“तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ”

पुनम गौतम,
धार्मिक दृष्टिकोण अनुसार नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व नै तिज हो । प्रत्येक वर्षको भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ ।
धार्मिक परम्परा अनुसार हिमालय पर्वतकी छोरी पार्वतीको सानै उमेर देखि महादेवसँग गहिरो प्रेम थियो । हिमालय पर्वतले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जंगल गईन र महादेवको तपस्या गरिन् । यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्वतले स्विकार गर्नु पर्यो ।
यहि संघर्षको सम्झनामा तीजलाई पर्वको रुपमा मान्ने गरिन्छ । त्यसै दिनदेखि आजसम्म हिन्दु नारिहरुले यो पर्व मनाउदै आएका छन् । तिजमा भगवान शिवको आराधना गरिनुको साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।
हिन्दु नेपाली नारीहरुले स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपमा नेपालमा मनाइन्छ भने भारतका कुनै-कुनै प्रान्तमा पनि मनाउने गरिन्छ ।
यो पर्वमा माइतीले छोरी/चेलिको घरमा गई लिएर आउने वा बोलाएर मिठा-मिठा परिकार बनाएर खुवाउने साथै मनका भावना एवम् सुखदुःख साटासाट गरि एउटै ठाउँमा खाने बस्ने परम्परा रहिआएको छ । यसदिन विशेष महत्वका साथ दर खाने गरिन्छ ।
यहि दर खाने दिनबाट नै तिज पर्वको आरम्भ भएको पनि मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा, लगायतका खाना, फलफूल खाने गरिन्छ । अहिले भने आधुनिकता संगसंगै यसमा खाइने परिकारमा समेत परिवर्तन आउदै गएको छ ।
सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाइ निराहार बस्नु पर्ने भएकोले दर खाने दिन राती ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
दोस्रो दिन हरितालिका तीज भाद्र तृतीय, मुख्य व्रत र उपासनाको दिन हो । उप र वास, उप अर्थात् नजिक र वास भनेको बस्नु हो ।
भगवानका नजिक बस्नु सत्यको निकट बस्नु असत्य, अहङ्कार विकृती र विसंगतिबाट टाढा रहनु नै उपबासको सहि अर्थ र व्रतको सार्थकता हुने भएकाले शान्त, प्रसन्न एवम दृढ संकल्पका साथ हरितालिकाको व्रत बस्नाले सबैका लागि हितकार हुन्छ ।
शरीर, मन र वचनले शुद्ध भएर दियो, कलश गणेश स्थापित गरी उमामहेश्वरको पूजा गरी आफ्नो संकल्पलाई सार्थक पार्न गरिने व्रत नै हरितालिका तीजको प्रमुख व्रत मानिन्छ । ‘उमामहेश्वरसामुज्य सिद्धेये हरितालिका व्रतमहं करिस्ये’ भन्ने संकल्पका साथ शिव पार्वतीको प्रतिमामा पूजा गर्नाले नै पतिको अतिरिक्त सम्पूर्ण परिवारको नै आयु, आरोग्य, सौभाग्य एबम श्रीबृद्धि हुने विश्वास यस व्रतको हो ।
हरितालिका व्रत कथा सुन्ने चलन पनि छ । शिवजीले पार्वतीलाई पूर्व जन्मको स्मरण गराएको महात्म्य नै हरितालिका व्रत कथा हो ।
गणेश चतुर्थी र ऋषिपन्चमीलाई पनि तिज पर्व कै रूपमा मनाइन्छ । यो दिन बिहान सबेरै उठेर महिलाहरु नुहाइधुवाइ गरि मण्डप बनाई ऋषिको पुजाआराधना गरेर गाभाको तरकारीसंग खाना खाने चलन छ । साथै सोही दिन दिउँसो नाचगान गरि तिजको बिदाई समेत गरिन्छ ।
तीजको पहिरन र शृंगार तीजका दिन महिलाहरूले विशेष गरी रातो साडी वा पहिरन, चुरा, पोते, रातो धागो, विभिन्न गरगहना आदि लगाएर सजिने प्रचलन रहिआएको छ । यस बेला महिलाले लगाउने पहिरन र शृंगारको छुट्टै सांस्कृतिक महत्व रहेको छ ।
सांस्कृतिक अर्थमा नेपाली महिलाले प्रयोग गर्ने सिन्दूर, पोते, धागो तथा चुरालाई सौभाग्यको प्रतीक मानिन्छ । सिन्दुर सिन्दुर विवाहित महिलाको प्रमुख शृंगार प्रसाधन हो ।
प्राचीन कालदेखि नै विवाहित महिलाहरूले आफ्नो सिउँदो सिन्दुरले सजाउने र अविवाहित महिलाहरूले पनि शुभ प्रतीकका रूपमा सिन्दुरको टीका लगाउने चलन रहिआएको छ । हाम्रोे संस्कृतिमा रातो रंगलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्ने र श्रीमान्प्रतिको समर्पण र विश्वास झल्काउने समेत सांस्कृतिक धारणा रहिआएको छ ।
यधपी आधुनिक समाजमा तिजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टिसंगै समाज चलाउनको लागि पुर्विय मान्यता अनुसार महिलाहरु विवाह पश्चात् आफ्नो श्रीमानको घरमा जानुपर्ने र बाँकी जीवन बिताउनुपर्ने हुन्छ ।
यसरी आफू जन्मेको घर, मातापिता सहित इष्टमित्र र समाज छोडेर पराइघर जादा माइतीको याद आउने र त्यो यादलाई कम गर्न माइती घर आउने अवसरको रूपमा तिज पर्वलाई व्याख्या गरिएको छ ।
त्यसैले, हाम्रा साँस्कृतिक मान्यताहरु समाजलाई समय अनुसार रुपान्तरण गर्दै अगाडी बढ्नु पर्दछ । यसलाई हामीहरुले समाजमा समान रुपमा मनाउदै लैजान सक्नु पर्दछ ताकी विकृती होईन ।
शुरुका दिनमा नारी संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर पार्वतीको त्याग, तपस्या र महत्वलाई विर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक तरिकाले भड्किलो रुपमा मनाउन थालिएको छ ।
यसले हाम्रो समाजका मध्यमवर्गीय परिवारमा सिधै असर पार्दछ भन्ने कुरा कसैले नकार्न सक्दैन । यसले एकातिर महिलाको आत्माधिकारको सवालसंग जोडिएको सामाजिक विकृतीको रुपमा विकास गर्दै लगेको छ भने अर्कातिर हामी आफूले आफूलाई नै असुरक्षित गरिरहेका छौं ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नारी संघर्षको प्रतिक हो । यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र सँस्कृतीको मूल्य, मान्यता र तिनीहरुको मौलिकतालाई लोप हुन दिनु हुदैन । तीज आफैमा भडकिलो चाड होइन तर हिजो आज तीज भड्कीलो बन्दै गएको छ ।
सँस्थागत रुपमा सार्वजनिक समारोहमा तीज मनाउन थालिएदेखि अन्य दिनहरुमा पनि सिंगारिएर जाने चलन चलेको हो । व्यक्तिगत विचारमा यस दिनलाई नारी दिवस भन्दा फरक पर्दैन । पुरुषहरुबाट टाढा गएर, चुल्हो चौका विर्सेर, आफू र आफूजस्तै चेलीहरुसंग भेट भई वर्ष भरिका दुःख सुख एकाअर्कामा साटासाट गरि रमाईलो गर्ने दिन हो तिज ।
आफूले आफूलाई फर्केर हेर्ने दिन हो तीज । असफलता र दुःखमा मलम लगाउने, विगतको मूल्यांकन गर्ने र अर्को वर्षका लागि नयाँ दर्जा थप्ने दिन हो । पहिले-पहिले पारिवारिक रुपमा सासू, बुहारी, नन्द, अमाजु, देवरानी, जेठानीका समस्याहरु घाँस दाउरा र पानी पँधेराका समस्याहरु साथीहरुसंग बाड्थे भने अहिले हामीसंग बाड्नुपर्ने अरु पनि धेरै कुराहरु छन् ।
तीजको संस्कृतिले व्यापकता लिदैँ गएको छ । यसको निरन्तर विस्तार भइरहेको छ । शुरुदेखि अहिलेसमम यो परिवर्तन हुँदै पनि आएको छ । समाजप्रतिको परिवर्तन हुँदै जाने यसको चरित्र रहेको छ । धार्मिक क्षेत्रबाट शृङ्गारको र यसबाट सामाजिन र क्रान्तिकारी क्षेत्रमा फड्को मार्दै आएको तीजको संस्कृतिले अहिले भने केही बाटो बिराए जस्तो छ ।
अर्कोतिर तीजको सांस्कृतिक महत्व आफैमा कति छ भन्ने कुरा स्वतः अनुमान गर्न सकिन्छ । वास्तवमा तीजलाई नारीमुखी, जनमुखी, सांस्कृतिक महत्वको पर्वको रुपमा विकास गर्नुपर्ने खाँचो छ किनभने आधा आकाशलाई ढाकेका महिलाहरुको पर्व तीजको सांस्कृतिक महत्व आफैँ मुखरित भएको छ ।
तीजको संस्कृतिले धर्म र रुढिबादी चिन्तनलाई छोड्दै जानु त उत्साहजनक कुरो हो तर पुरानो छोड्ने क्रममा कतिपय उपयोगी कुराहरु पनि छोड्दै जाने र नयाँ पनि केहि नासिने कुराहरुले कुनै चिन्तनधारालाई पक्रिन सक्तैनन् ।
हाम्रो कार्यक्षेत्र फराकिलो भएको छ । यस पर्वमा हुर्कदै गरेको भड्कीलोपनलाई आजैबाट रोकेर यसको महत्वलाई अझै उचो पार्दै लान सक्नु पर्दछ । यस महान पर्व हरितालिका तीजको उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने नारीका हकहित र समान अवसरका लागी संघर्ष अभियानमा लागेका हामी सबैले हातेमालो गरी अग्रसर भएर तडक भडकलाई बन्देज गर्दै साधारण तीज मनाऔं ।
यसपटकको तीजले हामी सबै नेपाली चेलीहरुलाई यस्तै अनुभव साटने मौका देओस । चेली र माईतीको सम्बन्ध प्रगाढ बनाउने पर्वको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीवहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त चाहन्छु ।
तपाइँको प्रतिक्रिया