विष्णु गौतम,
तीज भन्ने वित्तिकै हाम्रो मन मस्तिष्कमा रंगीचंगी, नाचगान,विभिन्न परिकार, दिदीबहिनीको भेट, खुसियालीको पल भन्ने दृश्य झल्किन्छ। हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । तीजलाई नेपाली महिलाहरुको महान चाड हरितालिका तीज पनि भन्ने गरिन्छ।
आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइ घरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।
तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघ रको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । यो चाडमा माइतीले (बाबु आमा,दाजु /भाइ) छोरीचेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने र बस्ने चलन छ ।
यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ ।आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती अबेरसम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन्।
यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गर्दछन् । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्ह मै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन ।
पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा बर्णन भए बमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको बिबाह भगवान बिष्णु संग गरिदिने निधो गरे पश्चात साथीहरूले हरेर सखीहरूको सहयोगमा बिकट स्थानमा पुर्याए र त्यही गौरी (पार्वती )ले कठोर तपस्या गरिन र उनको तपस्याबाट महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथी हस्ता नक्षत्रका दिन स्वयं प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशिर्वाद दिएर तपस्या सफल तुल्याई दिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाउंदै आएको पाईन्छ ।
सखीहरू (आलीका) बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ।त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन्।सामाजिक सद्भाव,मेलमिलाप एवं समाजका विविध विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्बको रूपमा हजारौं हजार वर्ष देखि यो चाड मनाईदै आएको छ।
स्वयं माता पार्वतीले पनि नारी जातीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध अधिकारलाई ब्यबहारीक रूपमा स्थापित गराउन तपस्या, शान्ति पूर्ण आन्दोलन गरेर आफु अनुकूल वर छानि ब्यबहारीक रूपमा समाजमा स्थापित गरेको देखिन्छ । यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको उजागर गर्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं ।
यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै आएको छ। आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ।श्रद्धा पूर्बक श्रद्धालुहरू ब्रत बस्ने।शिव पार्वतीको आरधना एवं पूजा गर्ने।शिव पार्वती का मठ मन्दिरहरूमा दर्शन, पूजा तथा नाचगान गर्ने गरिन्छ । यसै गरि पञ्चमीका दिन ब्रत बस्ने, सप्तऋषिका पूजा गर्ने गरिन्छ। यसै प्रकार तीजको तात्विक महत्व पनि त्यतिकै छ।
अब अहिलेको तीजको जटिल रूपमा कुरा गरौं । छोरी बिहे गरेर जहाँ पुगेकी भए पनि बाबु आमा र अन्य आफन्तसंग भेट्न अर्को तीज कुर्नु पर्ने अवस्था छैन । सूचना र सञ्चार प्रविधिको विकासले छिन्छिनमा परिवारका सदस्यहरुसंग प्रत्यक्ष कुराकानी गर्न सकिने भएको छ । भिडियो कलिङ मार्फत देखादेख पनि गर्न सकिन्छ । अझै अत्यास लागे यातायातका साधन छँदैछन् , तिनले केही घण्टामै माइती घर पु¥याइदिन्छ ।
अहिले पहिला जस्तो सामूहिक परिवारको चलन पनि कमै छ । त्यसैले नन्द–अमाजुको चित्त बुझाउनु पर्ने अवस्था पनि रहेन अनि अहिलेका सासु–बुहारी, नन्द–भाउजु तथा अमाजु–बुहारी बीचको सम्बन्ध पहिले जस्तो तिक्ततापूर्ण हुन छाडेको छ । सासुले बुहारीलाई छोरी र नन्द– आमजुले दिदी–बहिनी सरह व्यवहार गर्न सुरु भैसकेको छ ।
बाल्यकालका दामली भेट्न र सुख–दुःख साट्न अनि बाल्यकालका स्मरणहरु ताजा बनाउनु पनि अब माइती घर वा गाउँ नै आउनुपर्ने अवस्था छैन । त्यसैले पहिलेको तीज र अहिलेको तीजमा भिन्नता आएको छ । यस्तो सकारात्मक भिन्नता आउनु त राम्रो पक्ष हो।तर तीजलाई भड्किलो बनाइएको छ।
तीजको दर
पहिला तीजको समयमा पनि हुनेले मिठो मसिनो, नहुनेले पिठो मसिनो खाने पर्व थियो तीज । तीज दिनको १ दिन अगाडि मात्र लट्टे, दही काक्राको अचार, तामा, खिर, घिउ हालेको भात विभिन्न फलफूललाई दर मानिन्थ्यो। भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले महिलाहरुले अगाडिको दिन नै बेलुका १२ बजेसम्म दर खाने गर्दथे।
तर अहिलेको दर १ दिनले पुग्दैन १ महिना चाहिन्छ, घरमा हुँदैन पार्टी प्यालेस चाहिन्छ। खानामा पुलाउ, मासुका विभिन्न थरीका परिकार हुने गर्दछन्। शरीरभरि गहना लगाएर महँगा कपडा लगाएर मात्र तीज मनाउने गरिन्छ। आज भोलि एकले अर्कोको नक्कल गर्ने प्रवृत्ति देखा परेको छ। ऋण खोजेर भएपनि तीजलाई खर्चिलो रूपमा मनाइन्छ ।
तीजका गीत
हाल भने चाडवाड पनि आधुनिकता सँगै बदलिँदै गएको छ। पहिले गाउने तीजका भाका र अहिलेका तीजका गीतमा नै यो फरक पाउन सक्छौं। २१ औँ शताब्दीमा आइपुग्दा मानिसको जीवन शैली खानपान सँगै मौलिक धर्म संस्कृतिलाई पनि सोही अनुसार बदल्दै गएको स्पष्ट हुन्छ आजभोलिका तीजका गीतहरुबाट।
हिजो माईती घर,ब्रत,पूजा, पंधेरो,चौंतारो अनि मन्दिर हरूमा सिमीत हुने पर्व आज शहर,बजार,बस्ती,ब्यवसाय,बिद्युतीय सञ्चार माध्यमहरू,सामाजिक सञ्जालहरू लगायत हुंदै ब्यापकता लिएको छ। हिजो डम्फू, मादल, थपडी र मुर्चुङ्गामा गाईने तीजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । एक प्रकारले तीज पर्बको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धि हांसिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यि सकारात्मक पक्ष हुन।
तर बिगत केही वर्षहरू देखि आधुनिकताको नाममा ,परिबर्तनको बाहानामा अनि सस्तो लोकप्रीयता ,सजिलो आय आर्जनको लोभमा , तीज जस्तो पबित्र चाडलाई बिकृति, बिसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ। पोईल जान पाम, डिस्कोमा तीज, छोटो लुगा आदि हुदै अगाडी बढेको तीज गीतको आधुनिक यात्राले यसपालीको तीजमा दरको साटो रक्सी खाईन्छ देखियो जामा फाटेर सम्मका गीत बनेका छन्।
यसले समाजलाई विकृति तर्फ उन्मुख गराएको छ। पहिलेका गीतमा चेलीका माइती , घर पक्षका वेदना हुन्थे जुन तीजको बेलामा गीत मार्फत पोखिन्थे । अहिलेका गीत मनोरञ्जन दिने उद्देश्यले, भ्युज बढाउने, एकले अर्कोको नक्कल गर्दा गर्दै लोकप्रियता कमाएका गायकहरुके नै गीतमार्फत विकृति फैलाएका छन्।
त्यस्ता गीतमा लोक संस्कृति झल्किने कुनै भाव देखा पर्दैन झन् त्यसले समाजलाई नै नराम्रो प्रभाव पारिरहेको हुन्छ। प्रायजसो गीतहरू परिवार संग बसेर हेर्न मात्र नभई सुन्न पनि नसकिने खालका बनिरहेका छन् । तीजका गीतको मौलिकता हराउँदै गएको छ।
यस्ता हुन्थे पहिला पहिला तीजका गीत
तीज आयो जाउन बाबु दिदी लिनलाई ।
खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।।
हुन्छ अमा दिदी लिन जान्छु जान त ।
कोसेली पो के लानी हो पर्छ लान त ।।
पहिला–पहिला गाउँमा सडक पुगेको थिएन, चेलीबेटी लिन माईती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो। त्यो समयको अवस्थालाई तीजका गीत मार्फत प्रस्तुत गरिन्थियो। पहिलेका गीतमा संवाद हुने गर्दथ्यो। जसले केही न केही चित्र व्यक्त गरेको हुन्थ्यो।
अर्को
उडी आयो रानचरी बस्यो सेतो हिमालमा ।
बुहारी भन्दा दाइजो प्यारो अहिले नेपालमा ।।
मुखले त भन्छन् सबले हाम्लाई चाहिदैन ।
साँच्चै दाइजो नलिने त कोही पाइदैन ।।
त्यो समयमा झनै बुहारी सँगै दाइजो पनि घर भित्रिने गर्दथ्यो। दाइजो नल्याएका बुहारीलाई हेला गर्दथे। त्यस्ता वेदना , विकृति, मनका पीडाका शब्द प्रयोग गरेर गीत बन्ने गर्दथे। समूहमा वरपरका दिदीबहिनी आमाहरु भेला भएर ताली बजाएर, मादल ठोकेर नृत्यसहित त्यस्ता मौलिक गीत घनकिन्थे। माइत जान नपाएका बुहारीहरुको पीडा गीत बाट निस्कन्थे।
अहिलेका गीत
हाई मेरो फरिया झन् माथि सार्यो
झन् तल झर्छ हाई मेरो फरिया
यस्ता तीजका गीतको प्रचलन आज भोलि बढ्दै गएको छ। छोटा लुगा लगाउने , आधी शरीर मात्र ढाक्ने गरिन्छ। गीत पनि रत्यौली जसरी प्रस्तुत गरिन्छ। सामाजिक सञ्जालमा प्रदर्शन गरिन्छ। आज भोलि यस्ता गीतहरू सामाजिक सञ्जालमा छिट्टै भाइरल हुने गर्दछन् । दर्शन , श्रोताले झन् त्यस्ता भाइरल कन्टेनरलाई नै बढी प्राथमिकता दिने भएकाले समाजमा झन् झन् विकृति फैलँदै छ। समूहमा बसेर गीत गाउनुको सट्टा डिस्को जसरी गीत बजाएर उफ्रिने प्रचलन छ। त्यस्तो नाचलाई नाच भन्न पनि कठिन लाग्छ।अर्को,
दिदीबहिनी मात्र नाच्छन् जहिले पनि तीजमा
हामी पनि नाच्नु पर्छ बिच्चबिच्चमा
यस गीतमा एउटा तीजमा पुरुष पनि नाच्नु पर्छ भनेर तीजको गीत ट्याग दिएर झिकिएको गीत हो । यसमा मौलिक संस्कृति झल्किने कुनै सन्देश छैन। पुरुषले साडी लगाएर भिडियो तयार गरिएको छ। जुन समाजको लागि विकृति फैलाउन यसले महत्वपूर्ण भूमिका देखाउँछ र देखाएको छ पनि। महिला पुरुष सबै डेगमा यस्तै गीत घन्काएर उफ्रने गर्दछन।
तीज परापूर्वकालदेखि नै चलिआएको एउटा धार्मिक संस्कृतिलाई जोगाइराख्न बनेको विषेशगरी नारीहरुको महान पर्व हो। तीजलाई जसरी आज भोलि मनाउने गरिएको छ त्यसको परिवर्तन हुन जरुरी छ। चाडलाई भड्किलो बनाएमा त्यसले नराम्रो प्रभाव पार्दछ।
महिला होस् वा पुरुष सबैले तीजलाई तीजको रूपमा नै मनाउँदा हाम्रो धर्म संस्कृति जोगिन्छ। नत्र भने हामी नवआगन्तुक बालबालिकाले सोही संस्कृति अंगाल्दछन् र एकदिन यस संस्कृतिको अन्त्य हुन सक्दछ। राज्यद्वारा पनि यस्ता संस्कृतिलाई जोगाइराख्न गहन रूपमा सोच्नुपर्ने हुन्छ। धर्मिक पुस्तक , विभिन्न पाठ्यक्रममा पनि यस्ता संस्कृतिको महत्वलाई दर्शाउनु पर्दछ। अहिले पश्चिम संस्कृतिमा नेपाली संस्कृतिलाई पनि मिसिएर चटपटा बनाइएको छ। त्यसैले आफ्नो धर्म संस्कृतिलाई नबिगारौं , नबिर्सौं।