गुञ्जनगरमा निःशुल्क उद्घोषण तालिम सुरू
गुञ्जनगर – सोच परिवर्तन नेपाल र चितवन आवाजको संयुक्त आयोजनामा तीनदिने निःशुल्क उद्घोषण तालिम गुञ्जनगरमा सुरू भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुखअतिथि एवं भरतपुर–१८ का वडाअध्यक्ष बाबुराम रानाले बोल्नेको पिठो नि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेझैँ आजको समय भनेको बोल्नेको समय रहेको बताए । अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस किसिमको तालिमहरू आयोजना गर्न आवश्यक रहेको उनले बताए ।
सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कँडेलले कुनै पनि कार्यक्रम सञ्चालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । क्षमता विकास गर्ने प्रमुख उद्देश्य पूरा हुने विश्वास राख्दै उनले सबैलाई तालिमबाट सक्दो लाभ उठाउन आग्रह गरे ।
चितवन आवाजका सञ्चालक विनोद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुस्मिता न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् भने चितवन आवाजकी संवाददाता निशा थापामगरले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा मुस्कान लाइफ समूहका अध्यक्ष घनश्याम ढकाल, न्यायिक समिति सदस्य सूर्य ढकाललगायतको उपस्थिति रहेको थियो ।
३० जनाको सहभागिता रहेको तालिमको पहिलो दिन सञ्जय देवकोटाले प्रशिक्षण दिएका थिए ।
तपाइँको प्रतिक्रिया