“तीजको साँस्कृतिक महत्व र यसको प्रभाव”
निरुता गजमेर,
परिचय
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइने यो पर्वको धार्मिक साँस्कृतिक तथा सामाजिक महत्व रहेको छ । जनसङख्याको आधा आकास ओगटेका नेपाली नारीहरुले विगतमा आफ्ना पिडा दुःख गीत संगितको माध्यमबाट पोख्ने, माइती मावली इष्ट मित्रसँग भेट गर्ने, मिठा परिकार खाने चाडको रुपमा लिने गरेको पाइन्छ ।
नेपाली समाज पृती सतात्मक समाज भएकाले पारिवारीक रुपमा नारीलाई विभिन्न अधिकारबाट वञ्चित गरिएको थियो । राज्यका कतिपय कानूनहरु नारी अधिकारका सम्बन्धमा विभेदकारी थियो । परिवार समाज र राज्यबाट अपहेलित भएका महशुस गर्दै नारीहरुले घर, समाज र देशका विकृतीहको बारेमा गीत सँगितको माध्यमबाट घरका आँगन, चौतारी, गल्लीहरु गुञ्यामान गर्ने प्रचलन छ । तीज पर्वको धार्मिक महत्व पनि बेग्लै किसिमको छ ।
तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूले स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि खुसीका साथ मनाउने गरेको हामी देख्न सक्छौ । भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ ।
तीजको धार्मिक पृष्ठभूमि
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न थालिन् ।
यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
सामजिक पृष्ठभुमि
समाज अहिले परिर्वतनशील भएको छ । पहिलाको तुलनामा अहिलेको समाज आधुनिक समाजमापरिणत भएको छ । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि तीज एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।
तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ ।
सामाजिक सद्धभाव, मेलमिलाप एवं समाजका विविध विसङगति र सामाजिक अधिकारलाई उजागर गर्ने विभिन्न प्रकारका पर्वजस्तै तीजको पनि आफनै महत्व रहेको छ । तीजको पनि आफनै मौलिकता रहिआएको छ । यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी÷चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन रहेको छ ।
देशमा प्रजातन्त्र र लोकतन्त्रको समयमा सामाजिक विभेद अन्तका लागि तीजका गित संगितहरुले पनि विभिन्न कालखण्डमा महत्वपुर्ण भूमिका रहेको पाइन्छ । देशमा लोकतन्त्रको स्थापना नयाँ सविधानको जारी गरिएपछिको समयमा नेपाली नारीहरुको थुप्प्र्रै अधिकार सुनिश्चित भएको पाइन्छ । पछिल्ला समयहरुमा तीजलाई धार्मिक साँस्कृतिक पर्व भन्दा पनि मनोरञ्जन पर्वको रुपमा लिइने गरेको पाइन्छ ।
त्यो बेलाको तीज
मलाई बालापनको र गाउँमा बस्दाको सम्झना छ । म सानो छँदाको याद झलझलती सम्झना आउँछ । म र मेरी साथी एघार( बाह्र वर्षको हुँदा तीजको दुई तीन दिन अगाडि देखी कुन सारी लगाउने, चुरा, झुम्का के लगाउने त भन्ने सोचमा हुन्थौं । त्यसपश्चात तीजको अघिल्लो रात आमाले खिर बनाउँनुहुन्थो केरा, दही मिसाएर खिर खान्थौं ।
मेरी आमा, सानीआमा, हजुरआमा, ठूलीआमा पराइको घरबाट माइती आएकी दिदी, बहिनी, फुपूलगायत छिमेकका सम्पूर्ण महिलाहरू एकै ठाउँमा जम्मा भएर घरको आँगनमा तीजका झ्याउरे भाकाहरू गाइन्थो । कोही गीत गाउनुहुन्थ्यो त कोही मादल बजाउनुहुन्थ्यो । कोही छमछमी नाच्नुहुन्थ्यो त कोही थप्पडी बजाउनुहुन्थ्यो । आज भन्दा छ सात वर्ष अघि झ्याउरे गितहरूको प्रभाव र प्रयोग बढ्दो थियो । पहिले नारहिरू मात्र गाउँथे, अहिले त नारी र पुरुषको दोहोरी ब्याटल चल्छ ।
माइतीको घर आँगनमा बसी अल्लो घर पल्लो घरकी साथीसङगीनीसँग तीज गीत गाउने गरिन्थ्यो । ती गीतहरु पनि जीवनमा भएका घटनाका आधारित हुन्थ्यो । तीजका पुराना गीतहरु हेर्दा आजभन्दा ६ वर्ष जति अघि देखिको मात्र सामाजिक परिवेश प्रस्तुत भएको देखिन्छ ।
“ए आमा हो यो तीजमा आइन भनेर
रुदै रुदैगयो मेरो भाइत”
यो गीतमा प्रयोग भएको भाषा पुरानो छ । यहाँ विहे गरेर श्रीमान्को घर गइसकेको छोरी तीजमा माइत जान नपाएाको रोदन सुन्न पाइन्छ । यो पहिले तीजको बेला विभिन्न मन्दिर खेल मैदानमा भेला भएर वर्षौ देखि टुटेका छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन विस्तारै इतिहास बन्न थालेको छ । महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि मुक्ति पाई माइतिसँग समय बिताउने सुख दुःख साट्ने पर्वको रुपमा पनि लिइन्थ्यो ।
तीजको अर्को मौलिक पक्ष भनेको सुख,दुःखर मनको पिडा पोख्ने, गीतहरुमा पनि एउटा छुट्टै संस्कृति बोकेको र गीत कै माध्यमद्वारा सन्देश पनि दिने गरिन्थ्यो ।
अहिलेको तीज
अहिलेको समाज परिर्वतनशील छ । समाज परिर्वतनशीलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिदैन । तीज धार्मिक आस्था र सांस्कृतिक महत्वका साथ मनाइने भएपनि आधुनिकताका नाममा अनावश्यक तडक भडक तीज आउनुभन्दा एक डेढ महिनादेखि पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म दर खाने, ख्वाउने र गरगहना र पोशाकको प्रदर्शन गर्ने चलन चल्न थालेपछि तीज पर्वकोे वास्तविक मौलिकता हराउन थालेको छ ।
गरगहना जोगाउन तीजपछि बैंकको लकरमा उल्टै पैसा तिरेर राख्नुपर्ने अवस्थासमेत सिर्जना भएको हामी हाम्रो समाजमा देख्न सक्छौं । अहिले तीज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको छ । माइतीको घर आँगनबाट क्लब र पार्टी प्यालेसमा, साडीबाट विदेशी लेहेङ्गामा परिणत भएको छ ।
हुँदाखानेले हुँनेखानेको देखासिकी गर्दै ऋण खाजेरै भएपनि कपडा र गर(गहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा धेरै देखिन्छन् । गर(गरहनाहरुको प्रतिस्प्रर्धामा उत्रिएर तीज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउँदै जानेमा पनि पुराना पिढिको तर्क रहेको छ ।
यसरी देखासिकीको रुपले विकृति निम्त्यायो भने गरीव महिलाहरुले यो पर्व मनाउने भन्दा पनि कसरी पर्वछल्ने तर्फ चिन्तित बन्ने देखिन्छ र तीजको समयमा तीजकै भड्किदो प्रवृतिका कारण प्रायस घरमा श्रीमान् श्रीमतीमा झै(झगडा, घरायसी बिमेल र लैंगिक हिंसा हुने गरेको पनि देखिन्छ ।नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा बजारमा आएका गीत नेपाली मौलिक पन, नेपाली संस्कृतिभन्दा फरक तरिकाबाट तोड मोड हुदै नयाँ पन थपिदै आएका छन् ।
“ए नाच्ने हो माया गाउँने हो
कमाउनेनी हो माया रमाउनी हो
कानैमा झुम्का हातै मा चुरा
मनका रहर गर्ने हो पुरा”
“छइननी साइली हाम्रा नी कम्को
घुमाउरो जुगा मेरो प्रियतमको
ओइहोई मेरी बास्सैँ
अरेली काडैले मलाई च्वास्वै च्वास्वै”
यसरी समाजको विकासको क्रमसगै गाइएका तीजका गीतमा अहिले आएर भने देखासिखिले नराम्रो जरा गाडेको छ । स्वतन्त्रका नाउँमा छाडातन्त्रको हावी भएको छ । मानवीय संम्वेदना हराएको छ । प्रविधिको बढ्दो प्रयोग र पश्चिमा संस्कृतिको अनुकरणले तीजलगायत चाडपर्व भड्किलो बनेको र अहिले बजारमा आएका गीत पनि परिवारसँग बसेर सुन्न र हेर्न नमिल्ने खालका हुन थालेको छ ।
तीजलाई परम्परागत र मौलिक रुपमा मनाउन छोडेर विदेशी संस्कारलाई अँगाल्दा संस्कार, संस्कृति र परम्परा मेटिन थालेको छ । यसरी नेपाली नारीहरुको दुःख वेदना पोख्ने,मिठो मसिनो खाने,भगवान्को पुजा आजा गर्ने तीज पर्वलाई जस्को धार्मिक, साँस्कृतिक, मौलिक महत्वलाई आत्मसात गरी मनाउन सकिएन भने यो चार्ड विस्तारै लोप हुने अवस्था आउँछ ।
चाडपर्व आफूसँग जे छ, त्यसैमा रमाउन जान्नुपर्छ, अरुको देखासिकीले क्षणिक रमाइलो त होला तर त्यसको असर धेरै लामो समय पर्नसक्छ, तीजको रमझम त जताततै छ, तर सहरमा बढी विकृति भयो भन्ने गुनासो आउँछ, यो साँचो हो, तर गाउँमा अहिले पनि दिदीबहिनी मादल बजार मौलिक गीत गाउनुहुन्छ । हाम्रा पुराना संस्कार, संस्कृतिलाई युवापुस्ताले ग्रहण गरेर पुरानै शैलीमा मनाउने हो भने युगौँसम्म संस्कृति जीवित रहन्छ, यही हिसाबले गयो भने त भावी पुस्ताले तीज वर्षको महत्व र इतिहास नै थाहा पाउने छैनन् ।
वास्तवमै यो चाड सहीरूपमा मनाइँदै छ त ? हामीले सोच्नेबेला आएको छ । नत्र यसले समाजमा धेरै विकृति र विसङ्गति भित्याउन सक्ने छ । तीज सहरिया र उच्च आर्थिक प्रदर्शन गर्ने माध्यम बन्नु हुँदैन । यसले हाम्रो समाज र नारीमा विभाजन, हिनताबोध ल्याउनु हुँदैन ।
जसले गर्दा कुनै नारीलाई हरेक हप्ता नयाँ पहिरन र गहना किन्न बाध्य नपरोस्, सक्नेले नयाँ पहिरन र गहना प्रदर्शन गर्न सम्भव होला, तर गरिब नारीहरूलाई केयो सम्भव हुन्छ त ? हुनेखानेहरू तडकभडकमा विश्वास गर्छन् । निम्न वर्गका महिलाको लागि यस्ता चाडपर्व एउटा जटिल समस्या बन्दै गइरहेको छ । यिनै विकृतिहरूको कारण जन्मेका समाजमा दण्डहिनता, भ्रष्टाचार, अपराध, बलात्कार र चोरी डकैती नै आजको नेपाली समाजमा चुनौतीकै रूपमा अगाडि आएका छन् ।
यसतर्फ हामी सबैले सोच्ने बेला आएको छ । सभ्य र सहज तीज मनाउँदै भड्किलो तीजबाट हुने दुर्घटनाबाट आफू पनि बचौँ र अरुलाई पनि सचेत गराऔँ ।
तपाइँको प्रतिक्रिया