विद्युतीय सवारीका लागि ५१ चार्जिङ स्टेसन एकसाथ सञ्चालनमा
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन बुधबारदेखि एकसाथ सञ्चालनमा आएका छन् ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना÷ ठूला कारहरु चार्ज गर्न मिल्नेछ । चार्जिङ स्टेसन उद्घाटनको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दिनमा देशव्यापी रुपमा चार्जिङ स्टेसन विस्तार हुने बताए ।
उनले विद्युतीय गाडी (ईभी) मार्फत नै हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने भन्दै विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरणसगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने धारणा राखे । उनले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र विस्तारको लागि आवश्यक सहुलियत प्रदान गर्न र अनुकूल वातावरण बनाउन सरकार तयार रहेको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको भन्दै आन्तरिक रुपमा विद्युत् खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए । उनले विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५÷२० गुणा सस्तो पर्ने उल्लेख गरे ।
प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको उनको भनाइ छ । उनका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको प्राधिकरणले जनाएको छ ।रासस
तपाइँको प्रतिक्रिया