चितवनमा कांग्रेस प्रति घट्यो कार्यकर्ताको आकर्षण

एटुजेड समाचार

चितवन – नेपाली कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य रहेको चितवनमा संगठित सदस्यहरुको संख्या उल्लेखनीय रुपमा घटेको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पछि ६७ प्रतिशतले मात्र पार्टी सदस्यता नवीकरण गरेका छन्।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार, १९ हजारको हाराहारीले मात्र पार्टी सदस्यता नवीकरण गरेका छन्।‘साउन ६ गतेदेखि सुरु गरेर जिल्लाका ९८ वटै वडामाहरुमा क्रियाशील सदस्यता नवीकरण अभियान सम्पन्न गरेका छौँ,’ सभापति खनालले भने, ‘७० प्रतिशत हाराहारीले नवकिरण गरेका छन्।’

१४ औँ महाधिवेशनमा नेपाली कांग्रेस चितवनको क्रियाशील सदस्यको संख्या २८ हजार २०० थियो। १८ महिनाको अवधिमै ३२ प्रतिशतको हाराहारीमा घटेको छ। अधिवेशनको समयमा पार्टी सदस्यता नवीकरण बढी हुने सभापति खनालले बताए।

‘पार्टीको विधान अनुसार एकै पटक दुई वर्षसम्म पार्टी सदस्यता नवीकरण गर्न मिल्छ। हामी निर्वाचित भएर आएको दुई वर्ष पुगेको छैन,’ उनले भने ‘विगतको नजिर पनि अधिवेशनको समयमा नवीकरण गर्नेको संख्या बढी छ।’

कांग्रेस चितवनले यहाँ घर भएर अन्यत्र बस्दै आएका पार्टी सदस्यहरुका लागि जिल्ला फर्क अभियान सञ्चालन गर्ने नीति ल्याएको छ। वैदेशिक रोजगारीमा रहेका नागरिकहरुलाई वैदेशिक जनसम्पर्क समिति मार्फत एकीकृत गर्दै पार्टी संगठनलाई बलियो बनाउने नीति ल्याएको उनले बताए। पार्टीको केन्द्रीकृत गतिविधिलाई विकेन्द्रिकृत गर्दै रचनात्मक कार्यसहित घुम्ती बैठक सञ्चालन गर्ने नीति नेपाली कांग्रेसको रहेको छ। अनलाइन मार्फत पनि कांग्रेसले सदस्यता नवीकरण गर्ने व्यवस्था गरेको छ।

चितवन नेपाली कांग्रेसको उर्भर भूमि हो। १३ औँ महाधिवेशनमा २० हजार सदस्य रहेको चितवनमा १४ औँ महाधिवेशनमा २८ हजार २०० पुगेको थियो। तत्कालीन समयमा देशभर सबैभन्दा बढी क्रियाशील सदस्य हुने जिल्ला चितवन भएको पार्टीका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए। अहिले कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य झापामा रहेको उनले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू