ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश

काठमाडौँ – ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।
‘सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला’, दाहालले भने ।
यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकाएका थिए । तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो ।
आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनछेक आदेश आउनेछ ।
कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो ।
तपाइँको प्रतिक्रिया