“तिजको सास्कृतिक महत्व र यसको प्रभाव”

सुरक्षा बराल,
अधिकांश नेपाली महिलाहरूले आफ्नो असाध्यै आत्मीय पर्वको रूपमा भाद्र शुक्ल पक्षको तृतीयाको दिन तीज मनाउँछन् । यसमा हामी सबै जानकार छौँ । तर यो पर्वको नाम ‘तीज’ नै किन रह्यो होला त ? शाब्दिक अर्थ र त्यससँग जोडिएको मान्यता खोतल्ने हो भने एउटा रोचक संयोगको कथामा पुगिन्छ । भाद्रशुक्ल तृतीयाका दिनमा हस्ता नक्षत्र र सोमबार पनि परेको दिन एउटी दृढनिश्चयी नारी पार्वतीले आफ्नो रोजाइको पुरुष शिवलाई प्राप्त गरेको दिन यो पर्वको उत्पत्ति भएको पौराणिक मान्यता छ ।
यिनै तीन संयोग एकै पटक जोडिएकाले यस पर्वको नाम संस्कृतमा ‘त्रीज’ अर्थात् ‘तीन संयोगबाट जन्मिएको’ रहन गयो । कालान्तरमा यसलाई सरल शब्दमा ‘तीज’ भनियो । यसको ऐतिहासिकतबाारे यकिन तिथिमिति पत्ता नलागे पनि पौराणिक किंवदन्तीअनुसार गौरीशंकर अर्थात् शिव र पार्वतीको सम्बन्धसँग यसको उद्गम गाँसिन पुग्छ । भनिन्छ कि प्रख्यात पौराणिक नारीपात्र पार्वतीले शिव अर्थात् महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म कठोर तपस्या गरेकी थिइन् र १०८औँ जन्ममा उनको कामना पूरा भएको थियो ।
यसको उत्पत्ति, महत्व र प्रचलन पार्वती र शिवसँगको प्रणयसँग गाँसिएको कुरा आधुनिक युवायुवतीलाई विश्वास नलाग्न सक्छ । किनभने अहिले खुला समाजको अनुभव गर्नेहरूलाई पौराणिक समाजमा प्रेमप्रणयमाथि कठोर बन्देज थियो भन्ने लाग्ला। तर एउटी नवयौवना नारी पार्वती भगवान् शिवलाई आफ्नो पतिदेवका रूपमा अपनाउन चाहन्थिन् जुन लक्ष्यमा खलनायक बनेर उभिएका थिए भगवान् विष्णु । ‘भगवान’्ले नै चाहेपछि कसैको केही नलाग्ने अवस्था थियो । त्यसबेला उनीमाथि कति घनघोर विपत्ति आइलाग्यो होला हामी कल्पना पनि गर्न सक्दैनौँ ।
तीज मनाउने नेपाली महिलाहरूले पनि यस पर्वको विशेष दिन केही पनि नखाई निराहार ब्रत बस्ने चलन परम्परागतरूपमा चलिआएको छ । यसरी गरिने ब्रतमा विवाहित महिलाले श्रीमान्को निरोगिता र दीर्घायु तथा अविवाहित नारीले सुयोग्य वर पाउनका लागि ब्रत बस्ने चलन रहेको देखिन्छ ।
यसप्रकार बाहिरी आवरणबाट सर्सर्ती नियाल्दा यो पर्वले नारीको पुरुषभक्तिलाई उजागर गरेको देखिए पनि कसैले ख्याल नगरेको र बिरलै चर्चा हुने गरेको अर्को महत्वपूर्ण सांस्कृतिक पक्ष र त्यसको लैंगिक तथा सामाजिक प्रभाव ओझेल परिरहेको देखिन्छ । त्यो के भने हिमालय पर्वत र मेनुकाकी पुत्री भएर जन्मिएकी पार्वतीले गरेको साहसिक विद्रोह ।
उनलाई आफ्ना पिताले विष्णुसँग विवाह गरिदिन चाहेका थिए । तर अनिच्छापूर्वक हुन लागेको त्यस्तो विवाहको विरुद्ध डटेर अडान लिँदै उनले आफ्नो जन्मौँजन्मदेखि इच्छाएको पुरुषलाई रोजिन् । नारी सशक्तीकरणको यो पौराणिक सवाल तीज पर्वको मुख्य सांस्कृतिक धरातल हो ।
शास्त्रीय कथाहरूमा वर्णन गरिएअनुसार स्वेच्छाले रोजेको वरसँग विवाह गर्न भाँजो हाल्ने बाबुको प्रयत्नलाई विफल तुल्याउन पार्वतीलाई आडभरोसा र आँट दिएर जंगलमा लुकाउने उनका समवयी नारी संगीहरूको संगठनात्मक एकता तीजको अर्को अनमोल सन्देश हो ।
आफ्ना साथीहरूद्वारा हरण गरिएकी पार्वतीलाई जंगलमा लुकाएर राखिएको हुनाले यो पर्वको अर्को नाम ‘हरितालिका’ रहन गएको हामीमध्ये अधिकांशलाई अवगत हुनुपर्छ । संस्कृत शब्दहरू ‘हरित्’ र ‘आलिका’ मिलेर ‘हरितालिका’ बनेको छ जसको स्वाभाविक अर्थ हुन्छ, ‘साथीसंगीद्वारा हरण गरिएकी नारी ।’
दुःखका सहयोगी संगी भनेजस्तै पार्वतीका साथीहरूले उनलाई जंगलमा लगेर लुकाएर राखी खुशी तुल्याउन भजनकृतन, नृत्य र गायन प्रस्तुत गरे । पार्वतीको कठोर तपस्या र निराहार आराधना देखेर शिव प्रकट हुनुभयो र पार्वतीलाई स्वीकार गरी प्रणय बन्धनमा बाँधिएर दाम्पत्य जीवन आरम्भ भयो । त्यसपछि चाहेको पति पाउन क्रमशः लिच्छवीकाल र मध्यकाल हुँदै आधुनिक कालसम्म शिवको आराधना गरिँदै आएको देखिन्छ ।
तर तीज पर्वको रूपमा मनाउने प्रचलन भने आधुनिक कालमा मात्रै प्रारम्भ भएको प्रसंग ऐतिहासिक दस्ताबेजहरूमा पाइन्छ । यसर्थ साँचो अर्थमा नारीलाई सशक्त हुन सदा प्रेरित गरिरहने एउटै कुनै वार्षिक पर्व छ भने त्यो तीज नै हो। यही नै तीज पर्वको सांस्कृतिक जग हो ।
तीजको अघिल्लो दिन अर्थात् द्वितीयाको रात दर खाएर भोलिपल्ट तीजको दिन गरिने इच्छाब्रत र विद्रोहका लागि दह्रो बनिराख्ने परम्परा हो ।
पहिले दरिन खाइने ‘दर’ अहिले त अनेक तामझामका साथ हप्तौँअघिदेखि चल्ने उत्सवमय भोजका रूपमा समाजमा कमजोर आर्थिक अवस्थाका नारी वर्गलाई नै खिस्याउने ठूलै ‘डर’ भइसकेको छ। यसलाई भने संस्कृति मान्ने कि अपसंस्कृति ? यो प्रश्न हाम्रै नवसंस्कारले पैदा गरेको छ ।
ऋषि पञ्चमीको दिन सकेसम्म श्रीमान्ले पकाएको भोजन खाऊ भन्छ परम्परा । यसको प्रभावले आपसी आत्मीयता र सद्भाव कसिलो हुने विश्वास गरिन्छ । यो केवल विश्वास मात्र होइन। आफ्नै उच्चतम त्याग, तपस्या र आँटले सफल भई आफूसँग जोडिन आइपुगेकी जीवन संगिनीलाई प्यारपूर्वक पकाएर खुवाउने श्रीमान्को स्नेहपूर्ण व्यवहारले कुन जोडीको आत्मीयता नझाँगिएला र ?
पूर्णरूपमा पुरुषप्रधान समाजमा थिचिएर मिचिएर बसेका नारीहरूले आफूमाथि परेका वा पारिएका अन्यायको विरुद्ध गिती माध्यमबाट यसको विरोध जनाउने प्रयास आधुनिक कालबाट शुरू गरे। यसको विकासक्रममा नारीको पीडा र दुःख सामान्यरूपमा समाजमा प्रस्तुत गर्ने परम्परा शोषण र दमन प्रथाको चुनौतीका रूपमा स्थापित हुँदै गयो । सासू ससुरा, नन्द अमाजू देउरानी, जेठानी र सौताका विरुद्धमा मात्र नभई सामाजिक अन्याय, राजनीतिक विकृति र राज्यव्यवस्था विरुद्धमा पनि तीजलाई साधन बनाई आफ्ना साध्यहरू पस्कने परम्पराको थालनी भएको देखिन्छ ।
तीज संस्कृति हिन्दू संस्कृति भए पनि कालान्तरमा आएर यो लोकसंस्कृति हुँदै राष्ट्रिय संस्कृतिमा रूपान्तरण भएको पाइन्छ । नेपालका केही जाति विशेषले मनाउने तीज हाल आएर सबै नेपालीका बीचमा प्रिय बन्दै गएको छ । परम्परादेखि चलेको पारिवारिक प्रताडना र रापविरुद्ध आवाज उठाइने यो पर्व समकालीन समाजमा श्रीमान्को परदेशगमन राजनीति, समाज, महिला अधिकार र लैङ्गिक चेतनाका धूनहरूदेखि शारीरिक तथा मानसिक कहर र सामाजिक अपमान विरुद्धका आवाजहरूमा मुखरित हुन थालेको देखिन्छ ।
देवरानी र जेठानी कुरा लाउछन् फतुर,
शिरको सिन्दुर दिने स्वामी भए सतुर ।
नपढेकी छोरीलाई पढेकालाई दिनुभो,
म छोरीको बाबाले पाप लिनुभो ।
हामीलाई पनि सुहाँउछ आईए बीए पढन,
हाम्रो पनि हक छ अघि बढन ।
यस्ता दुःखसुखका गीत गायनबाट प्रारम्भ भएको तीज पर्व वर्तमानमा आएर केही विकृतरूपमा रूपान्तरण भएर मानवीय संवेदनाविहीन बनेको देख्न हामी अभिशप्त छौँ ।
पोइला जान पाऊँ शिव पोइला जान पाऊँ,
अहिलेको तीजमा पोइला जान पाऊँ ।
पल्लाघरे लाउरेले लान्छ अरे बाई,
अचम्मै राम्रो नाच्छ मोराले ।
तीज आयो भनेर सबै हामी रमाउने,
आफू भने होटलमा बोतल समाउने ।
यी र यस्ता गीतहरू सुन्दा कर्णप्रिय होलान् तर भावप्रिय हुन सक्दैनन् ।यसरी समाज परिवर्तन हुदैजाँदा तीजको संस्कार पनि परिवर्तन हुँदै गएको छ ।धार्मिकताबाट सामाजिकता र क्रान्तिकारिता हुँदै अघि बढेको हरितालिका अहिले चौबाटोको चोकमा ठिङ्ग उभिइराखेको देखिन्छ । नारी संस्कृतिको यो धरोहर अब कुन बाटो समातेर अघि बढ्ने भन्ने द्विविधामा छ ।
रुढीवादी चिन्तनलाई छोडेर अघि बढ्नु त राम्रो कुरा हो तर पुरानो छोड्ने नाममा राम्रा पक्षहरू पनि छोडेर नवीन मार्ग समातेको अनुभूति गर्न बाध्य पार्नुलाई राम्रो मान्न सकिँदैन ।तीजका सकारात्मक पक्षतर्फ केही टिपोट गर्नुपर्दा नारीहरूमा सामूहिक भावको विकास भएको छ । नारीका पीडाहरू बाहिर समाजमा छरपष्ट हुनेगरी आएका छन् जसको कारण नारी मनोविज्ञान बुझ्न सहज भएको छ ।
समाजमा सांस्कृतिक रूपान्तरणको माध्यम पनि बनेको छ तीज । यसले पुरुषशक्तिप्रति नारी शक्तिको सकारात्मक चुनौती पैदा गराउन सफल भएको छ ।यसका कमजोर पक्षहरूलाई केलाउने हो भने धार्मिक पक्ष विखण्डनउन्मुख देखिन थालेको छ । तीज अनेकथरी खाने र लाउने चाडमा रूपान्तरण हुदै जाँदा यस्तो भएको हो ।
यही संस्कारको प्रभावले तीनदिने तिज हिजोआज त एक महिनासम्म विस्तार भइसकेको छ । यसले सिंगो तीजको महत्वलाई मौलिकताविहीन, महँगो, तडकभडक र देखासिकी प्रवृत्तियुक्त, रत्यौलीउन्मुख र मध्यमवर्गीय परिवारका लागि निल्नु न ओकल्नु बनाइदिएको छ । यो असाध्यै चिन्ताजनक पाटो हो ।
त्यति हुँदाहुँदै पनि नारी जागरण, विद्रोहचेत र साहसीकरणका लागि रामवाण बनेर आएको तीजले नारीहरूलाई संगठित बनाएर चुल्हो र चौकाबाट बाहिर निकाली स्वतन्त्रता, समानता र उन्मुक्तिका भावना पैदा गराएर जातीयविभेद, शोषण, दमन, लैंगिकहिंसा, मानव बेचबिखनसम्मका समस्याहरू न्यूनीकरण गर्न सफल भएको छ । सामाजिक, राजनैतिक, आर्थिक समस्याहरूबाट मुक्त गराएर सभ्य समाज निर्माणका बाहक नारीहरू नै हुन् भन्ने प्रमाणित गराउन कर्मशील, स्वाभिमानी र सिर्जनशील बन्ने वाटोमा अघि बढ्नु र तीज पर्वलाई सोहीअनुसार अगाडि बढाउनु हामी सबैको साझा जिम्मेवारी हो।
हजुरआमाको पालासम्म सेलरोटी, ढकनी, खिर, चिल्लो पुवा, तरकारी त्यो पनि तामा र हरियो गाभा गाँठो पारेर पकाएको, भिण्डीको अचार, काँक्रोको राइतो, बोडीको तरकारी, करेलाको भार्ता खाँदै गाँउको माथिल्लो डाँडामा लहरे पिङ र चर्के पिङ खेलिन्थ्यो रे ।हजुरआमाकै शब्दमा त्यतिबेला साथीहरू, इमान्दार हुन्थे, खुब सहयोगी थिए । कसैले कसैको कुरा काट्दैनथे । तीज आयो भनेपछि गाउँको रौनक नै फरक हुन्थ्यो । चेलिबेटीलाई लिन जाने र चेलिबेटी माइती आउन नमिल्ने भए लुगालत्ति र कोसेली लिएर जाने चलन थियो ।
विवाहअघि भन्दा पनि पछि तीजको महत्व धेरै हुन्थ्यो । कहिले तीज आउला र माइत जान पाइएला भनेर कुरिन्थ्यो । कहिले त सजिलै जान पाइन्थ्यो, कहिले चाहिँ जाने होइन, घरमा काम धेरै छ भनेर पठाउँदैनथे । रुँदारुँदै तिज सकिन्थ्यो । जाने हुँदा पनि ६÷७ वटा खोला तरेर जानु पथ्र्यो । अनगिन्ती पुस्ताका आमाहरूले त्यति जोखिमसँग जोगाउँदै आएको यो पर्वलाई अब कस्तो रूप दिने हाम्रै पुस्ताको हातमा छ ।
तीजलाई व्यापार वा नाफा–घाटाको पर्वमा रूपान्तरण गराउने प्रयासका विरुद्धमा वौद्धिक समूह, विशेषगरी महिलाहरूले हस्तक्षेप गर्न जरुरी छ । तीजलाई समाजको आवश्यक रूपान्तरणमा अधिकतम उपयोग गर्नुपर्छ । भोजभतेर, नाचगान, टिकटक, भिडियो मात्र तीजको परिचय नभई सांस्कृतिक सभा, सम्मेलन, विचारगोष्ठी सञ्चालन गरेर बाटो बिराउन खोजेको पर्वलाई सही मार्गमा ल्याउन ढिला गर्नु हुँदैन ।
तपाइँको प्रतिक्रिया