शान्ता अधिकारी,
साँस्कृतिक, रीतिरीवाज, सामाजिक परिवेश, परम्परा र आपसी सद्भावको हिसाबले नेपाली समाज विश्वमै अनुकरणीय छ । १४२ जातजाति १२४ भाषाभाषि रहेको नेपालमा सयौं चाड र पर्वहरु मनाउने गरिन्छन् । दशैं, तिहार हिन्दु धर्माबलम्बीका मात्र नभएर आम नेपालीको मुख्य चाडको रुपमा स्थापित छन् भने, त्यसपछिको एक महत्वपूर्ण चाड हो हरितालिका तीज ।
तीज पर्वलाई हिन्दु धर्मग्रन्थ शिवपुराणमा हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिएको पाइन्छ । भाद्र शुक्ल तृतीयालाई मुख्य दिन मानेर महादेवको आराधानाको रुपमा लिइने यो पर्व पार्वतीले महादेवलाई पाउन गरिएको कठीन तपस्या सफल भएको दिनलाई मुख्य दिनको रुपमा लिइन्छ ।
तीजलाई अविवाहिताले चिताएको श्रीमान पाउन, विवाहिताले सुख शान्ति वैभव र सन्तानको इच्छा पुरा गर्नको लागि तीजको ब्रत बस्ने गरेको मान्यता रही आएको भएपनि पछिल्लो समयमा तीज बहुआयामिक महत्वको पर्वको रुपमा स्थापित भएको छ ।
राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहले नेपाललाई ‘चार जात छत्तिस वर्णको साझा फुलबारी’को संज्ञा दिएका थिए । नेपालको राष्ट्रिय गानमा समेत ‘बहुल जाती भाषा धर्म संस्कृति’ को विषय जोडिएको छ । राष्ट्रिय जनगणना २०७८ लाई आधार मान्दा साच्चै नै नेपाल १४२ जातजाति र १२४ मातृ भाषिको साझा घर हो ।
नेपालमा जाति विशेषले मनाउने धेरै चाड पर्व मध्ये हिन्दु नारीको महान पर्व हो तीज । हिन्दु परंपरा अनुसार मनाइने दशैं, तिहार मात्र होइन तीज समेत यतिवेला सबै जात जातिको साझा पर्वको रुपमा स्थापित भइसकेको छ । महिलाले मात्र मनाउने यस पर्वमा पुरुषको प्रवेश समेत शुरु भइसकेको छ । तथ्याँककै आधारमा भन्न नसकिएला तर, तीज नेपालभर मनाइने दशैं, तिहार पछि रमाइलोको दृष्टिकोणले तेस्रो ठूलो चाडमा स्थापित भइसकेको छ भन्दा अत्युक्ति नपर्ला ।
तीज इतिहास र वर्तमान :
तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड र खुशीयालीको पर्व हो । नेपाली हिन्दु महिलाद्घारा स्वतन्त्र र आनन्दमय पर्वका रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन । यो पर्व मुख्य रुपले नेपालभर मनाइन्छ भने भारतका केही प्रान्तहरुमा पनि मनाइन्छ ।
हिन्दुग्रन्थ शिवपुराणमा तीज र यसको महत्वको विषय उल्लेख छ । उक्त पुराणमा हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ र यो विशेष दिनमा शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जनसमेत गरिन्छ । तीजलाई भने हरितालिका तीजको नामले पनि चिनिन्छ ।
परापूर्वकाल देखि मनाइदै आएको तीज विशेष गरि महिलाहरुको लागि वर्षको एक दिन खुल्ला वातारणमा रम्ने पर्वको रुपमा लिइन्छ । तीजको अवसरमा कर्मघर बाट जन्मघर आउने र मिठो मसिनो खाने दाजु भाईसंग भलाकुसारी गर्ने मान्यता रही आएको छ ।
पूर्वीय मान्यता अनुसार सृष्टि र समाज सञ्चालनको लागि विवाह पश्चात महिलाले जन्मघर छोेडेर श्रीमानको साथमा जीवन बिताउँछन् । जन्म घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरकोरुपमा तीज पर्वलाई लिन सकिन्छ ।
तीज अपरिचित ठाउँको वर्षभरीको जिम्मेवारी, तनाव र जन्म घर र बालासखीप्रतिको सम्झनालाई पूनर्ताजगी गर्ने अवसर हो । बालपन वितेको उक्त ठाउँ चेलीहरुको लागि अपनत्व कायम गर्न महत्वपूर्ण मानिन्छ ।
हिमालय पुत्री पार्वतीले महादेव पति पाउन गरेको १०८ वर्षे तपस्या, महादेवसंगको उनको प्रेम र विद्रोहसंग तीज पर्व जोडिएको छ । त्यसैले पनि तीजको बहुआयामिक महत्व छ । जुन बेला देशमा निरकुंश पञ्चायती शासनकाल थियो त्यो बखत गाईजात्राको एक दिन राजनीतिमा भएका गल्तीलाई हास्यव्याङ्गको रुपमा प्रस्तुत गरिन्थ्यो ।
ठीक त्यस्तै तीज महिलाहरु माथि हुने गरेका दमन चाहे त्यो घरायसी किन नहोस त्यसको प्रतिरोधको स्वरुप थियो । तीज साँस्कृतिक पर्व त हो नै, त्यो भन्दा पनि गीत र नृत्यको माध्यमबाट राजनीतिक हलचल ल्याउने एउटा अस्त्रको रुपमा प्रयोग गरिन्थ्यो । अझै हरितालिकाको मुख्य दिन पशुपतिनाथ मन्दिर परिसरलगायत देशभरका देवस्थल र बजार अनि चोकचोकहरु महिलाहरुले तत्कालीन सत्ता विरुद्ध तीजको गीतको माध्यमले अन्तरह्रदयको पीडा पोख्दथे ।
नेपालमा बहुदलीय व्यवस्था आगमन पछि तीजको साँस्कृतिक पक्ष हराउँदै राजनीतिक पक्ष मौलाउँदै आएको थियो । पछिल्ला दिनहरुका तीजको साँस्कृतिक र राजनीतिक दुवै पक्ष विस्तारै लोप हुदै तीजको नाममा विकृति मौलाउन थालेको छ । हिजो घन्कने तीजको भाका घन्कन छोडेको छन । महिला मात्रले गाउने तीज गीत र नृत्यमा पुरुषको सहभागीता शुरु भएको छ ।
तीज कहिले, कसरी र किन मनाइन्छ ?
तीज भाद्र शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । सामान्यतया नेपालबाट मनसुन बाहिरिँदै गरेको अवस्थामा पर्ने तीजले मनसुनको बिदाई र शरदको पनि स्वागत गर्दछ ।
तीजको पहिलो दिन भाद्र शुक्ल द्वितीया लाई दर खाने दिन भनिन्छ । यो चाडमा माइतीले छोरीचेलीलाई घरमा गइ लिएर आउने वा बोलाएर मिठा–मिठा परिकार खुवाउने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । यस दिन विशेष दर खाने गरिन्छ ।
यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ र दरमा ठाउँअनुसार विभिन्न मिठा–मिठा परिकार साथै खीर, सेलरोटी, केरा, ढकने लगायतका खाना, फलफुल खाने चलन छ ।
तीजको दोस्रो दिनलाई व्रत बस्ने दिन भनिन्छ । यो हरितालिका तीजको महत्वपूर्ण दिन हो । यस दिन अविवाहिताले आफूले चाहे जस्तो सुयोग्य वरको आशा राख्छन भने, विवाहिता महिलाहरु आफ्ना पति तथा घरपरिवारको सुख शान्तिको र दीर्घायुको कामना गर्दै व्रत बस्छन ।
अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन भन्ने मान्यता चलिआएको छ । नेपालकै कतिपय क्षेत्रमा भने महिलाले माइती घरमा व्रत बस्छन भने पुरुषहरुलेसमेत यो दिन केही नखाई व्रत बस्ने प्रचलन समेत रहेको छ । व्रतको समयमा महिलाहरुले तीजको व्रतकथा सुन्ने चलन छ ।
तीजको तेस्रो दिन, अन्तिम दिनमा अर्थात ऋषि पञ्चमीको पूजाको तयारीका लागि वित्छ । तर अधिकाँश समयमा तिथि मितिले तेस्रो दिननै ऋषि पञ्चमी पर्ने गर्दछ । ऋषि पञ्चमी सप्तऋषिको परम्परागत पुजा गर्ने र व्रर्त समापन गर्ने दिन हो ।
ऋषि पञ्चमीको दिन बिहान सवेरै पवित्र नदी, पोखरी, पानी पँधेरो वा अन्य जलासयमा पुगेर स्नान गर्ने, ३६५ दतिवनका डाँठले दाँत माझ्ने र माटोले शरीरका विभिन्न अंगहरुलाई शुद्ध गर्ने प्रचलन छ । मान्यता अनुसार मानिसको पाउ नपरेको स्थान तुलसीको मोठको माटोले निधार क्षेत्र, अमलाको बोटको जरा क्षेत्रको माटोले कुम पाखुरा, गर्धन जस्ता जोर्नी अंगहरु र हलोले जोतेको माटोले कम्मर भन्दा तलको शरीर लाई शुद्ध गर्ने प्रचलन छ ।
अनि वर्ष भरीको गणना गरेर आफ्नो १२ औला बराबर लामो (कसैकसैले एक आँख्ला देखि अर्को आख्ला सम्मको भाग) दत्तिवनको डाँठले दाँत माझे जस्तो गरि खोलामा बगाउने प्रचलन छ । तर, यो प्रचलन पछिल्लो समयमा अनुशरण गरेको पाइँदैन् । कतिपय युवतीहरु यो विषयमा जानकार समेत छैनन् ।
भाद्र शुक्ल द्वितीया अर्थात दरखाने दिन बाट शुरु हुने तीज पर्व पञ्चमीको दिन सप्तऋषिको पूजासंगै समापन भएको मानिन्छ । तर माश्रिक श्राब शुरु भएपछि शुरु हुने तीजको व्रत र पूजाको आरम्भ मासिक धर्म बन्द भएपछि आफ्नो नजिकको छोरी बुहारीलाई दियो हस्तान्तरण पछि पुरा हुने प्रचलन छ । तीजमा गरिने कतिपय धार्मिक कर्म नजान्दा नजान्दै मासिक धर्म भएको बखत गरिएको गल्तीमा क्षमा याचना गर्ने समेतको विषय समेटिएको छ ।
पछिल्लो समय मासिक धर्म महिलाको नियमित प्रकृया हो भनेर यसको अशुद्धता र पापका कुरा गर्न छाडिएको छ । आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी साथै माइतीको सम्झना र पवित्र सम्बन्धसेतुका रुपमा यो पर्वको ठुलो भूमिका रहेको छ ।
तीजको नाममा भित्रिएको विकृति :
हिन्दु नारीहरुले आस्था र विश्वासको साथ मनाउने तीज यतिवेला सबै जातजाती धर्माबलम्बीहरुको साझा चाड बन्नु सुखद पक्ष हो । त्यस बखत वर्षभरी मन भित्र गुम्सिएर प्रष्फुटन हुन नसकेका पीडा गीतको माध्यमबाट बाहिरिन्थ्यो । भगवान प्रतिको आस्था र विश्वासका गीतहरुले स्थान पाउँथे तर, अहिले यी र यस्ता प्रकारका गीतहरु ओझेलमा परेका छन् ।
व्रर्तको दिन निराहार, निर्जला (पानीसमेत नपिई) व्रत बस्नको लागि अघिल्लो रात अवेरसम्म चोखो मिठो विभिन्न परिकारले आँत द¥हो बनाउन दर खाने प्रचलनमा पनि विकृति भित्रिएको छ । दरको नाममा माछा, मासुसंगै तामसी भोजन ग्रहण गर्ने गरिएको छ । दर खान दरखाने दिन कुर्नु पदैन, तीज शुरु हुनुभन्दा धेरै अगाडि देखि पार्टी प्यालेस र होटलहरुमा दरको नाममा अनावस्यक खर्च गर्ने प्रवृति बढेको छ ।
संस्कार संस्कृतिलाई तिलाञ्जली दिंदै रत्यौलीमा पस्कने भद्दा प्रकृतिका छाडा माया र पिरतीका गीतहरुले प्रत्सय पाउन थालेको छ । पछिल्लो समयमा तीज मनाउने संख्या बढे पनि यसले समाजमा सकारात्मक सन्देश दिन सकिरहेको छैन् ।
पार्टी प्यालेस र होटलमा मनाउने र छाडा संस्कारका गीत र नृत्यले तीजको वास्तविक संस्कृतिलाई गिज्याइरहेको छ । तीज हुनेखानेहरुको लागि मात्रको पर्वहो भन्ने संकेत गरेको छ । पछिल्लो समयमा भित्रिएको यस्तो क्रियाकलापले हिन्दु महिलाको पूर्वीय साँकृतिक पर्व तीज र यसको साँस्कृतिक महत्वलाई सकारात्मक सन्देश दिन सकिरहेको छैन् ।
सारंश :
तीज हिन्दु नारीहरुको महान पर्व हो । पूर्वीय दर्शनमा यसको एतिहासिक र धार्मिक महत्व छ । पछिल्लो समयमा नेपालमा तीज सबै नेपालीको साझा पर्वको रुपमा स्थापित हुन थालेको छ । महिला मात्रको यो चाडमा पुरुषहरुको समेत सहभागीतालगायतका विषय सकारात्मक छन् । यसको प्रभाव बढेको छ ।
इतिहासमा तीज लाई जे जसरी मनाइन्थ्यो । समय सान्दर्भिक यसमा परिवर्तन हुनु स्वभाविक छ । मासिक धर्म छुवाछुतका विषयमा जुन किसिमको अवैज्ञानिक र अप्रमाणित बुझाई थिए, त्यस्ता अन्धविश्वासका विषयहरु वैज्ञानिक मूल्य मान्यता अनुसार समय सापेक्ष पविर्तन गरिनु पर्दछ । पछिल्लो समयमा तीजको दरखाने नाममा महिनौ देखि पार्टी प्यालेस र होटल बुकिङ गर्ने परिपार्टीले दरखाने परंपरालाई मात्र गिज्याएको छैन ।
तीज हुनेखानेहरुको मात्र पर्व हो भन्ने संकेत गरेको छ । छाडा प्रकृतिका तीज गीत र तीज गीतको नाममा छायाँकन गरिएका दृस्य परिवारसंगै बसेर हेर्न समेत लाज लाग्ने अवस्थामा पुग्नु दुखदायी छ । यसले तीजको साँस्कृतिक महत्वलाई गिज्याई रहेको छ । त्यसैले, तीजको साँस्कृतिक महत्वलाई अझ सुदृढ गर्दै तीजलाई नेपाली नारीको महान पर्वको रुपमा स्थापित गर्न आवस्यक छ ।
सन्दर्भ सामाग्रीहरु :
१, नेपालको संविधान २०७२
२, राष्ट्रिय जनगणना २०७८
३, तीज सम्बन्धी विभिन्न धार्मिका मान्यता र जनश्रुतीहरु
र विभिन्न अनलाईन सामाग्रीमा प्रकाशित प्रशारित सामाग्रीहरु