बालेनको आक्रोशबारे सचिवालयको स्पष्टिकरणः ट्राफिक प्रहरीले असभ्य व्यवहार देखायो

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सचिवालयले सार्वजनिक बिदाका दिन सार्वजनिक गाडी प्रयोग गरिएको विषयमा स्पष्टीकरण दिएको छ । बालेनको सचिवालयले बालेनकी श्रीमती सबिना काफ्ले सवार गाडीलाई केरकार गरेर ट्राफिक प्रहरीले अमर्यादित व्यवहार गरेको दाबी गरेको छ ।
‘नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे ।
सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।
प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ’ सचिवालयले भनेको छ ।काफ्लेले आपत्कालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ट्राफिक प्रहरीले ‘मैले चाहेँ भने यतै राख्न सक्छु’ भनेर धम्की दिएको सचिवालयको दाबी छ ।
तपाइँको प्रतिक्रिया