विनिता रेग्मी,
वर्षेनी भाद्र शुक्ला तृतीया तिथिका दिन मनाइने नेपाली हिन्दु नारीहरुको एक महान चाड तीज आएको छ । हरितालिका तीज पनि भन्ने गरिएको तीजको इतिहास निकै पूरानो छ । यो चाड भगवान शिव र देवी पार्वतीको उपासनासँग सम्बन्धित चाड हो ।
जनविश्वास, ग्रन्थ, पुराण, एतिहासिक अध्ययनका आधारमा भन्दा परापूर्व कालमा हिमालयकी पुत्रीे पार्वतीले शिवलाई चाहन्थिन् । तर उनको विवाह विष्णुसँग हुने चर्चाले पार्वती भावविह्ल भइन् । त्यसपछि पार्वतीका साथीहरुले उनलाई घरबाट जङ्गलबीचको गुफामा लिएर जान्छन् ।
पार्वतीलाई प्रसन्न तुल्याउन साथीहरुले भजन, कीर्तन, गायन, नृत्य आदि क्रियाकलाप गर्दछन् । त्यसपछि पार्वती शिवलाई पाउँ भनि निराहार व्रत बसि शिवको आराधना गर्छिन् । पार्वतीले भगवान् शिव पाउँ भनी १०८ वर्षको तपस्या गरेकी हुन्छिन् । पार्वतीको त्यो कठोर व्रत देखेपछि भगवान शिव खुसी भई प्रकट हुन्छन् र पार्वतीलाई चिताएको कुरा पुगोस् भनी वर दिन्छन् । र शिव पार्वतीको दाम्पत्य जीवन सुरु हुन्छ । पार्वतीले व्रत सुरु गरेको दिनको सम्झनामा तीज मनाउने गरिन्छ ।
तीजको दिनमा शिवालय तथा शिव मन्दिरहरुमा भिड लाग्दछ । विवाहित र अविवाहित महिलाहरु सारीसहितका विभिन्न पहिरनहरुमा सजिएर मन्दिर पुग्दछन् । नारीहरु रातो र हरियो रंगका सारी लगाउँछन्, हातमा चुरा र मेहन्दी लगाएर सजिन्छन् ।
तीजको दिन नेपालमा महिलाहरुका लागि सार्वजनिक विदा दिइन्छ । महिला र पुरुषको उपस्थिति उल्लेखनीय रहेको एवम् सबै महिला विदामा बस्दा काम गर्न नसकिने कार्यालयहरु तीजको दिन बन्द नै रहन्छन् ।तीजको दिन नेपाली हिन्दु नारीहरुले शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन ।
तीजका दिन नाचगान गरेर रमाइले गर्ने तथा गतीमार्फत दुखेसो पोख्ने समेत गरिन्छ । विवाहित महिलाहरु पति र परिवारको रक्षार्थ, दीर्गायुको कामना, दाम्पत्य जीवनको सफलताको कामनासहित व्रत बस्ने गर्छन् भने अविवाहित नारीहरु शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ अर्थात आफूले चाहेको कुनै व्यक्तिलाई पाउँ भनि व्रत बस्ने गरेको पाइन्छ ।
व्रत बस्ने दिन अर्थात तीजको अघिल्लो दिन दर खाने दिनको रुपमा लिइन्छ ।
अघिल्लो दिन दरिलो बनाउने मिठा र तागतिला खानेकुराहरु खाएर भोलिपल्ट नारीहरु निराहार र निर्जला अर्थात भोकै पानी समेत नखाई व्रत बस्ने गर्छन् । तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरु रातभरि नै बालिन्छ । तीजको दिन विशेष गरी विवाहित नारीहरु माइती घरमा गएर दर खाने र व्रत बस्ने चलन छ । माइत नगएकाहरु घरमै तीज मनाउने गर्छन् ।
तीजले नेपाली समाजमा गहिरो प्रभाव पारेको छ । ८० प्रतिशतभन्दा बढी हिन्दुहरु रहेको नेपालमा हिन्दु नारीहरुले मनाउने तीजले कुनै एउटा भौगोलिक तथा सांस्कृतिक क्षेत्रमात्र नभै राष्ट्रियरुपमै प्रभाव पार्दछ । तसर्थ तीजले नेपाली समाजमा ठूलो सांस्कृतिक र सामाजिक महत्व राखेको छ । तीजको धार्मिक प्रभाव त छँदै छ । यसका अलवा तीजले लैङ्गिक क्षेत्र, महिला सशक्तिकरणको क्षेत्र, देशको आर्थिक क्षेत्र, पर्यटन क्षेत्र, सामाजिक विकासको क्षेत्र आदि क्षेत्रमा प्रत्यक्षरुपमा प्रभाव पार्ने गरेको छ । अर्थात तीजले मानव जीवनका विभिन्न पक्षहरुलाई राष्ट्रियरुपमा प्रभाव पार्ने गरेको छ ।
तीजले महिलाहरु भेला भएर आफ्ना अनुभवहरु साटासाट गर्ने अवसर दिलाउँछ । यसले महिलाहरुबीचको एकतालाई मजबुत बनाएको छ । नारी जागरणका लागि तीज एउटा सशक्त माध्यम हो । तीज बाहेक अरु कुनै पनि चाडपर्वले महिलालाई यति ठूलोमात्रामा संगठित हुने अवसर दिलाउँदैन ।
तीजको आर्थिक प्रभावको कुरा गर्दा नारीहरुले तीजका बेला बजारहरुमा कपडा, गहना, सौन्दर्य सामग्री आदि खरिद गर्ने गर्दछन् । तीजका बेला परम्परागत रातो र हरियो पहिरन, चुरा र मेहन्दीको माग बढ्दछ । जसले उत्पादन पनि बढाउँछ । स्थानीय स्तरमा यी समाग्री उत्पादन गर्न सके यसले स्थानीय अर्थतन्त्रमा टेवा पु¥याउँछ ।
तीजका बेला विभिन्न स्थानहरुमा घुमफिर गर्ने चलन पनि छ । यसका साथै तीजसँग सम्बन्धित सांस्कृतिक कार्यक्रम, परम्पारगत नाचहरु, परम्पारगत पहिरनहरु हेर्नका लागि पनि विदेशबाट पर्यटक आउने गर्छन् । यसले पर्यटन क्षेत्रमा प्रभाव पार्दछ ।
यस्तै तीजले सांस्कृतिक संरक्षणमा पनि टेवा पु¥याउने गर्छ । परम्परागत मूल्यमान्यता र रीतिरिवाजहरुलाई संरक्षण गर्दै तीनलाई एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण गर्न पनि तीजको ठूलो भूमिका छ । यसले देशको पहिचान र अस्तित्व जोगाइरहन मदत पु¥याएको छ ।
यसैगरी तीजले सामाजिक एकतामा पनि प्रभाव पारेको छ । सबै परिवार एक ठाउँमा जम्मा भएर शुभकामना साटासाट गर्ने गरिन्छ । समाजिक सद्भाव खलबलिन नदिन सबै सचेत भई समाजलाई एकतामा बाँध्न पनि तीजले ठूलो भूमिका खेलेको छ ।महिला सशक्तिकरणमा तीजले वर्षाैंदेखि ठूलो भूमिका खेल्दै आएको छ । लैङ्गिक भूमिकालाई महत्व दिँदै महिला र पुरुषबीच सृजना गरिएको विभिन्न असान्दर्भिक असमानताहरुलाई तीजले चिर्दै आइरहेको छ ।
तीज महिला अधिकार र सशक्तिकरणका बारेमा छलफल गर्ने एउटा मञ्च जस्तै हो । महिलाहरु एकआपसमा भेला भएर आफूमाथि भएका घरेलु हिंसाका कुराहरु, आफूले भोगेका दुखका कुराहरुलाई गीतमार्फत व्यक्त गर्ने गर्छन् । तीजको बेला लैंगिक विभेदसँग सम्बन्धित विभिन्न सचेतनामूलक कार्यक्रम गरिन्छ । यसले समाजमा महिला सशक्तिकरणमा ठूलो टेवा पु¥याइरहेको छ ।
कहिलै घरबाट बाहिर निस्कन नपाएका महिलाहरु पनि तीजका दिन स्वतन्त्र भएर रमाउन पाउँछन् । साथीसंगिनी तथा माइतीलाई आफ्ना पीडा सुनाउन पाउँछन् । यसले महिलाहरुले भोगिरहेको उत्पिडनका कुराहरु बाहिर ल्याइरहेको छ । विशेष गरी गीतमार्फत महिलाहरुले आफ्ना कुराहरु राख्ने गर्छन् । तीजमा गाइने गीतले महिला सशक्तिकरणमा ठूलो टेवा पु¥याउँदै आएको इतिहास छ । तीजले नेपाली समाजका विभिन्न पक्षहरुमा विगत देखिनै दूरगामी प्रभाव पार्दै आइरहेको छ ।
यसलाई तलका केही पूराना तीज गीतहरुले अझ प्रष्टसँग बुझ्न सकिन्छ ।
तीजका बेला गाइने केही परम्परागत गीतका केही झलकहरुलाई हेरौं :
‘भगवानलाई भेट्न जाँदा के–के समान चाहिन्छ
एकुमा चाहिन्छ श्रीखण्ड चन्दन एकुमा चाहिन्छ फुलेको फूल’ ।
माइत जान पतिसँग अनुमति माग्दै गरेको गीत :
पत्नी : ‘पृथिवीका पल्ला छेउमा हाम्रा बाबा छन रे
म त जान्छु स्वामी राजै बाबा भेट्न’
पति : ‘कौना बेला जाउली कौना बेला आउली
कौना बेला गरौली देवतीको ध्यान’
नारीवेदनाको सम्बन्धिको एक गीत :
‘शिरफूल लाएको घरबाट आएको
भित्र पनि आइनौ छोरी के छ मनमा ?
कस्तो हुन्छ मेरा बाबा तप्केनीको खेती
उस्तै हुन्छ मेरा बाबा सौते घरमा
कस्तो घर हेरेर दिनुभयो बाबाले
लाउन खान दिदैनन् छुच्चा जाबाले
जेठाजु र जेठानी कुरा लाउँछन् फतुर
शिरको सिंदुरको दिने स्वामी भए सतुर
पारी पाखा सेतै भो सिमलुको भुवाले
छोरा जति परदेश गए भन्छन् बुबाले
पञ्चायती व्यवस्थाको विरुद्ध अर्थात राजनैतिक चेतनाका आधारमा गाइएको एउटा यो पूरानो गीत पनि हेरौं :
‘दैलामुनी फूल फूल्यो चम्रीगाईले खानेछ
पञ्चायती व्यवस्थाको पैरो जाने छ ।
पञ्चायती व्यवस्थाको राज्यकाल खतरा
थरीथरी हड्तालले हाने झटारा ।
शैक्षिक जागरणका लागि गाइएको अर्काे गीत ‘:
‘नपढेकी छोरीलाई पढेकालाई दिनु भो
म छोरीको बाबाले पापै लिनु भो
स्वामीज्यूले माग्नु भयो अंग्रेजीमा वाटर
नबुझेर दिएँ मैले काँचो कटर’
‘हामीलाई नि सुहाउँछ आईए बीए पढ्न
हाम्रो पनि हक छ अघि बढन ।’
‘कति विकास गरिसके विदेशका नारीले
हामीलाई त छोडेन घाँसको भारीले’
यी परम्परागत तीज गीतका केही झलक मात्र हुन् । तीजका बेला यस्ता अनेकौं गीतहरु गाउने गरिन्थ्यो । तीजका यस्ता गीतले महिलाहरुलाई अघि बढाउन ठूलो मद्दत पु¥याएको पाइन्छ ।समाजको विकासक्रमसँगै गीतहरुमा केही फेरबदल हुँदै आएको इतिहास पाइन्छ । तर त्यसले तीजको महत्व, लोक संस्कृतिलाई अझ बढवा दिँदै महिलालाई सशक्तिकरण बनाउँदै आएको थियो । विस्तारै यस्ता खाले गीतहरु गाउन छाडिन थालेको छ । केही जिल्लाका ग्रामीण क्षेत्रमा बाहेक अन्यत्र यस्ता गीतले तीजका बेला स्थान पाउन छाडेका छन् ।
पछिल्लो समय आएका धेरैजसो तीजका गीतमा विकृति र विसंगतिले नराम्रो जरा गाडेको छ । स्वतन्त्रताका नाममा छाडातन्त्रको हावी भएको छ । तीजको सांस्कृतिक र एतिहासिक महत्वलाई नै सखाप पार्ने खालका कलाहीन गीतहरु समेत बजारमा आउन थालेका छन् । यो निकै विडम्बना हो । सरकारी सेन्सर लगाएर विकृति फैलाउने गीतलाई समाजमा ल्याउनै नदिने परिपाटीको विकास नगरे तीजको नकरात्मक प्रभाव पर्ने देखिन्छ ।हो समाजमा महिलाका पीडा पहिले झैँ छैनन् । त्यही गीत अहिले सान्दर्भिक नहोला । तर आधुनिकताको नाममा लोकसंस्कृतिको मूल्य र मान्यता नै भुल्नु गलत हो ।
पहिलेपहिले यातायात र सञ्चारका साधन नहुदा जुन सुकै बेला दिदी, बहिनी, चेलीबेटी सबैको जमघट हुन गाह्रो थियो । भेट हुन र मिठो मसिनो खानका लागि चाडपर्व नै आउनुपर्दथ्यो । विवाह भएर टाढा गएकी चेलीलाई दाजु, भाइ वा बुवा लिन जाने माइतिमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिने, चेली बेटीको घरको अवस्था उसको पीर मर्कालाई आफ्ना दिदी बहिनी इस्टमित्रका माझ गीतका माध्यमद्वारा पोख्ने चलन थियो ।
अहिले पछिल्लो समय शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा तीज मनाउने तरिका नै फेरिँदै गएको छ । शहरी क्षेत्रले सुरु गरेको विकृति विस्तारै गाउँमा पनि पस्दै छ । तीजको अघिल्लो दिन खानुपर्ने दर महिनौ अघिदेखि दर खाने कार्यक्रम गर्न थालिएको छ । शहरी क्षेत्रमा महिनौ अघिदेखि पार्टी प्यालेस धाउने, अंग्रेजी गीतमा नाच्ने, तीज गीत भनेर ल्याइएका विकृति फैलाउने खालका गीतमा नाच्ने प्रवृत्ति मौलाएको छ । यस्ता प्रवृत्तिले तीजको परम्परागत महत्वलाई कमजोर बनाउँदै लगेको छ ।
यस्तो प्रवृत्तिले अहिले तीजका कारण समाजमा एकता होइन विभेद जन्माउने संकेत देखिन थालेको छ । हुनेहरुको रवाफले गर्दा नहुनेहरुलाई यो चाड नआइदिए हुन्थ्यो भन्ने हुन थालिसकेको छ । धनी र गरिबहरुबीचको खाडल थप्न यस्ता चाडले पछिल्लो समय झन् प्रशय दिइरहेका छन् ।
यसरी विगत र अहिलेको तीजको तुलना गरी यसको प्रभावलाई मूल्याङ्कन गर्दा विल्कुलै फरक हुँदै गएको छ । चाडवार्डमा भित्रिएका यस्ता खाले विकृतिहरुलाई रोक्न सरकार र समाज दुवैले ध्यान दिनुपर्ने देखिन्छ । गीतका सर्जकहरुको उत्ताउलो पनालाई नियन्त्रण गर्नुपर्ने देखिन्छ । महिनौ अघिदेखि दरखाने प्रवृत्ति राक्नुपर्छ । यसो गर्न सके यसले समाजमा नकरात्मक प्रभाव पार्न दिने थिएन ।
तीज भनेपछि पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने चाड हो । अहिले त्यस्तो तपस्या गर्नु नपरे पनि तीजको सांस्कृतिक महत्वलाई तोडमोड गर्ने गरी कुनै पनि क्रियाकलाप नगरौं । तीजको असिमित शुभकामना ।