न कुनै कार्यक्रममा तपाई पनि पक्कै सहभागी भैसक्नुभयो । म पनि भैसकेँ ।
हरितालिका अर्थात् तीज
नेपाल प्रज्ञा–प्रतिष्ठानको शब्दकोशका अनुसार हरितालिका शब्दको अर्थ ‘प्रायः नेपाली सधवा नारीहरुले सौभाग्यको स्थायित्वका लागि भाद्र शुक्ल तृतीयका दिन निराहार बसेर गरिने शिवको पुजा, भाद्र शुक्ल तृतीयाको दिन; तिज र विष्णुसँग विवाहित हुन नपरोस् भनी संगिनीद्वारा हरेर जंगल पु¥याइएकी पार्वतीले महादेव पनि पाउनका निम्ति गरेको व्रत’ रहेको छ । यस्तै, तिजको अर्थ ‘नारीहरुले सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन; हरितालिका’ रहेको छ ।
समग्रमा हेर्दा भाद्र शुक्ल तृतीयाको दिन मनाईने तीज नेपालीहरुको महत्वपूर्ण पर्वहरु मध्येको एक हो । नेपालमा पौराणिक कालदेखि नै यो पर्व चलिआएको पाईन्छ । यो पर्वप्रति नेपाली महिलाहरुको छुट्टै आत्मियता जोडिएको छ । धार्मिक कथनका अनुसार हिमालय पुत्री पार्वतीले विष्णुसँग विवाह हुन लाग्दा घरबाट भागेर महादेव स्वामी पाऊँ भनी व्रत बसेको र महादेव स्वामी पाएको र सोही समयको उत्सवको रुपमा हिन्दू नारीहरूले हरितालिका तीज मनाउँदै आएको पाईन्छ । विवाहित महिलाले आफ्नो श्रीमानको सुस्वास्थ्य, दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको दिन व्रत बस्ने गर्दछन् ।
तीजको अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसि महादेवको पुजा, आराधाना गरिन्छ । चौथीका दिन स्नान गरी खाना खाइन्छ । तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालुहरूले ३६५ ओटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्दछन् । त्यस दिन ऋषिको पुजा गर्ने प्रचलन रहेको छ । यसरी तीन दिनसम्म तीज मनाईन्छ ।
सामाजिक अपनत्व
विवाहित महिलाका लागि सँधै प्रिय हुन्छ माईतीघर । तीजले माईतीघर र घरको सम्बन्धलाई समेत जोडेको छ । जन्मिएर हुर्किएको घरलाई छोडेर पराईघर आफ्नो बनाउने चेलीलाई माईतीले सम्झिने एक आधार पनि हो यो पर्व । छोरी, चेली माईती आउने र भान्जा, भान्जी मामाघर जाने वर्ष दिनको एक अवसर पनि हो यो पर्व । कृषि कर्म प्रमुख रहेको नेपालमा खेतीबाली लगाईसकेपछि र उत्पादन भित्राउनु अघिको यो समय अलिक फुर्सदको समय हो । फुर्सदको यो समयमा घर–माईती आउजाउ गर्न समेत सहज हुन्छ । पहिले अहिलेजस्तो सञ्चारको सुविधा नहुँदा तीजका लागि लिन बुबा, दाजुभाईहरु नै चेलीबेटीको घरमा पुग्थे ।
विवाह गरेर टाढा पुगेर तीजमा माईती आएका चेलीबेटीलाई मिठो, मसिनो पकाएर खुवाउने गरिन्छ । गाउँघरका साथीसँगी, दिदिबहिनी भेटघाटको मेशोमा घरका दुःख पीडा भुलेर गाउने, नाच्ने, रमाउने गर्दछन् । त्यसैले यो आपसी भेटघाट र माया साटासाट गर्ने पर्व समेत रहेको छ । यसले माइती र चेलीको आपसी सम्बन्धलाई बलियो बनाउँछ । विवाह भएर फरक–फरक ठाउँमा पुगेका दिदीबहिनीबीच भेट गराउने, आफ्ना विगत सम्झने एवं सुखदुःखका बारेमा संवाद गर्ने माहोल र अवसर समेत यो पर्वले जुटाउने गरेको छ ।
पर्वको बद्लिदो रङ
पहिले अहिलेजस्तो यातायातको सुविधा थिएन । चेलीबेटी लिन जान, माईत ल्याउन र तीज मनाउन पर्व आउनु अघिदेखी नै यसको तयारी हुन्थ्यो । कुनै वर्ष मावलीमा र कुनै वर्ष माईतीमा चेलीवेटीले तीज मनाउँथे । नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नहुँदा एकदिन भए पनि पेट भरिने गरी मीठो–मसिनो ख्वाउन माइती पक्ष दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौं देखि माईती जान पर्खिएका हुन्थे । अलिकति राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउँथे ।
नेपाली समाजको मौलिकतासँग जोडिएको तीज विशुद्ध नेपाली पर्व हो । पुर्वाधारको विकास, दरिलो आर्थिक अवस्था अनि विश्वव्यापिकरणको यो समयमा हिन्दु धर्मालम्बीले मात्र नभई सबै धर्म समुदायका मानिसले तीज मनाउन थालेका छन् । तीजको अवसरमा संघसंस्थाहरुले विविध विषयमा तीज गीत, नृत्य, कविता प्रतियोगिताहरु आयोजना गर्छन् । यो आफ्नो कला देखाउने एक अवसर पनि हो । हरेक समय, हरेक क्षण परिवर्तनशील छ । हाम्रा चाडपर्वहरु मनाउने तौर तरिका पनि विस्तारै परिवर्तन हुँदै गएका छन् ।
तीजलाई धार्मिक पाटोसँगै सामाजिक उत्सवका रूपमा पनि लिइन्छ । गीत, सङ्गीत र मनोरञ्जन तीजको सामाजिक पक्ष रहेका छन् । नाचगान गर्दै गीतको माध्यमबाट बह पोख्ने यसको सांस्कृतिक र सामाजिक पक्ष हुन् । भाद्र शुक्ल पक्ष तृतीया तिथिको दिन मनाइने भए पनि पछिल्ला वर्षहरूमा खानपान र मनोरञ्जन पक्ष हावी हुँदा यसको रमझम महीनाभरि नै चल्ने गरेको छ ।
गीत संगितका माध्यम पनि बद्लिएका छन् । पहिले दुःख, वेदनासँगै विद्रोह, सामाजिक एवं राजनीतिक परिवर्तनका विषय समेटिएर तीजका गीत गाइन्थे । विगतमा तीजमा दिदीबहिनी र आमाहरूले आफैं गीत सिर्जना गरेर नाचगान गर्थे । पछिल्ला दशकमा सूचना प्रविधिको विकासले त्यो परम्परा बदलिएको छ । तीज आउनु महीना दिन अघिदेखि नै तीजका गीतहरू विश्व बजारमा आउँछन् ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै तीजका गीत र तिनले उठाउने विषयवस्तु समेत परिवर्तन भएका छन् । यस्ता गीतसंगित कतिले राम्रो मान्छन्, कतिले तीजको मौलिकता हराएको भन्दै राम्रो मान्दैनन् । यद्यपि तीजलाई गीतसंगीत र यससँग जोडिएको सामाजिक पक्षबाट अलग राख्न भने सकिदैन ।
स्वदेशसँगै विदेशमा समेत धेरै दिन अघिबाट यो पर्व मनाउन थालिएको छ । तीजको अवसरमा आत्मियता साटासाट गर्नु राम्रो भएपनि देखासिकी गर्दै खर्चिलो र भड्किलो भने बनाउनु हुँदैन । हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी पर्वलाई परिस्कृत गर्दै लानुपर्छ । मौलिक संस्कृतिलाई ओझेलमा नपारी तीजको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ । रजश्वला हुँदा जान अन्जानमा गरिने पाप पखाल्न व्रत बसेर पुजा गर्नुपर्छ भन्ने लगायतका अन्धविश्वास हटाउनुपर्छ ।
दरको डर
गाउँ स्वर खोलेर दिदि र बहिनी
तीजको रहर आयो बरिलै….
तीजसँग जोडिएको गीत, संगित भन्नासाथ सायद सबैले यो गीत सम्झन्छन् । अहिलेको तीज रहर भन्दा पनि दर बनेको छ । चाडपर्व भनेका हुनेखानेका लागि हुन्, हुँदा खाने अनि ज्याला, मजदुरी, मेला पात गरेर बिहान बेलुकाको गर्जो टार्नेहरुका लागि हरेक चाडपर्व उत्तिकै सकसपूर्ण हुन्छन् । अहिले प्रायजसो टोलले दर कार्यक्रम आयोजना गर्छन् । यस्तै समाजमा रहेका विभिन्न संघ, संस्था, समुह एवं कार्यालयहरुले समेत यस्ता कार्यक्रम आयोजना गरिरहेका छन् ।
‘अहिलेसम्म टोलको, महिला समुहको समेत गरी ३ वटा दर कार्यक्रम आयोजना भयो । म कुनैमा पनि गईन् । टोलको दरमा एक जनाको पाँच सय, समुहकोमा एक हजार र अर्कोमा आफुले सकेको तिर्नुपथ्यो । पैसा मात्र दिएर भएन । त्यही अनुसारको लुगा लगाउन प¥यो । सारी त यसो मागेरै लगाम्ला तर ब्लाउज त सिलाउनु पर्छ । हा जाँदिन म त भनेर कुनैमा पनि गइन ।
मेरो छिमेकी टोलकी एक जना दिदिको यथार्थता हो यो । यही यथार्थता भएका दिदि बहिनीहरु अझैपनि हाम्रो गाउँ, समाजमा धेरै छन् । आर्थिक अवस्था मजबुद नभएकै कारण मनले चाहेर पनि यस्ता कार्यक्रमहरुमा सहभागी हुन सक्दैनन् । यसमा ओहो नि दर नि किन खानुप¥यो र यति धेरै पटक भन्ने प्रश्न मात्र छैन । उनी जस्तै धेरै दिदिबहिनी अझै पनि आर्थिक रुपमा स्वावलम्बी बन्न किन सकेका छैनन् भन्ने प्रश्न पनि लुकेको छ ।
आर्थिक रुपमा सक्षम, टोल समुह एवं सामाजिक रुपमा सक्रिय महिलाहरु नै ‘दर खाने’ कार्यक्रममा सहभागी भएको पाईन्छ । म आँफैले पनि यो आर्टिकल तयार गर्दासम्म ५ ठाउँमा ‘दर’ खाईसकें । अफिसमा, मामाघरमा, माईतमा, आफ्नै घरमा अनि एक सामाजिक संस्थामा । यसरी दर खान जाँदा बिहान, दिउँसो र बेलुकी नियमित खाने गरेको खानामा थप अर्को खाना खाएको होइन् । कँही विहान खाइयो, कँही दिउँसो र कँही साँझको खानाको साटो । ति कार्यक्रममा सहभागी हुन मैंले त्यस्तो भव्य केही खर्च गरिन् । नयाँ लुगा, श्रृङ्खारका सामग्रीहरु पनि किनिन् । र पनि ‘दर कार्यक्रम’ मेरा लागि भव्य बने ।
कुनैमा बर्ष दिन भन्दा लामो समयपछि दिदिबहिनी, साथीसँगी छोटो समयका लागि भएपनि प्रत्यक्ष भेट्न सकें । कुनैमा केही आफन्तसँग पहिलो पटक भेटघाट भयो । आत्मियता र माया साटासाट भए । खाने भन्ने त बहाना मात्र हो, भेटघाट, नाचगान र भलाकुसारीहरु नै प्रमुख हुन् । यसरी तीजको छेकोमा संघसंस्था आफन्तीले सम्झिदाँ पक्कै पनि खुशी लाग्छ ।
स्वास्थ्यलाई प्राथमिकता
तीज पर्व भन्नासाथ मूख्यगरी खानपान व्रतसँग सम्बन्धित रहेको छ । यि दुबै कुरा स्वास्थ्यसँग प्रत्यक्ष जोडिन्छन् । चिल्लो, पिरो, मसालेदार, गुलियो एवं चिसो पेयपदार्थहरुले स्वास्थ्यलाई अस्वस्थ्य बनाउँछ । त्यसैले आफ्नो शरीर र स्वास्थ्य अनुकुलका खानेकुराहरु मात्र खानुपर्छ । वर्ष दिनमा खाने त हो भन्दै अनावश्यक र अत्याधिक खानेकुरा एवं परिकार र चिसो, अल्कोहलजन्य पेयपदार्थहरु नखानु नै स्वास्थ्यका लागि फाईदा हुन्छ ।
यस्तै, तीजमा निराहार व्रत बस्ने प्रचलन रहिआएको छ । पानी पनि नपिइ व्रत बस्दा, पुजा आराधानाका लागि मन्दिर गएका कतिपय दिदिबहिनी बेहोस् समेत हुन्छन् । स्वास्थ्य अनुकुल पानी, फलफलु, जुस खाएर पनि व्रत बसि पुजा गर्न सकिन्छ । त्यसैले तपाई आफुले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखि व्रत बस्नुहोला । आफ्नो इच्छा अनुसार व्रत बस्नुहोस् ।
पौराणिक आख्यान अनुसार जसरी अनादीकालमा पार्वतीले आफुलाई मन नपरेकासँग विवाह गरिदिन लाग्दा विद्रोह गरेकी थिइन् । यसलाई ‘महिला स्वतन्त्रता र आफ्नो लागि आफैंले निर्णय लिने सक्ने’ परिवर्तनकारी प्रतिकका रुपमा समेत लिने गरिन्छ । वर्तमान्मा एकथरी तीजको मौलिकता मर्दै गएको टिप्पणी गर्छन् । अर्काथरीले महिलाको लागि स्वतन्त्रता र खुलापन प्राप्त भएको बताउँछन् । तीजको धार्मिक, सांस्कृतिक मौलिकताको जगेर्ना गर्दै, अन्धविश्वासलाई चिर्दै, समयसापेक्ष तीज मनाउनुपर्छ । तीज पर्वमा आपसमा माया साटौं, आत्मियता बाँडौं अनि खुशी हौं ।
नाच्नी हो
गाउनी हो
कमाउनी नी हो
रमाउनी नी हो …..
तपाइँको प्रतिक्रिया