“तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ”

बन्दना देबकोटा,
नेपाली हिन्दु नारीहरुको महान् चाड तिज आउन केहि दिन (एक दिन) बाँकी छ ।अहिले सामाजिक सञ्जाल टिकटक,फेसबुक ,युटुबदेखि टेलिभिजन च्यानल हेर्ने हो भने तिज कै चर्चा परिचर्चा देख्न सकिन्छ । यो चहल पहल एक महिना अघि देखि नै जारी छ । बर्षमा एक चोटि मनाइने पर्व अहिले एक महिनामा परिणत भएको देखिन्छ । किनकी आजकल तिज एक महिना अघि देखिनै मनाइन्छ ।
तिजको चहलपहल देख्दा यस्तो लाग्छ कि तिज तिज जस्तो नभएर धनि गरिबको क्षमता प्रदर्शन गर्ने मेला हो । भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज, भतेर, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक श्रृंगारपटार जस्ता कुराले तिज धनको प्रदर्शन गर्ने चाड बन्दै गएको छ । त्यती मात्र होइन सांस्कृतिक परम्परालाई चुनौती दिने गीत गाइनु र भड्किलो तरिकाले तिज मनाउने परम्परा बस्दै जाँदा तिज मौलिक चाड हो भन्ने कुरालाई समेत बिर्साइदिएको छ ।
तिज पर्व शिव र पार्वतीको पौराणिक प्रणयकथासित जोडिएको छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने सत्य युगमा भाद्र तृतीयाको दिन राजा हिमालयकी पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने निर्णय उनका पिताले गरेका थिए । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता बोकेकी पार्वतीलाई पिताको वचन चित्त बुझेन । त्यसपछि आफुले मन पराएको वर पाउन पार्वतिले जंगल गएर महादेव शिव जी को तपस्या गरि मनोकांक्षा पूरा भएको दिनलाई हरितालिका तिजको रुपमा मनाइदै आएको पाइन्छ ।
सत्य युगमा आज कै दिन निरहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकोे कथन अनुसार तिजको दिन व्रत बसे मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।तिजको दिन विवाहित महिलाले आज आफु र श्रीमानको दिर्घायु र निरोगी बन्ने कामना सहित ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले महादेव जस्तै सुन्दर र हरेक कुरामा साथ दिने सुशिल श्रीमान पाउने मनोकामना सहित ब्रत बस्ने परम्परा रहेको छ ।तिज आफैमा एक सुन्दर पर्व हो । यसदिन ब्रत बस्नु वैज्ञानिक हिसावले पनि फलदायक नै देखिन्छ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दरको रुपमा मीठामीठा परिकारहरु खाएर मनाइन्छ । त्यसको भोली पल्ट अर्थात् तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले नजिकै को गंगामा गई ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।
पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ ।भाद्र शुक्ल द्धितियका दिन दर खाने र तृतियामा तीजको व्रत बस्ने, नाचगान गर्ने ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राहमण–ब्राहमणीहरुलाई दान दक्षिण गर्ने चलन परापुर्ब काल देखि नै चल्दै आएको छ ।
तिजको दिन महिला दिदि बहिनिहरु रातो रङ्गको बस्त्रमा सजिने गर्छन् ।तिजको दिन महिलाले लगाउने रातो साडी सुख समृद्धि एवम् साहसको प्रतिक मानिन्छ । रातो रङ्गले महिलालाई शक्ति प्रदान गर्ने धार्मीक विश्वास छ । पोतेले शक्ति र शान्ति प्रंदान गर्छ भने रातो टिका सौभाग्यको प्रतिक मानिन्छ ।
विगतमा रजस्वला नहुदै विवाहा गरिदिने चलन थियो । विवाहा भएर टाढा पुगेपछि माइती घर आउन तिज नै कुर्नु पर्ने बाध्यता थियो । यस्तो अवस्थामा वर्षभरिका दुःख, पिर, व्यथा, वेदनाहरु माइतमा गई आमाबुबा, दिदीबहिनीसँग साट्ने एवम् विश्राम गर्ने एकमात्रै अवसर तीज पर्वले जुटाउने गथ्र्यो ।
विवाह भएका महिला हुन या नभएका सायद तीज पर्व नभएको भए उनिहरुले दुः ख, कष्ट पिडाहरु पोख्न र अन्याय ,अत्याचार विरुद्धको आवाज उठाउने माध्यम पाउने थिएनन् होला । तिज महिलाहरुको दुःख,पिडा र बेदनाको भारी बिसाउने चौतारी बनेको थियो । छोरी देखि बुहारी हुदा आफुले भोगेका कैयौं दुःख पिडा र बेदना यहि तिजमा गित गाएर मन हल्का पार्ने गर्थे ।
‘घर पछाडि स्कुल छ
पढाएनन् बाबाले
छोरी भन्न पर्दैन
यस्ता जाबाले’
‘आफूभन्दा सानो भाइलाई
हातमा घडी किन्दिनी
म एउटी छोरीलाई
डोको बुन्दिनी’
पुराना तीज गीतमा मौलिकता र धार्मिक इतिहास मात्र होइन अन्याय र अत्याचारको विरुद्धमा बिद्रोह पनि गरिएको छ । पुरानो पितृसतात्मक समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिन्थ्यो । उनिहरुलाई पुरुष सरह बोल्ने र हिँड्ने अधिकार थिएन । नेपालमा आज जति पनि महिलाहरुले स्वतन्त्ररुपले घरबाहिर निस्कन, पढ्न, लेख्न,रोजगारी गर्न, स्वतन्त्र र समानरुपले राज्यका महत्वपूर्ण अङ्गमा समावेश पाएका छन् त्यसमा हाम्रा आमा, दिदीबहिनीले तीजमा गाएका विद्रोही भाकाहरुको ठूलो योगदान छ ।
नारी शक्तिलाई बलियो बनाउन एवम् समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका तिनै तिजका भाकाहरु अहिले हराएका छन् । पहिला मुखले गाउने गीतका स्थान बजारबाट किनेका गीतहरू एवम् युट्युबले ओगटेको पाइन्छ । हिजोआज तीजको महत्व दर्साउने वास्तविक तिज गीतको अभाव निकै खड्किएको छ ।
समाज विकासको क्रमसगै गाइएका तीजका गीतमा अहिले आएर भने विकृति र विसंगतिले नराम्रो जरा गाडेको छ । आधुनिकता र स्वतन्त्रका नाउँमा छाडातन्त्रको हावी भएको छ ।पछिल्लो समय नयाँ पुस्ताले निकालेका अधिकांश तिजका गित परिवार सगै बसेर सुन्न र हेर्न सकिने खालका छैनन् ।
अहिलेका गायक गायिकाले सस्तो लोकप्रीयता कमाउन तिजको मर्मलाई नै कुल्चेको पाइन्छ ।तीज जस्तो पबित्र चाडलाई बिकृति, बिसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ।अहिलेका तिज गित रत्यौलि भन्दा कम छैनन् । यस्ता गितले तिजको मौलिकतालाई नै चुनौति दिएका छन् । ढाडे बिरालो,दर खादा नि हुस्कि खाइन्छ,डिस्कोमा तीज, आदि हुदै अगाडी लम्किएको तीज गीतको आधुनिक यात्राले माछो माछो भ्यागुतो,च्वास्सै च्वास्सै सम्मको उचाई छोइ राखेको छ।थाहा छैन यो आधुनिकताको स्वच्छन्द गतीले कुन उचाई छुने हो ।तिजको अस्मिता र मर्म लाई नै चुनौति दिने गरि बजारमा भित्रिएका यस्ता गितले तिजको मौलिकता नै खतरामा पर्न गएको छ ।
महिलाहरुले आफ्नोे हक हितको लागी लडेर ल्याएको परिवर्तन के यहि हो त ? यस विषयमा बहस हुन आवश्यक छ । संस्कार रहे संस्कृति रहन्छ र संस्कृति रहे हाम्रो अस्तित्व र परिचय रहन्छ । तीजको धार्मिक सांस्कृतिक महत्व जती छ , त्यती नै तीजको अवसरमा गाइने गीतहरुको महत्व छ ।
तिजको गितमा आएको परिवर्तन सगै यसलाइ मनाउने प्रचलमा पनि व्यापक परिवर्तन आएको छ । विगतमा तिजलाई हिन्दु नारीहरुको पर्वका रुपमा मात्र लिने गरिएको भए पनि अहिले सबै महिलाको साझा पर्व बनेको छ । यो एक सकारात्मक पाटो हो तर बर्षमा एक दिन मनाइने तिज आजभोलि एक महिना मनाइन्छ ।
आमाले पकाए दिइएको मिठा परिकारलाई दर भनेर खाइने चलन अहिले होटलमा बनाएको मिठा परिकारलाई दरको रुपमा ग्रहण गरिन्छ । धार्मिक अनुयायीहरूका अनुसार ‘काँक्रोको टुक्रा र केरालाई दहीमा मिसाएपछि बन्ने चीज’ नै असली दर हो । अर्थात् त्यति बेला काँक्राको अचार एवं घिउ, दूध, दही साथै केरा दर खानको लागि उपयुक्त खाद्य पदार्थ थियो । तर आजकल दरका रुपमा ह्विस्की,बियर,मासु,पलाउ,खिर ग्रहण गरिन्छ ।
जस्ले गर्दा तिजको दरखाने र खुवाउने परिपाटी फराकिलो बनेको छ । पछिल्लोसमय आधुनिकताका नाममा बिकृती हावि भएको छ । पश्चिमेली संस्कृतिले हाम्रा संस्कार र सस्कृतिमा ठुलो जग गाडेको छ । जसको फलस्वरूप अहिले तिज तिज जस्तो हुन सकेको छैन । आजभोलि दरको नाममा महिनौँदेखि रमाउने ,विभिन्न फेसन, र सजिसजावटले रङगिने, चाडलाइ प्रतिस्पर्धाको रुपमा लिइने गरिएको छ ।
यसले हुनेलाई चयन र नहुनेलाई दसाको अवस्था सिर्जना गराएको छ ।पछिल्लो समय विभिन्न कार्यालय,संघ सस्था,विद्यालय सहकारी सगै विभिन्न राजनितिक दलका भातृ संगठनले समेत तिजको दर आयोजना गर्न थालेका छन् । के हाम्रा आमाहरुले मनाउदै आएकोे तिज यहि हो त ? धार्मिक र सांस्कृतिक मौलिकतालाई चटक्कै बिर्सेर तीजलाई समयानुकूल परिस्कृत गर्ने नाममा अहिले तीज केही उत्ताउलो हुन थालेकोे छ ।
यसको प्रभावले समाजमा हुर्कदै गरेका नयाँ पुस्तामा ठूलो विकृति ल्याएको छ । अबका साना बालबालिकाले तिजलाई कसरी बुझ्लान ?उनिहरुलाई त्यसबारे बुझाउने दायित्व कस्को?हाम्रो समाजको मौलिकता,कला,संस्कृति, चाडपर्व,धर्म,रीतिरीवाज र एतिहासिक महत्वको बारेमा बुझ्ने र त्यसमा घुलमिल हुने अधिकार बालबालिकामा आवश्यक छ कि छैन ? यस्ता प्रश्नले उत्तर खोजी रहेका छन् । यसको जिम्मेबार को ?
समयको परिवर्तन सगै अहिले महिला राज्यको नेतृत्व तहमा पुगेका छन्। यो महिलाहरुले गरेको ठुलो विद्रोह,लडाइ र सघर्ष को प्रतिफल हो। आज जतिपनि महिलाका लागि कानुन बनेका छन् तर महिलाहरु माथी हुने हिंसा जरैदेखि न्युनिकरण हुन सकेको छैन । दिनहु जसो सयौको संख्यामा महिलाहरु विभिन्न हिंसाबाट पिडित छन् । आजपनि धेरै महिला न्याय पाउन नसकेर आत्म हत्या गर्न बाध्य छन् । यी महिलाहरुलाई अब कस्ले न्याय दिने ?
आज देशका अधिकांश महिला शिक्षित,अब्बल र एक्लै देशको बाघडोर सम्हाल्न सक्छन् । अधिकार पाएउ भन्दैमा हामिले आफ्नो कतव्र्य कहिले भुल्नु हुदैन । तसर्थ हिसांमा परेका महिलालाई न्याय दिन र हिंसा न्युनिकरण गर्न आजका शिक्षित महिला लाग्नु पर्छ ।तिज महिलाहरुलाई अन्यायको विरुद्ध आवाज उठाउन साथ दिने मेरुदण्ड हो । तिजको महत्व,मर्म र मौलिकतालई कुल्चिनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । तसर्थ घरबाट बाहिर निस्किन तिजमा महिलाले गरेका विद्रोही भाका अबका तिजमा हिसांमा परेका महिलालाई न्याय दिन गाउन आवश्यक छ । तिजको सबैमा हार्दिक मङ्गलमय शुभकामना ।
तपाइँको प्रतिक्रिया