पुजा ढकाल,
तीज नेपाली हिन्दु महिलाहरूको महान् चाड हो । तीजलाई हरितालिका भनेर पनि बुझन सकिन्छ । भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्ने तीज विशेष गरी भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेमा तीजको महत्व अझै बढि हुने धार्मीक मान्यता छ । भाद्रशुक्ल पक्ष अनुसार यस वर्षको तीज असोज १ गते सोमबार परेकाले यसको वर्षको तीजले अझ धेरै महत्तव बोकेको छ । यस्तै तीन चीजबाट जन्मिएको हुनाले ‘त्रीज‘ भन्ने संस्कृत शब्दबाट तीज शब्दको विकास भएको पौराणीक मान्यता छ ।
तीज पर्वको सुरुवात
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ ।
यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ । तर, शिवजीलाई नै पति रूपमा प्राप्त गर्ने पार्वतीको चाहना र तपस्या विरुद्ध हिमालय पर्वतले विष्णुलाई विवाह गरिदिने कुराको विद्रोह गर्दै पार्वतीका संगीसाथीहरूले जङ्गलमा लगेर लुकाएर राखेको हुनाले तीजलार्ई हरितालिका तिज पनि भनिएको हो ।
त्यस्तै पुरानो मान्यता अनुसार तीज दिदी बहिनी सँगै चौतारीमा बसेर गीतको माध्यमबाट दुःख सुख, मनको वह पोख्ने, नाँचगान गर्ने, चेली माइती जाने, रमाइलो गर्ने, दर खाने पर्वको रुपान मनाइने गरिएपनि पछिल्लो समय तीज मनाउने शैली तथा रितिरिवाज आकास पातालको फरक भएको हामी अनुभूति गर्न सक्छौँ ।
तीजमा विशेष गरी विवाहीत नारी रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिएर श्रीमानको लामो आयुको लागि वर्त÷ उपवास राख्ने गर्छन् । तर, पछिल्लो समय सांस्कृति अनुसार नारी श्रीमानको लामो आयुका र युवतीहरु शिव जस्तै श्रीमान पाउन उपवास राख्ने परम्परा यथावत रहेपनि समयसँगै हाम्रो तीज मनाउने (संस्कार र संस्कृति) मा निकै परिवर्तन आएको छ ।
हालको तीज टिकटक, फोटो, फेसन केन्द्रीत बनेको छ । खै कहाँ गए हाम्री आमा÷हजुरआमाहरुले तीज मनाउने शैली ? के सकियो त्यो सबै तीज मनाउने शैली ! आजको यो युगमा नारी माइता गएर दुग्धजन्य परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, मासुमाछा र मदिराजन्य तामसी परिकार खाने प्रवृत्ति बढ्दो छ । जुन शैलीलाई मेरी हजुरआमा कलियुग भन्नुहुन्छ र मलाई प्रश्न उठाउनुहुन्छ के हाम्रा संस्कार र संस्कृति हराएकै हो ? अब हाम्रो समयको चाडपर्व, रितिरिवाज कसले जोगाउने ?
मेरी हजुरआमा ‘मन कुमारी ढकाल’ का अनुसार तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण गर्न नसकिएपनिं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । पहिले मोटर÷गाडी बाटोको सुविधा थिएन । जसको कारण चेली वर्षमा एक पटक मात्रै तीजमा माइता जाने गर्थे र घरमा जे–जे छ (तामा, घिराउला, फर्सी, बोढी, लट्टे, खिर) पकाएर आमाले आफूनो माया, ममता मिसाएर दिनु हुन्थ्यो । तर, अहिले सबै हरायो ।
पहिले दर तीजको अघिल्लो रात राती उठेर खाने गरेपनि अहिले एक महिनै देखि दर खाने भन्दै हिड्ने गर्छन् । त्यो समय वर्षमा एक जोर कपडा किन्न पनि हामीलाई मुस्क्लि थियो । अहिले आज लगाएको कपडा भोलि लगाउँदैन्न । दिन दिनै फेर्ने गर्छन् । एउटै कपडा दोहोराएर लगाउँदा इज्ज्त जान्छ रे ! जसको कारण धनीलाई त केही असर नहोला तर, आर्थीक पाटो बलियो नभएकालाई निकै कठिन हुने गर्छ । उक्त समय हामीले गाउने तीज गीतमा नारीका वर्षैका कथा, बेदना समेटिन्थ्यो, मादल बजाएर चैतारीमा जम्मा भएर नाचिन्थ्यो ।
यस्ता थिए हाम्रो समयको गीत :
दशै महिना कोखमा लिई पदौ गरिन आमाले,
कहिले छोरी ठुली होली भने बाबाले ।।
दुवै जना मानिस बाबासँग बोलेका,
हाम्रा बाबा निस्ठुरीले पौसा मोलेका ।।
दुई हजार रुपयाँमा छोरी किन्न पाइएको,
हाम्रा बाबा निस्ठुरेलाई पैसा चाहिएको ।।
सबैले ल्याए चेली र बेटी तीजको दिनलाई निर जाले हो, तिजको दिनलाई,
हाम्रीनी छोरी आतिई होली, जानुस भो लिनलाई निर जाले हो, जानुस भो लिनलाई ।।
तर, ‘अहिले यस्ता सबै गीतहरु हराए । टिभिमा हेरेको केटा पनि सारी लगाएर नाच्न थालेका छन्, तीज गीत पनि रतैली जस्तो भएछ । के जमाना आयो । हर्न पनि लाज लाग्ने ।
अहिलेका तीज गीत :
अहिलेकै सालमा पोइला जान पाम् शिव,
अहिलेकै सालमा पोइला जान पाम् ।।
हामी पनि नाच्नु पर्छ बिच बिचमा,
चर्के पिङ्ग खेलिन्छ रोटे पिङ्ग खेलिन्छ,
नाच्दै गाउँदै सबै जना सेल्फी खिचिन्छ ।।
यसैले म तीज मनाउने शैलीमा आएको परिवर्तनलाई कलियुग भन्छु ।’
त्यस्तै सप्तगण्डकी बहुमुखी क्याम्पसमा समाजशास्त्र प्राध्यापक लक्ष्मी पोख्रेलका अनुसार नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ । विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको छ । पहिले माइता जाने भनेकै तीजमा हो । घर माइता टाडाँ हुन्थ्यो । मोटर बाटोको सुविधा थिएन ।
हिडेर जान पथ्र्यो र त्यसरी हिडेर जाँदा केहीको भिरबाट लडेर, खोलाले बगाएर मृत्यु समेत हुने गथ्यो । उक्त समय नारीलाई पढ्न पठाउने चलन थिएन, सानै उमेरमा विवाहा गर्दिन्थे । जसको कारण चेलीले हजारै दुःख कस्ट भोग्नु पथ्र्यो, नारीलाई दबाएर राख्ने चलन भएकोले वर्षको एक पटक चेली तीजमा आफूनो जन्म घर (माइता) गएर दर खाने दिन आमाले पकाएको मिठो मसिनो खाने, तीजको दिन श्रीमानको दिर्घ जीवको कामना गर्दै वर्त बस्ने र चैतारीमा भेट भएर जीवनका हरेक दुख, कस्ट, भावना गीतको माध्यमबाट पोख्ने चलन थियो ।
तीजमा छोरी चेली आउँछे भनेर गाँउघरमा काँको, अनदीको चामल साचेर राख्ने चलन थियो । तर, अहिले भने मान्छे आधुनिक बन्न खोज्दा सबै परम्परा र चलनहरु हराउँदै गयो । जसको कारण तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेकोे छ ।
शुक्ल तृतीयाका दिनबाट मनाइन तीज पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाने, तीजको दिन व्रत बस्ने चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्थ्यो भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । पहिले यसरी मनाइने तीजमा हाल क्रमिक रुपमा परिवर्तन आएको छ ।
एक महिना देखि पार्टीप्यालेस, होटलमा गएर माछा, मासु, वियर, पुलउ दरमा खाने गर्छन् । जुन स्वास्थ्यको लागि अग्रानीक दर (दुधका परिकार, लटट्, तामाले तरकारी, काँकोको अचार) जस्तो फलदाई हुँदैन । यसका साथै महिनौं अघिदेखि दर खाने–खुवाउने नाममा हुने तडकभडकले पनि यो पर्वको पवित्रता एवम् मूल मर्ममाथि प्रहार भएको देखिन्छ ।
हुनेखाने वर्ग त यस्तो चलनमा रमाउलान्, हुँदा खाने वर्गले पनि देखासिकी गर्न खोज्दा समस्या जटिल हुनसक्छ र अहिलेको मंहगीमा सामान्य रुपमा दर खुवाउँदा पनि २०÷३० हजार खर्च हुने गर्छ । जस्को कारण आर्थिक भार उठाउन निकै कठिन हुने गर्छ । बरु दर खाँदा खर्च हुने पैसाले गरीबलाई खाना खुवाए त धर्म, समाजसेवा हुन्थ्यो ।
तीजमा नारी श्रीमानको लागि वर्त बस्ने प्रचलन यथावत छ र केही परिवर्तन भने पक्के भएको छ । किनभने आज पुरुष नारीलाई सम्मान गर्दै श्रीमतीको लागि वर्त बस्ने गर्छन र यसमा आएको परिर्वतन निकै राम्रो छ । वर्तले लामो आयु भन्दा पनि वर्त बस्ने स्वयम व्यक्तिलाई नै फाइदा हुने गर्छ । धार्मीक विश्वास अनुसार तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ ।
रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । तर, अहिले यसमा पनि भड्किलो पन आएको छ । आज लगाएको कपडा भोलि लगाउँदा इज्जत जान्छ भन्छन् । देखाउनकै लागि भएपनि सुन मंहगो भएर किन्न नसक्दा पनि दुई नम्बरी गहना लगाउँछन् ।
त्यस्तै पछिल्लो समयको युवा पुस्तालाई पहिले मनाइने ऋषिपञ्चमी भनेको के ? दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्ने भनेको के भन्ने नै थाहा छैन् । लगभग ऋषिपञ्चमी पनि हराउँदै गइसक्यो । तीजको व्रत सकिएपछि मनाइने ऋषिपञ्चमीको परम्परागत महत्व भने फरक छ । चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण नारीले यो दिनलाई आफ्ना लागि मनाउँछन् ।
पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जान–अञ्जानमा भए–गरेका मानसिक गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन् ।
तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ । तर, पछिल्लो समय तीज मनाउने शैलीमा आएको परिवर्तहरु हटाउन र संस्कृती जोगाउन विभिन्न टोल सुधरा संस्था, कार्यालय स्कुल कलेजले, वडा लगायतले मौलिक तीज गीत प्रतियोगिता आयोजना गर्नुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ ।
तीजलाई भड्किलो र उत्ताउलो तरिकाले मनाउँनु हुँदैन । तीजलाई परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ । २÷४ वर्ष पहिले एक महिना देखि मनाइने तीज जिल्ला पशासनको नियमका कारण केही रुपमा कम कम भएपनि यसलाई अझै होटलमा नगाइ घरमै सामान्य रुपमा दर खाने÷खुवाउने प्रचलनको विकास गर्नु गर्छ । आधुनिकीकरण र सामाजिक सञ्जालको विकास सँगै मादलको सट्टा टिकटक, फोटो र देखा सिखीमा केन्द्रीत भएको तीजको मैलिक पनलाई अब पढेलेखेका र युवा पुस्ताले जोगाउन आवस्यक छ ।