इजरायलद्वारा उपहारस्वरूप बीपीको दुर्लभ भाषण प्रदान
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ । इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले आज राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो ।
सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बिपी कोइरालाले सिङ्गो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए । सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा ‘इन्टरनेशलन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्स’ को प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बीपी कोइरालाले गरेको सम्बोधन राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहारस्वरूप हस्तान्तरण गरेका हुन् ।
राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँंदा खुसी लागेको बताएको सल्लाहकार पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकामा हर्षित हुँदै धन्यवाद दिएका थिए ।
“फरक खालको स्थिति भएको हुँदा तेस्रो विश्वका देशहरूले आर्थिक विकासका लागि प्रजातन्त्रलाई स्वीकार गरेका छैनन् । त्यसैकारणले आर्थिक विकास प्रजातान्त्रिक प्रणालीबाट हुन्छ कि तानाशाही प्रणालीबाट हुन्छ भन्ने बहस आज जारी छ”, बीपीको सो भाषण उद्धृत गर्दै पोखरेलले भने, “सही प्रतिपक्षको अभाव र मनोवैज्ञानिक पूर्णता नहुँदा स्वतन्त्रतापछि पनि तानाशाहीतन्त्र प्रख्यात भएको छ । सुस्तगतिमा हुने प्रगतिले सङ्घर्ष गरिरहेको प्रजातान्त्रिक प्रणालीले तानाशाहीतन्त्रलाई अवसर दिएर जनताको विकासप्रतिको कल्पना आकर्षित गर्दछ ।”रासस
तपाइँको प्रतिक्रिया