आज चितवनसहित बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
चितवन, भदौ २२- बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा आज चितवनसहित तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जुटेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गरे ।
चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया