सरकारले क्रिकेट खेलाडीलाई दिने भनेको रकम घोषणामै सिमित

काठमाण्डौँ ,भदौ २४- सरकारले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई पुरस्कारको घोषणा गरेपनि समयमा नदिएको पाईएको छ । सरकारले अहिलेसम्म घोषणा गरेको पुरस्कार १७ लाख रुपैयाँ दिन बाँकी छ । पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिँदै १७ लाख पुगिसक्दा पनि खेलाडीले पाउन सकेका छैनन् ।
फेब्रुअरी र मार्चमा भएका आईसीसी वर्ल्ड कप लिग २ क्रिकेटका ३ वटा सिरिजको प्रति सिरिज ३ लाख रुपैयाँका दरले ९ लाख रुपैयाँ, प्रधानमन्त्रीले घोषणा गरेको थप २ लाख र नेपालले एसीसी प्रिमियर कप जित्दै एसिया कप क्रिकेटमा छनोट भएपछिको ६ लाख गरी कुल १७ लाख रुपैयाँ क्रिकेट खेलाडीले पाउन बाँकी छ ।
सरकारले घोषणा गरेको पुरस्कार नपाउनेमा सिनियर टिमका मात्र होइन, उमेर समूहका खेलाडीसमेत छन् । यू–१९ टिम गत पाmगुनमा २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएर फर्किएको थियो । त्यस्तै यू–१६ टिमले इस्ट जोन कप जितेर फर्किएको थियो । यी दुवै टिमका सदस्यलाई पनि सरकारले पुरस्कार घोषणा गरेको थियो ।
जसमा यू–१९ टिमका खेलाडीले सरकारबाट ३ लाख र क्यानबाट १ लाख गरी जनही ४ लाख पाउनुपर्ने हो । यू–१६ टिमका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने सरकारी घोषणा थियो ।
पुरस्कार रकम समयमै नपाउँदा उमेर समूहका खेलाडी निराश छन् । पुरस्कार रकम नपाएकाले बेला बेलामा राष्ट्रिय टिमका खेलाडीले कप्तान रोहित पौडेललाई हाम्रो पुरस्कारको रकम खोई भनेर सोध्ने गरेका छन् । एसिया कपमा नेपालले भारतसँग खेल्ने दिन संसदमै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले खेलाडीले पुरस्कार रकम नपाएको कुरा उठाएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेर खेलाडीहरुले पाउने पुरस्कारलाई पोहोर नै संस्थागत गरेको थियो । कार्यविधिमा खेलाडी, प्रशिक्षक र खेल संघले समेत सरकारबाट नगद पुरस्कार पाउने उल्लेख छ ।
कार्यविधिमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुददेखि सम्बन्धित खेलका अन्तर्राष्ट्रिय फेडेरेसनले गरेका प्रतियोगिता, विद्यालय खेलकुद, युथ ओलम्पिकलगायतका प्रतियोगितामा पदक विजेता खेलाडीले पाउने पुरस्कार रकम तोकिएको छ ।
तपाइँको प्रतिक्रिया