“तीजको साँस्कृतिक महत्व र यसको प्रभाव”

एटुजेड समाचार

बसुन्धरा गौतम ,

हरितालिका तीज, नाम सुन्ने बित्तिकै कुन चेलीको मनले आफ्नो जन्मघर नसम्झेला र ? अनि कुन परदेशिएका चेलीको मनले घरदेश सम्झी मनमुटु गाँठो पार्दै नभन्ला र, सायद मलाई पनि देशमै रोजगारी मिलेको भए कहाँ आउँथे र यो विरानो मुलुकमा ? हो यही नै त हो तीज, नेपाली नारीहरुको महानपर्व तीज जसले वर्षदिनभरिको मनको वेदना गीतमार्फत प्रस्फुटन गर्न सहज बनाईदिन्छ ।

हरेक महिलाले आफ्नो मनको कुरा वा समस्या सहजै आफ्नो जीवनसाथीसंग राख्न सक्ने अवस्था अहिलेपनि हाम्रो समाजमा सिर्जना भईनसकेको अवस्थामा रुढीवादी सोचले जरा गाढेको पुरातन समयमा त यो झनै सम्भव थिएन । त्यसैले पनि होला सायद वर्षभरि छुट्टी नपाउने घरको कामबाट केही दिनलाई भएपनि छुट्टी लिएर माईतीमा भेला भई गीत संगीतका माध्यमबाट आफ्ना पीडा पोख्ने माध्यमका रुपमा तीज पर्व विकसित भएको पाईन्छ ।

हुन त यस पर्वलाई धार्मिक दृष्टिकोणले फरक प्रसंगले व्याख्या पनि गर्ने गरेको पाईन्छ । धार्मिक किम्बदन्ती अनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बस्नुभएको र उहाँले मनले चिताएको वर महादेव स्वामी पाउनुभएकाले अविवाहित कन्याले यस दिन व्रत बसेमा सुयोग्य वर पाउने भन्ने भनाई पनि छ । यस्तै विवाहित स्त्रीले यस दिन व्रत बसे श्रीमान्को आयु लामो हुने र सन्तानमा आरोग्यता हुने भन्ने जनविश्वास रही आएको छ । धार्मिक रुपमा भगवान शिव पार्वतीको जोडीको प्रेम र अध्यात्मलाई प्राथमिकतामा राखिएको यस पर्वको आफ्नै साँस्कृतिक महत्व रहेको पाईन्छ ।

यस पर्वको एक सवल पक्ष भनेको दाजुभाई र दिदिबहिनीबीचको प्रेम साटासाट गर्नुपनि रहेको छ । वर्षदिनभरि भेट हुन नपाएका चेली र माईतीको सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि यो पर्वले विशेष भूमिका खेल्दछ । माईतीको आँगनीमा जम्मा भई आफ्ना पीर व्यथाका गीतमात्र नभई समाजमा रहेका वेथितिलाई आफ्ना गीतमार्फत प्रस्तुत गर्ने अवसरका रुपमा पनि यस पर्वलाई लिईदै आएको छ ।

यस्तै समाजका विकृतिको अन्त्यका लागि आवाज उठाउने पर्व नै आज विकृत भएको देख्दा भने अलिकति उदेक भने लाग्न थालेको छ । तीज पर्वको अघिल्लो दिनमा माईती तथा आफ्ना नजिकका आफन्तकहाँ जम्मा भई खाईने मीठो मसिनो खानालाई दर भनिन्छ तर आज यही दर खाने प्रचलन अलिकति बढी नै भड्किलो बन्दै जाँदा “हुनेखानेका निम्ति तीज चीज र हुँदा खानेका निम्ति यही पर्व घाँटीमा फसेको हड्डी” सरह बन्न पुगेको छ ।

वर्तमान समयमा देखिएका प्रतिस्पर्धात्मक तीज कार्यक्रम तथा दर खाने कार्यक्रमले धनीलाई त रमाउने वातावरण सिर्जित गर्ला तर गरिवका लागि भने त्यही उनीहरुको अवस्थाको भद्दा मजाक उडाउने र विवशताको प्रचार गर्ने साधन बन्न पुगेको । मैले यति भन्दै गर्दा फेरि मलाई अहिलेको समाजले गलत अर्थ पनि लगाउन सक्ला तर वास्तविकता कसैसंग पनि लुक्न भने सकेको छैन । आफ्नो संस्कृतिलाई रक्षा गर्दै समाजमा सहभाव राख्दै सौहाद्र्धको वातावरणमा हाम्रा मौलिक पर्वहरु मनाउन मेरो आग्रह छ ।

वर्तमान अवस्थामा पर्वहरुमा गरिएका खर्च तथा फेसन, जुन समूहसंग दर खाने हो उनीहरुसंग फरक कपडा तथा गहनाको प्रतिस्पर्धाले समाजमा सकारात्मक सन्देश त पक्कै जाँदैन । त्यसैले समाजमा हाम्रो मौलिक परम्परा अनुसारको पर्व मनाउन जोड दिऔँ ।

हाम्रा मौलिक परम्परामा न कुनै गहनामा होडबाजी थियो त न कुनै कपडा खानपानमा देखावटी नै थियो । कसैको मनमा चोट नपुर्याई सबैलाई आपसमा मिलाएर र एकताको सन्देश छर्दै मनाईन्थ्यो । पहिलाको समयमा यस पर्वको दर खाने परम्परा तिजको अघिल्लो दिनको राति १२ बजेसम्म मात्र खाने चलन थियो तर आजभोलि एक महिना अगाडिदेखि नै तीजको दर खाने प्रवृत्तिको विकास हुँदा भने केही सुधार गर्नुपर्ने देखिन्छ ।

पहिलाको समयमा तीजको दर खान माईती नै चेलीको घरमा गई नबोलाएसम्म दरको सुरुवात नै हुन्थेन तर अहिलेका एक दुई महिना अगाडि खाईने दरले गर्दा दर खाने दिनको विशेषता नै ओझलमा पर्दै गएको पाईन्छ । पहिलेको समयमा चेलीबेटीका लागि माईतीको महत्व र माईतीका लागि चेलीबेटीको महत्व तीजमा जति थियो त्यो आजभोलिको देखावटी तीजका दर खाने समूहले घटाउने पो हो कि भन्ने आशंका पनि धेरैको मनमा उब्जिन थालेको छ ।

तर यस कार्यलाई पनि पूर्ण रुपमै गलत भन्न भने नसकिएको दोधारे अवस्था पनि रहेको छ । किनभने यस्ता कार्यक्रमले माईतीबाट धेरै टाढा रहेका र जान असम्भव रहेका चेली जो विदेशमा हुनुहुन्छ, जसले माईतीको आँगन टेक्न नपाएको धेरै भयो उहाँहरुका लागि भने माईतीको झल्को मेट्ने सकारात्मक भूमिका पनि खेलेको पाईन्छ । यसैकारण, कार्यक्रम गरौँ दर पनि खानलाई खाऔँ तर कुनै गरगहना र कपडाका प्रतिस्पर्धा गर्न नभई साँच्चै तीज मनाउन र संस्कृति जगेर्ना गर्न दर खाऔँ ।

यस्तै अहिलेको बढ्दो सामाजिक संजालको प्रयोग तथा मोबाईल फोनको प्रयोगले चाडपर्व तथा आफन्तको महत्व घटाई केवल त्यसमै सीमित हुने गरेको समेत समाजमा देखिएको छ । यसका लागि आजैदेखि अभिभावकले आफ्ना बालबच्चालाई हाम्रो नैतिक शिक्षा, संस्कार र आचरणका बारेमा बताउन जरुरी समेत देखिन्छ । यस्तै हाम्रा परम्परका बारेमा आफ्ना भविष्यका सन्ततिहरुलाई जानकार बनाउन उनीहरुकै प्यारो साथी मोबाईललाई नै प्रयोग गरी श्रव्य दृश्य माध्यमबाट हाम्रो संस्कृतिबारे सुसुचित समेत गर्न जरुरी देखिन्छ ।

यस्तै उनीहरुलाई हाम्रा संस्कृतिका धरोहर वेद, गीता र रामायण जस्ता पवित्र धार्मिक ग्रन्थहरु पढ्न लगाएर हाम्रो परम्परा र संस्कृतिका बारेमा जानकार गराउन समेत सकिन्छ ।वास्तवमा, हाम्रो परम्परा अनुसार सामान्यतया तीज पर्वको सुरुवात दर खाने दिनदेखि नै भएको मानिन्छ । दर खाने दिनको भोलिपल्ट हरितालिका तीजका दिन दिनभरि पानी पनि नखाई विवाहितले आफ्नो श्रीमान्को सुस्वास्थ्य र दिर्घायुको कामना सहित व्रत बस्दछन् भने कुमारी कन्याले सुयोग्य वरको कामनामा सो व्रत बस्दछन् ।

यस्तै हरितालिका तीज हिन्दु नारीहरुले मनाउने पवित्र पर्व हो । यो पर्व भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म मनाईन्छ । हरितालिका तीजमा भगवान शिवको आराधना गर्नका साथै नाचगान पनि गरिन्छ । हिमालय पुत्रीले महादेव पाउँ भनी बस्नुभएको व्रतको दिन र महादेवलाई पतिका रुपमा पाईसकेपछि उहाँलाई केही कुरामा कष्ट नहोस् भनी बस्नुभएको व्रतको दिन पनि यही हरितालिका तीज नै परेकाले पनि यस पर्वको झनै महत्व रहेको पनि विभिन्न ग्रन्थहरुमा उल्लेख समेत गरिएको छ ।

हरितालिका तीजको अन्तिम दिन ऋषि पञ्चमीका दिनमा हिन्दु धर्म अनुसार मासिक धर्म भएका स्त्रीहरुले आफुले अन्जानवश गरेका गल्ती अर्थात् छुवाछुतको पाप मोचन होस् भनी यस दिन बिहानै नदी तथा तलाउमा गई नुहाउने चलन रहेको छ । यसरी नुहाईसकेपछि विभिन्न स्थानका माटोले स्नान गर्ने, दतिवनले दाँत माझ्ने र चोखो भई पञ्चऋषिको पूजा गर्ने परम्परा पनि रही आएको छ ।

यसरी यस दिनको पूजासंगै तीज पर्वलाई पनि त्यस वर्षको लागि विदा गरिन्छ ।तर यिनै हाम्रा भएका परम्परालाई पनि तोडमोड गरी गलत अर्थ लगाउने गरी कैंयौ दुष्प्रचार पनि गरिदैँ आएको छ । यसरी दुष्प्रचार गरेपनि यस पर्वको साख भने हामीले कायम गरी राख्नु जरुरी छ । विशेषगरी यस पर्वलाई नेपाली हिन्दु नारीको चाड भनेर भनिदैँ आएतापनि यस पर्वलाई अन्य धर्मका महिलाहरुले पनि विशेष महत्वका साथ मनाउने गरेको पाईन्छ । यसै गरी नेपालका अन्य धर्मालम्बीले मात्र नभई भारतका केही प्रान्तका महिलाहरुले समेत यसलाई ( हरियाली तीज ) भनेर मनाउँदै आएको पाईन्छ ।

जसले जे नाम दिएर यस पर्वलाई मनाए पनि यसको मूल मर्ममा असर नपुनेगरी यस पर्वलाई मनाएमा पक्कै पनि हाम्रो मौलिक पर्वको पुस्ता हस्तान्तरणमा गलत सन्देश प्रवाह हुँदैनथ्यो कि ?

यसरी पुस्ता हस्तान्तरणमा सही शिक्षा प्रदान गर्न सके हाम्रा चाडपर्व पुस्तौ पुस्तासम्म जीवन्त रहनेछन् । हाम्रा पर्वहरुले युगौ युगसम्म पनि हाम्रो ईतिहास रच्नेछन् ।

र अन्त्यमा जाँदाजाँदै मेरा केही सुझावहरु, हामी हाम्रो संस्कृतिलाई विकृतिको रुपमा नभई संस्कृतिकै रुपमा मनाऔँ । भोलिका सन्ततिले छि भन्ने होईन आहा भन्ने बनाऔँ। हाम्रा मौलिक पर्वहरु तीज, दशै तिहारलाई आफ्नै मौलिक रुपमा मनाऔँ । आफ्ना मौलिक पर्वलाई अन्य मुलुकका पर्वहरुसंग मिसाई विकासी पर्व नबनाऔँ । हाम्रो दशैलाई दशै नै रहन दिउँ ‘दशहरा’ होईन ।

यस्तै हाम्रो तिहारको विशेषतालाई तिहारकै रुपमा रहन दिउँ न की दिपावलीमा सिमित नगरौँ । यस्तै हाम्रा अन्य पर्वहरु माघेसंक्रन्ति, जनैपूर्णिमा , पुस पन्ध्र लगायत थुप्रै पर्वहरुमा पनि अन्य मुलुकका पर्वहरुको प्रभाव बढ्न थालेको पाईन्छ । यस्तो बढ्दै गएको बाह्य प्रभावलाई आजैदेखि रोक्नु आवश्यक रहेको छ । साथै हाम्रो संस्कृतिमा बाह्य प्रभाव रोक्न केवल एक पक्षको मात्र भूमिका महत्वपूर्ण रहँदैन । यो त सरकार, समाज र व्यक्तिको त्रिकोणात्मक सम्बन्धबाट मात्र सम्भव रहेको छ । अब हामीले यही त्रिकोणत्मक सम्बन्धलाई बलियो बनाई हाम्रो संस्कृतिको धरोहर बलियो बनाउन पो लाग्ने हो कि ?

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू