“तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ”
सुजिता हमाल,
नेपाल धार्मिक, सांस्कृतिक, भौगोलिक एवं ऐतिहासिक विविधताले भरिपूर्ण मुलुक हो । प्राकृतिक विविधता कारण विश्वकै सुन्दर मानिने देश नेपाललाई विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा बिराजमान बहुल जाति, भाषा, धर्म, संस्कार र संस्कृतिले गर्दा झन् धेरै जजल्यमान तुल्याएको छ । बुद्ध र सगरमाथाको देशका रूपमा स्थापित नेपाल विश्व रंगमञ्चमा विविध पहिचनसहित उभिएको पनि छ ।
देशको अमूल्य सम्पत्तिहरूमध्ये चाडपर्व पनि एक हो । आवरणमा हेर्दा चाडपर्व कुनै निश्चित समुदायले हर्षोउल्लास गर्ने मौका वा अवसरको रूपमा अथ्र्याउन सकिन्छ तर अन्तर्वस्तुको दृष्टिले हेर्दा चाडपर्व संसारमा प्रत्येक राष्ट्रका नागरिकको राष्ट्रिय अस्तित्वबोध गराउने शसक्त माध्यम पनि हो । उक्त मुलुकभित्र बसोबास गर्ने नागरिकका निम्ति ऐतिहासिक पहिचान, सांस्कृतिक एकता एवं सामाजिक सद्भाव र वैभव बोकका चाडपर्वले राष्ट्रको सुगन्ध, संस्कृति र जीवनशैलीको प्रतिनिधित्व गर्दछ ।
बहुसांस्कृतिक समाजमा समुदायअनुसार जीवनपद्धतिमा विविधता हुन्छन् । जीवन पद्धतिमा हुने विविधताले विभिन्न धार्मिक, सांस्कृतिक समुदायले मानि आएका संस्कार रीति, सामाजिक नियम र जीवनपद्धति कालान्तरमा उनीहरूको चाडपर्वका रूपमा विकसित हुन पुग्दछन् । तसर्थ, चाडपर्व रीतिस्थिति कसरी मनाइन्छ भन्ने कुरा समुदायको इतिहास, उत्पत्ति, बसोवास, सामाजिक, आर्थिक अवस्था र तत्कालीन समाजको चेतनास्तरले निर्धारण गर्ने गर्दछ ।
नेपालको भूगोलभित्र मनाइने धेरै चाडपर्वमध्ये हिन्दु महिलाहरूले आफ्नो मुख्य चाडको रूपमा हरितालिका तीजलाई लिने गर्दछन् । हिन्दु धर्मावलम्बी नारीहरूले मनाउने हरितालिका तीज नेपाली समाजमा परापूर्वकालदेखि नै मनाउँदै आएको पाइन्छ । तीज पर्वलाई विशेष गरेर महिला दिदीबहिनीहरू माइती आउने तथा एकै ठाउँमा भेट भएर आफ्ना दुःख सुखका कुराहरू एक आपसमा साट्ने गरेको पाइन्छ। तीज पर्वमा गाइने गीतमा विशेषगरि महिला मुक्तिका स्वरहरू अभिव्यक्त हुने गरेका छन् ।
तीजको ऐतिहासिक पृष्ठभूमि हेर्दा नेपालको हिमालय पर्वत श्रृङ्खला वरपरको बस्तीबाट (अहिलेको महाभारत पर्वत श्रृङ्खला नजिकबाट) महिलाहरूले तीज पर्व मनाउन प्रारम्भ गरेको पाइन्छ । हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । नेपालको अधिकांश क्षेत्रहरू तथा भारतका केही स्थानहरूमा मनाउने यो पर्व सोही तिथिदेखि मनाउन थालेको धार्मिक एवं सामाजिक मान्यता छ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनलाई तीज भन्ने गरिन्छ तथापि बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औँशीको दिन बुबाको मुख हेर्न चेलीबेटी माइतीघर आएपछि आधिकारिक रूपमा तीज पर्व सुरू हुने गर्दछ ।विवाहित नारीहरूले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहित युवतीहरूले सुयोग्य पति पाऊँ भनेर तीजमा पानी पनि नखाई व्रत बस्ने गर्दछन् । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पूजा आराधनापश्चात फलफूल ग्रहण गर्दछन् ।
सामाजिक यथार्थवादी दृष्टिकोणबाट हेर्दा महाभारत पर्वत श्रृङ्खलाको आसपासमा बस्ने समुदायको मुख्य पेशा सुरुदेखि नै निर्वाहमुखी कृषि रहेको पाइन्छ भने सामाजिक संरचना संकिर्ण पुरुषत्वको दबदबा रहेको हिन्दु समाजको रूपमा रहेको बुझ्न् सकिन्छ। माथि उल्लेखित परिवेशमा टेकेर के भन्न सकिन्छ भने पहिले–पहिले गाउँघरमा मीठो खान चाडवाड नै कुर्नुपथ्र्यो । शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको हो ।
‘दर’ शब्दको शाब्दिक अर्थ हेर्दा दहीमा काँक्रोको टुक्रा मिसाएपछि बन्ने खानेकुरा हो । दरको रूपमा खानेकुराको विश्लेषण गर्दा भोलिपल्ट निराहार ब्रत बस्नुपर्ने भएकोले भाद्र शुक्ल तृतीयाको अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाने खुवाउने चलन चलेको हो । महिलाहरू आत्मनिर्भर तथा स्वावलम्बी बन्दै गएको पछिल्लो परिपेक्ष्यमा दरका रूपमा तीजको अघिल्लो दिन माछा, मासु, फलफूल दूध अन्डा, खीर, पनिर आदि आ–आफ्ना रोजाइ अनुसारका मिष्ठान्न भोजन गर्ने प्रचलन बढ्दै जान थालेको छ। तीज पर्वमा स्वास्थ्यलाई ख्याल राखेर स्वस्थ र मिसावट नगरिएको खाने कुरालाई दरको रूपमा प्रयोग गर्नुपर्छ।
समाजको आर्थिक अवस्थामा सुधारसँगै महिलाहरूमा आएको राजनीतिक चेतनाले बिरालो छोपेर श्रद्धा गर्ने प्रचलन हट्दै गएको छ। हिजोआज तीजको अवसरलाई प्रयोग गर्दै महिलाहरू चेतनामूलक कार्यक्रमको आयोजना, विभिन्न भेला, बैठकसँगै भोजभतेरको आयोजना गरेर पुरातनवादी पुरुषसत्तालाई चुनौती दिन थालेको देख्न सकिन्छ ।
समाज विकासको नियमअनुसार विकास विकृतिसँगै लिएर आउँछ भनेझैँ तीज पर्वमा आएको परिवर्तनले हजारौं सकारात्मक संकेत गरेता पनि केही समस्या र नकारात्मक चुनौती खडा गरेको छ । हरेक समुदायमा समस्या हुन्छन् तिनको समाधान खोज्नुपर्दछ। न कि एउटा सम्प्रदायको मूल्य मान्यता अर्को समुदायमाथि लाद्न खोज्ने वा एउटाले अर्कोलाई दवाउन खोज्नु हुँदैन । हाम्रो समाजमा तीज पर्वसँग केही मान्यताहरू स्थापित भएका छन्। तीज पर्वलाई नारीहरूले धार्मिक पक्षको मान्यतालाई आत्मसात् गर्दै नारी स्वतन्त्रा र हकअधिकारको निमित्त आवाज बुलन्द पार्ने अवसरका रूपमा लिन थालेका छन् ।
साथै समाजमा देखिएको बेथिति भ्रष्टाचार, अन्याय, बलात्कार, नेता र उच्च पदमा बस्ने व्यक्तिहरूको व्यवहार आदि विषयमा कतै व्यंग्यात्मक त कतै आक्रामक रूपमा गीतमार्फत् व्यक्त हुन थालेका छन् । यसले तीज पर्वलाई बहुआयमिक महत्वका साथ स्थापित गर्न सहयोग पु¥याएको छ भन्न सकिन्छ ।
सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्न मुख्य भूमिका खेलेको छ । साथै यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा दिएर यसको प्रभावकारितालाई उत्कर्षमा पु¥याएको पाइन्छ।
नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रूपमा तीजको विशेष महत्व छ । नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको छ । चाडपर्वमा आउने परिवर्तन, रूपान्तरण, समाज विकासका संवाहक र राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । चाडपर्वहरुको गुणात्मक र सङ्ख्यात्मक विकासले पर्यटनमार्फत् देशको आर्थिक विकासमा टेवा पुग्छ ।
वर्तमानमा देशको परिवेश हेर्दा युवाहरूको ठूलो हिस्सा रोजगारीको सिलसिलामा विदेसिन बाध्य छन् । बाँकी रहेका युवाहरू पनि कहिलेसम्म स्वदेशमै बस्ने भन्ने कुनै स्पष्ट जवाफ छैन । यस्तो अवस्थामा चाडपर्वको आधुनिकीकरण र व्यापकताले स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्छ । तसर्थ, यस्ता पर्वहरूलाई सामाजिक सद्भाव र एकताका साथै आत्मनिर्भरताका उपायहरू खोज्ने एउटा सामूहिक माध्यमका रूपमा समेत विकसित गर्न सकिन्छ ।
तीजको गीतमा आफ्नै शव्द, लय तथा नाच रहेको छ । तीजमा विवाहित चेलीहरू रातै पहेलै भएर माइत जाने, एक दिन भने पनि माइतीसँगै बसेर मीठो मसिनो खाने, घरको पीर, वेदना र आफूमाथिका अत्याचारहरूलाई गीतका माध्यमबाट पस्कने, समाजमा व्याप्त विकृति विसङ्गतिको सोहीअनुरूप भण्डाफोर गर्ने, नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउँछ ।ऐतिहासिक दृष्टिकोणबाट हेर्दा जतिबेलाबाट तीज पर्वको आरम्भ भयो, त्यो बेलाको समाजमा रजश्वला हुनुपूर्व नै छोरीहरूको कन्यादान दिनुपर्छ भन्ने मान्यता थियो ।
बाल्यकालमै विवाह गरेपछि उनीहरू श्रीमानको घरमा जान्थे। पितृसत्तात्मक समाजमा बुहारीहरूलाई हेर्ने दृष्टिकोण फराकिलो थिएन, उनीहरूले अनेकौं दुखदर्दका साथ जीवन व्यतित गर्नुपर्दथ्यो । कन्यादानको बेला ‘‘मारे पाप पाले पुण्य’’ भन्ने युक्ति आजपर्यन्त अद्यावधिक छ । जसको अर्थ हो, ‘‘कन्यादान दिएपछि महिलाहरूको हत्या गरिए पाप लाग्छ, तर कानुन लाग्दैन । त्यस्तो सामाजिक पृष्ठभूमि र परिस्थितिका बीच तीज पर्व आफ्ना दुख बिसाउने सामूहिक चौतारी थियो ।
समाजमा आएको गुणात्मक परिवर्तनसँगै तीज पर्वको महत्व, पर्व मनाउने तौरतरिकामा पनि नयाँपन आएको छ । महिला मुक्तिको प्रश्न सामाजिक मुद्दा बनेको छ, विश्वका संविधानमध्ये महिला अधिकारको क्षेत्रमा नेपालको संविधान प्रगतिशील चरित्रको नै छ । यसले धेरै अधिकारहरू सुरक्षित गरेको छ । तर, राजनीतिमा आएको परिवर्तन र संविधान एवं कानुनहरू लिपिवद्ध प्रावधानअनुसार सामाजिक संरचना र सोंचमा परिवर्तन आउन सकेको छैन । महिला सहभागिता बढ्दै गए पनि अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्वका लागि संघर्षलाई नयाँ ढंगले उठाउनुपर्ने कार्यभार नेपाली समाजसामु छ ।
तीज पर्वमा भावना पोख्ने पस्कने शैलीहरू फेरिएका छन् । तीजमा सबैले राम्रा–राम्रा महँगा गरगहना लत्ताकपडा पहिरिने, निकै महङ्गा ब्राण्डेड पेय पदार्थ (रक्सी) का साथमा भव्य पार्टी प्यालेस बुक गरेर महिनौं अगाडिदेखि लाइन लागेर दर खाने खुवाउनेसम्म चलन बनिसकेको छ।
तीज भड्किदो हुँदा घरायसी झैँझगडा र लैंगिक हिंसा हुने गरेको पनि देखिन्छ । तीजको पर्वलाई हुनेखाने र हुँदा खाने दुवै वर्गको साझा बनाउनु हामी सबैको कर्तव्य हो । तर, तीज पर्वमा मात्रै विकृति भित्रिएको र अरू पर्व एवं सामाजिक मान्यताहरू परिशुद्ध छन् भन्ने तर्क पनि सही होइन। महिलाले तीजमा जाँडरक्सी र भड्किलो जीवनशैली प्रस्तुत गर्दा त्यसको अत्यन्तै धेरै विरोध र आलोचना गर्ने समाजले पुरूषले दैनिक रूपमा यस्ता व्यवहारहरू गर्दा सहजै पचाइरहेको छ, स्वाभाविक ठानिरहेको छ, समानताको वकालत गर्नेहरूले यसमाथि गम्भीर विमर्श गर्न आवश्यक छ ।
हरितालिका तीजलगायतका हाम्रा चाडपर्वहरू मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचो छ । समयको परिवर्तनसँगै चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन त आउँछ नै, त्यसलाई अन्यथा लिनुहुँदैन । तर, परिवर्तनको नाउँमा कुनै पनि चाडको मूल संस्कृतिलाई नै प्रहार गर्ने गरी गरिने गतिविधिमा भने नियन्त्रण हुनैपर्छ । तसर्थ, हरेक पर्वलाई बदलिँदो समाजको वास्तविक धरातलसँग मेल खानेगरि परिमार्जन गर्नु साझा सामूहिक उत्तरदायित्व हो ।
तीज आ–आफ्नो हैसियत र रीतिरिवाज अनुसार सहभागी हुने पर्व हो । यसलाई शभ्य र शिष्ट बनाउँदै जानुपर्छ भनेर सचेतना जगाउँदै तडकभडक र भड्किलो हुनबाट जोगाउनु अनि एक नियमित पर्वका रूपमा बुझ्नु बुझाउनु अनिवार्य कर्तव्य बनेको छ । अनि मात्र हाम्रो ऐतिहासिकता र पर्वको आत्मीय पक्षलाई जीवित राख्न सहयोग गर्दछ। तीज पर्व हिन्दु नारीहरू स्वतन्त्र आत्मनिर्भर तथा स्वावलम्बी भएर बाँच्न सिकाउने पर्वको रूपमा विकास गर्न सबैले पहल गरून्, हिन्दु नारी लगायत समस्त नेपालीहरूमा तीज पर्वको हार्दिक शुभकामना।
तपाइँको प्रतिक्रिया