तीज :महिला शसक्तिकरणको पर्व
प्रतिमा सिलवाल,
‘तीज’ भन्ने बित्तिकै हरेकजसोले भनिहाल्छन्, – महिलाहरुले विकृति बढाए । महिलाहरुले मात्रै मनाउने तीज विकृत नै भएको हो त ? त्यसो हो भने सँस्कृति के हो ? यी चर्चा सामाजिक वृत्तहरुमा चल्न थालेको दसक बढी भयो । पर्व आफैमा विकृति हुँदैन हरेक पर्वले साँस्कृतिक पहिचान र महत्व बोकेको हुन्छ ।
कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा बिम्बित हुने र तिनको कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रुपलाई संस्कृति भनेर नेपाली शब्दकोषले शाब्दिक व्याख्या गरेको छ ।तीज पर्व पनि नेपाली सामाजिक परिवेश केन्द्रित नै छ । नेपाली महिलाहरुले भोग्दै आएका सामाजिक यथार्थका बारेमा खुला रुपमा लयवद्ध गीतका भाकामा चर्चा गरिने पर्व हो यो ।
हामीलाई विदितै त हिन्दु महिलाले तीज मनाउँछन् । नेपाली सामाजिक परिवेशलाई हेर्दा यहाँका कुल जनसंख्यामध्ये ७० लाख महिला आर्थिक रुपमा निष्क्रिय जीवनमा छन् । अझ ती मध्ये आर्थिक निष्क्रियको तथ्यांकमा २२ लाख महिला छन् । उनीहरु घरभित्रको काममा पूर्ण रुपले व्यस्त हुन्छन् । उनीहरुको कामको आर्थिक गणना पनि हुँदैन ।
आर्थिक जीवनमा सक्रिय रहेर पनि सामाजिक रुपमा असमानताको परिधिभित्र रहेका महिलाहरुको जीवन र उनीहरुले भोग्ने सामाजिक जीवनलाई अध्ययन गरेर तीजसँग जोडिएको सांस्कृतिक पक्ष केलाउनु पर्दछ ।हरेक मानिसलाई आफ्नो जीवनकालमा भोगेका हिँसाजन्य भोगाइ, समानताको लडाइँ र परिवर्तनका श्रृङ्खला व्यक्त गर्ने ठाउँ चाहिन्छ । त्यहि सांस्कृतिक थलोको रुपमा महिलाहरुले मनाउने तीज र यसको मनाउने शैलीहरु विकसित हुँदै आएको छ ।
पहिले पहिले अहिलेझैँ विचार व्यक्त गर्ने इन्टरनेटका सञ्जालहरु थिएनन् । न त बिजुली र यसले सिर्जना गरेका इन्टरनेटमा महिलाहरुको पहुँच नै थियो । उनीहरु घाँस दाउरा र घरभान्छामा मात्रै सिमिति थिए । त्यहि बिम्ब र उनीहरुको भोगाइ तीजको भाकामा लिपिबद्ध हुन्थे ।
पर्व अर्थात् महत्वपूर्ण दिन । उत्सव वा चाड । शब्द फरक–फरक छन् । भूगोलले भाषालाई फरक पार्न सक्छ । तर, तीज हामी नेपाली हिन्दु महिला जो संसारका फरक फरक कुनामा बस्छौँ उनीहरुको उत्सव हो । चाड हो ।
जसलाई शाब्दिक रुपमा भाद्रशुक्ल तृतीयाको दिन जुन दिन महिलाहरु सौभाग्यको स्थिरताको लागि निराहार बसेर शिवको पूजा गर्ने दिन भनेर नेपाली शब्दकोषले व्याख्या गरेको छ ।केही मिथकहरुले तीजको विषयमा यसरी पनि व्याख्या गरेको छ — हिमालय पर्वतकी छोरी र्पावतीको सानै उमेरदेखि महादेवसँग गहिरो प्रेम थियो ।
हिमालय पर्वतले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको र्पावतीले थाहा पाएर उनी भागेर जंगल गइन् र महादेवको तपस्या गरिन् । यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्वतले स्वीकार गर्नु प¥यो । यहि संघर्षको सम्झनामा तीज मनाउने प्रचलन सुरु भयो ।यसको अर्थ महिला विद्रोह गर्न सक्छन् । र, उनीहरुको विद्रोह समाज परिवर्तनको शक्तिशाली माध्यम बन्न सक्ने पनि परापूर्व कालदेखि नै स्वीकार गरिएको रैछ भन्न सकिन्छ । महिलाका सशक्तिकरणको प्रतिकको रुपमा तीज पर्वलाई व्याख्या गरिएको मिथकले पनि प्रष्ट्याउँछ ।
संस्कृति कि विकृति ?
तीज पर्व भन्ने बित्तिकै मलाई बाल्यकालिन याद पुर्नस्मृति भएर आउँछ । नजिकै मामाघर । दिनको एकपटकजसो मामाघर पुगेकै हुन्थ्यौं । तीजको दिन भनेपछि चाहिँ बिहानैदेखि मामाघर पुग्ने हुट्हुटी चलिहाल्ने ।दरखाने दिन हामी मामा कतिबेला आउनुहुन्छ भनेर बाटो हेरिराख्थ्यौं । मामा पनि बिहानै आमासहित हामीलाई लिन आइपुग्नुहुन्थ्यो । मामालाई खाना खुवाइवरी पठाउनुहुन्थ्यो आमा ।
एकल परिवारका हामी भने साँझमात्रै मामाघर जान पाउने । आमासँगै मामाघर पुग्थ्यौं । साँझ मामाघरको आमा (हजुरआमालाई हामी आमा भन्थ्र्यौँ) ले खाना बनाएर कुरेर बस्नुभएको हुन्थ्यो ।साँझ छिट्टै खाना खुवाएर हामीलाई सुत्न पठाउनुहुन्थ्यो आमाहरुले । ‘दर’ त मझेरीबाट फुत्त निस्किन्छ । केटाकेटीले हेर्नु हुँदैन । तिमीहरु सबै सुतेपछि मात्रै दर निस्किन्छ ।’ मामाले यसरी दर निस्किने बाटो भनेपछि हामी पत्याउँथ्यौै । सुत्न राजी हुन्थ्यौंं । मध्यरातमा मामाले सबैलाई उठाउनुहुन्थ्यो । ‘दर निस्किसक्यो, खान ढिला भयोभने फेरि मझेरीमै बिलाउँछ । हामी फेरि पत्याउँथ्यौं ।’
दरमा खीर त सँधै हुन्थ्यो नै । लपक्क घीउले भिजेको मनभोगको भात । अचार, तरकारी, दुध, दही, फलफूल । एकथरी मात्रै खानेकुरा खान्छु भनेर सुख नपाइने । सबै परिकार थोरै थोरै भएपनि चाख्नैपर्ने । आँखा मिच्दै भान्छा छिरेका हामी दर खानु भन्दा हेरेरै अघाउँथ्यौ ।
त्यो दिन आमाहरुलाई पनि दर दिने जिम्मा मामाले नै लिनुहुन्थ्यो । सधैँ मामाघरमा आमाले मामालाई खाना दिएको देख्यौं । दरखाने दिन मामाले दिनुभएको ‘दर’ खाएर हामी सबैलाई नौलो लाग्थ्यो, खुब रमाइलो पनि ।
मलाइ राम्रोसँग याद छ, हामीलाई मात्रै होइन वल्लोपल्लो घरमा हजुरआमा तथा ठूली,सानीआमाहरुलाई उठाउने जिम्मा पनि मामाकै हुन्थ्यो । दर खाइसक्दा हामी केटाकेटी पनि फ्रेस भइसक्ने । त्यसपछि गाउने नाच्ने पालो । मामाघरमा गाउँभरका सानीमा ठूलीआमाहरु भेला भएर आआफ्ना मौलिक भाका गाउँथे । हामी पनि जानी नजानी छमछमी नाच्थ्यौँ । मामा मादलुको ताल दिनुहुन्थ्यो त्यसपछि हुन्थ्यो मामाघरको आँगन तीजमय ।
करिब दुई दसकअघि मैले मनाएका तीजका स्मृति र आजका तीज मनाउने शैली भिन्न भइसकेको छ । हुन त समाज विकासको सिद्धान्तले नै भन्छ, समाज परिवर्तनशील छ । समय अनुसार सामाजिक अवस्था परिवर्तन हुँदै जान्छन् । हामीले मनाउने चाडपर्व पनि समय अनुसार परिवर्तित हुँदै जान्छ । संस्कृति पनि समाज अनुसार परिस्कृत हुँदै जान्छ ।
फेरिएको समाजसँगै बजार परिवर्तन हुँदै गएपछि तीज संस्कृति विस्तार हुँदै गएको छ । जसले निम्त्याएको छ, उपभोक्तावाद । एक दिनमा मात्रै खाइने मध्यरातको दर विस्तार भएर होटलका मेन्यूहरुमा पुगेका छन् । तीज उत्सवका लागि बजार राताम्य रंगिएका छन् । तीज मनाउन होटलका ‘प्याकेज‘हरु सार्वजनिक भएका महिना बढि भइसक्यो ।
महिना दिनअघिदेखि जमघट र खानपान हुन थालेका चहलपहल बिस्तारै संस्कृतिको अर्को पाटो झैँ लाग्न थालेका छन् । हुन त अहिले महिलाको सामाजिक सम्बन्ध पहिले झैँ साँघुरो छैन । महिलाका सामाजिक सम्बन्धको दायरा फराकिलो हुँदै गएको छ । दायित्वहरु परिवारभन्दा बाहिर समाजसम्म पुग्न थालेका छन् । राजनीतिक र सामाजिक रुपमा जिम्मेवारी उठाउने तहमा महिला पुगेका छन् ।
फराकिलो भएका सामाजिक सम्बन्धहरुसँगै महिलाहरुले तीज मनाउने दिन पनि बढ्न थालेका हुन् । घर, कार्यालय, सामाजिक सघसंस्थामा उनीहरुले पाएको स्पेशमा दिनुपर्ने समयको जिम्मेवारीले उनीहरुका तीज मनाउने दिनहरु बढ्न गएका हुन् । यद्यपि रैथाने स्वादहरुमा तीज पर्वको दर खानु र हाम्रौ मौलिकता पनि जोगाउनु दायित्व पनि हामीसँगै छ ।
प्रविधिले साँघुरो बनाइदिएको समाज छ हाम्रो । विश्वको एउटा सानो कोठाभित्र बसेर इन्टरनेटमार्फत दुनियाँ चहार्न सकिन्छ । त्यहि भर्चुअल थलोले मुख्यगरि हामीहरुले भन्दै आएको विकृतिको सिर्जना गर्दै आएको सार्वजनिक गर्छ । स्वभावैले मानिस अरुको नक्कल गर्ने प्राणी हो । हामी त्यहि नक्कल गर्दा कहिलेकाँही कति मौलिकता बचायौँ वा बिगा¥यौँ चाहिँ भुलिरहेका हुन्छौँ ।
कपडा, गहना र फेसनलाई उत्सव मनाउने मानक झैँ ठान्ने गलत संस्कृतिको विस्तारले तीज विकृतिको रुपमा प्रचार भइरहेको यथार्थ हो । तर, तीज विकृति होइन यसलाई मनाउने तरिका मात्रै अलि फरक बनाउनुपर्ने भएको हो ।
कसरी मनाउने त तीज ?
तीज भनेकै गीतका भाकाहरुमा आफू र समाजलाई अभिव्यक्त गर्ने पर्व हो । तर, पछिल्ला वर्षमा तीजका भाकाका नाममा सार्वजनिक भएका गीतमा मौलिकताको सट्टा भाइरल शब्द चयन हुँदै गएका छन् । त्यसले सामाजिक मर्यादाको कति ख्याल राख्छ विवेचना गर्नेभन्दा भ्युअर कति बटुल्छ भन्नेतर्फ सर्जक गए ।
हामीसँग समाज परिवर्तन र महिलाका सबाल थुप्रै छन् । नेपालका महिलाका तथ्य हेरौँ, प्रहरीले हरेक दिन ८ जना महिला यौनजन्य हिँसाको सिकार हुने तथ्यांक सार्वजनिक गर्दै आएको छ । बढ्दै गएको आत्महत्यामा महिला तथा बालिकाका ज्यान गइरहेको छ । परिवार भित्रबाट ८० प्रतिशत बढी महिला हिँसामा छन् ।
महिलालाई अधिकार धेरै भयो भन्ने गलत भाष्य समाजमा स्थापित हुँदै गएको देखिन्छ । जबकि, देशभरमा २० प्रतिशत भन्दा बढि महिलाको पहुँचमा सम्पतिको अधिकार छैन । तीजकै ऋषिपञ्चमीमा महिनावारीलाई अछुत ठान्दै हामी पापमोक्षको याचनासहित पूजा गर्छौँ । तर, त्यहि महिनावारी विभेदका कारण आफ्नै मनोबल कमजोर हुँदै गएको महसूस गर्दैनौँ ।
परिकल्ना गरौँ त महिनावारी प्रजनन स्वास्थ्य अधिकार जस्ता महिलाका नितान्त निजी झैँ लाग्ने तर राष्ट्रिय विषयमा छलफल भए तीजका भाका कति सुन्दर सुनिदा हुन् !
गहना प्रदर्शनको नाममा, उच्छृङ्खल शब्दका गीतहरु गउने केही सर्जकलाई मानक बनाएर सांस्कृतिक महत्व बोकेको पर्वलाई हेयभावले हेरिनु हुँदैन । यो महिलाका प्रतिभा उजागर गर्ने र आफूलाई व्यक्त गर्ने पर्व पनि हो । समूहमा महिलाहरुले पर्व मनाउँदा आफ्ना वैयक्तिक अनुभुतिलाई महसुस गर्न सक्छन् । यसअर्थ आफूलाई व्यक्त गर्ने र आफ्नो स्वअनुभूतिमा रमाउने पर्व पनि हो तीज ।
महिलाका बग्रेल्ती सवालमा बोल्ने थलो तीज भन्दा अरु पर्व हुनै सक्दैन । सामाजिक सञ्जालले एकांकी बनाउँदै लगेको हाम्रा सम्बन्ध तीजको भेटघाटले एकीकृत बनाए कति मजबुद हुँदो हो ! यी परिवर्तन हामी पर्व मनाउने वर्गका मानिसहरुले नै ल्याउने हो ।
हुन त मानिसका उत्सव मनाउने काइदा फरक फरक हुन सक्छन् । तर, स्वपरिवर्तन जति सजिलो माध्यम तीजलाई विकृत हुनबाट जोगाउन अरु हुनै सक्दैन ।
महिलाका फराकिलो हुँदै गएको आर्थिक र सामाजिक सम्बन्ध अनुसार महिनादिनै देखि भेटघाट बाक्लिँदा हामी आत्तिनु पर्दैन । तर, ती भेटघाटले समाजको पुनर्जागरणमा सहयोग गर्छ गर्दैन महत्वपूर्ण त्यो हो । समय अनुसार महिलाका सवालहरुमा र समानताको पक्षमा अबका समाज बुझेका महिलाले बहस गर्न सक्छन् सक्दैनन् मूल पक्ष हो ।
तीज महिला मात्रैको पर्व हो । यो हामी महिलाको उत्सव हो । उत्सवलाई गलत भाष्य स्थापित हुनेगरि मनाउनु हुँदैन । मौलिक परम्परा जोगाउँदै नितान्त महिलाका संगठित आवाज मुखरित हुने स्पेश बन्नुपर्छ । यो पर्व महिलाबीचका सम्बन्धहरु प्रगाढ बनाउने मिलनबिन्दु बनोस् । हाम्रा आवाज सशक्त बनाउने एउटा अभियान बनोस् ।
शुभकामना !!