चितवनमा शारीरिक रुपमा अशक्त बालबालिकालाई छुट्टाछुट्टै पढ्ने व्यवस्था

एटुजेड समाचार

चितवन, भदौ २९ –नेपालको संविधानले हरेक बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको भए पनि अझै शारीरिक रुपमा अशक्त बालबालिका विद्यालयबाहिर नै छन् । यसलाई दृष्टिगत गर्दै भरतपुर महानगरपालिकाले शारीरिक रुपमा अशक्त भएका बालकालिकाहरुका लागि छुट्टाछुटै पठनपाठनको व्यवस्था गर्दै आएको छ ।

कानुन र नीतिमा अपाङ्गता भएका बालबालिकालाई अलग्गै कक्षा कोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार महानगरपालिकाले कामको सुरुआत गरेको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । गत वर्ष अटिज्म भएका बालबालिकाहरुका लागि छुट्टै व्यवस्था गरेको महानगरपालिकाले यस वर्षदेखि मस्तिष्क पक्षघात भएका बालबालिकालाई लक्षित गर्दै स्रोत केन्द्र स्थापना गरेको छ ।

वडा नं २६ स्थित दिव्यनगरमा रहेको आदर्श माविमा मस्तिष्क पक्षघात स्रोत कक्ष स्थापना गरिएको हो । यहाँ अहिले १० जना भर्ना भएका छन् । महानगरपालिकाले एकजना तालिम प्राप्त थेरापी शिक्षकसमेत नियुक्त गरेको छ । बालबालिकालाई विभिन्न थेरापीमार्फत क्रियाकलापहरु सिकाउने गरिएको शिक्षक हरिकला भुसालले जानकारी दिनुभयो ।

स्रोत केन्द्रले मस्तिष्क पक्षघात भएकाहरुलाई शारीरिक व्यायाम, दैनिक नित्यकर्म, खेलकुद तथा अन्य ज्ञान सिकाउने गर्दछ । बालबालिकाको दैनिक क्रियाकलापमा जोड दिँदै आएको उहाँले बताउनुभयो । पक्षघातका लागि अभिभावक स्वावलम्ब समूह भरतपुरका अध्यक्ष लक्ष्मीकान्त घिमिरे यस्ता बालकालिका विद्यालयबाहिर बढी रहेको बताउनुभयो । अभिभावकहरुले नै उनीहरुलाई विद्यालयमा पठाउन नचाहने गरेको उहाँले बताउनुभयो । महानगरपालिकामा ६५ जना मस्तिष्क पक्षघात बालबालिका रहेको घिमिरेले जानकारी दिनुभयो । विद्यालयहरुले समावेशी शिक्षा दिनसक्ने गरी शिक्षकको व्यवस्था नहुँदा धेरै बालबालिका विद्यालयबाहिर भएको अनुमान गरिन्छ ।

अपाङ्गता भएका बालबालिकाको सिकाइ विधि नै फरक हुन्छ । नेत्रहीन, बहिरा व्यक्ति, सुस्त श्रवण भएका, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सिकाइ फरक हुन्छ । सोही अनुसार महानगरपालिकाभित्र चार विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई राखेर पढाइ हुन्छ । त्यस्तै अटिज्म, बहिरा, नेत्रहीन, सुस्तमनस्थितिका बालकालिकालाई छुट्टाछुट्टै पढाइ सञ्चालन गरेको पौडेलले बताउनुभयो ।

वडा नं १० मा पनि विगतमा बालमन्दिर अटिज्म विद्यालय सञ्चालनमा छ । महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिज्म विद्यालय स्थापना गरेको थियो । राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चिता गरी शिक्षाका माध्यमबाट मर्यादित जीवनयापन गर्नसमक्ष र प्रतिस्पर्धी नागरिक तयार गर्ने विषय उल्लेख गरिएको छ ।
चितवनका १४ विद्यालयले अपाङ्गता भएका बालबालिकाहरुलाई पढाउँदै आएको छ । यी विद्यालयमा दुई सय ६० विद्यार्थी छन् । जटिल खालका अपाङ्गता भएका बालबालिका न्यून छन् ।

विद्यालयबाहिर रहेका बालबालिकालाई अपाङ्गताको प्रकार छुट्टै पढ्ने व्यवस्थाका लागि काम गरिरहेको पौडेलले बताउनुभयो । गत वर्ष समावेशी शिक्षा परियोजनामार्फत सङ्कलन गरिएको तथ्याङ्कले भरतपुर महानगरमा ७८ बालबालिका अघिल्लो वर्ष विद्यालय बाहिर रहेको देखाएको थियो । यस वर्ष बालबालिकालाई समेट्ने काम भएको पौडेलले जानकारी दिनुभयो । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु