भरतपुरमा सञ्चालित समावेशी शिक्षा परियोजनाको घरघरमा पुगेर अनुगमन

चितवन, भदौं १७- भरतपुर महानगरमा सञ्चालित समावेशी शिक्षा परियोजनाको अनुगमन गरिएको छ ।
अटिजम केयर चितवन सोसाइटीले समावेशी शिक्षा परियोजना अन्तरगत भरतपुर महानगरपालिका भित्रका सामुदायिक बिद्यालयमा र समुदायमा सञ्चालन गरेका शैक्षिक क्रियाकलापहरुको आज संयुक्त अनुगमन गरिएको हो ।
अनुगमनमा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले घरमा आधारित शिक्षा प्राप्त गरेका बालबालिकाहरुसँग घर मै पुगेर भेट गरी समावेशी शिक्षाले उनीहरुमा ल्याएको परिवर्तन, दिनचर्या, शिक्षाको पहुँचलगायतका थुप्रै विषयहरुमा अन्तरक्रिया गरेका छन् । त्यस्तै, उपमेयर अधिकारीले श्रीपुर सुस्तःमनस्थिति कल्याण विद्यालय र रातापुर आधारभूत विद्यालयमा पुगेर समावेशी शिक्षाको अवस्थाको बारेमा जानकारी लिएका छन् ।
अनुगमनमा उपमेयर अधिकारीले अभिभावक तथा शिक्षकसँग पनि छलफल गरेका छन् । अभिभावक तथा शिक्षकसँगको छलफलमा उनले सिकाइको विश्वब्यापी ढाँचाको अभ्यास, विद्यालय सुधार योजना, घुम्ती शिक्षकको अनुभव, पहुँचयुक्त भौतिक संरचनाको अवलोकन, गुनासो सुनुवाइ संयन्त्रको कार्यान्वयन, वैयक्तिक शैक्षिक योजना, शिक्षकहरुसँग सम्वाद,स्थानीय समावेशी शिक्षण सिकाइ सामग्री र परियोजनाले हालसम्म गरेका क्रियाकलाप तथा कार्यप्रगतिहरुको बारेमा जानकारी लिएका छन् ।
अटिजम केयर चितवन सोसाइटीका परियोजना संयोजक सुमन पौडेलले भरतपुर महानगरपालिकामा ३८ जना बालबालिकाले घरमा आधारित शिक्षा लिइरहेको बताए । हाम्रो परियोजनाले घरमा आधारित शिक्षाको सुरुवात गरेदेखि अपाङ्गता भएका एवम् थप सिकाइ आवश्यकता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गराउन ठूलो सहयोग पुगेको प्रष्ट पारे ।
अटिजम केयर चितवन सोसाइटीले अहिलेसम्म ६ जना घुम्ती शिक्षकहरु मार्फत् घरघरमा गएर घरमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकामा तीन हजार भन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् भने दुई हजार बढी ब्यक्तिले अपाङ्गता परिचयपत्र प्राप्त गरिसकेको भरतपुर महानगरपालिकाले जनाएको छ ।
‘घरमा आधारित शिक्षा लागू भएपछि अपाङ्गता भएका बालबालिकाहरुमा सकारात्मक सोचको बिजारोपण भएको पाइएको छ’ घुम्ती शिक्षक निशा नेपालीले भनिन्, ‘उनीहरुमा शैक्षिक तथा ब्यबहारिक सुधार भएको पाइयो । परियोजनाले घर घरमा पुगेर घुम्ती शिक्षक मार्फत् शिक्षा प्रदान गराउँदा पहिलेको तुलनामा ४५ प्रतिशत सुधार आएको नेपालीको तर्क छ ।
समावेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ वर्ष उमेर समूहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्षित वर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।
भरतपुर महानगरपालिकामा ११२ वटा सामुदायिक विद्यालय र कालिका नगरपालिकामा ३५ वटा गरी जम्मा १४७ वटा विद्यालयमा परियोजना लागू भएको छ । यो परियोजनाबाट ३५ हजार बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् भने भरतपुर महानगरपालिकामा झन्डै १० वटा सामुदायिक बिद्यालयमा समावेशी शिक्षा लागू भएको छ ।
अनुगमनमा उपमेयर अधिकारीसहित भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, वरिष्ठ महिला विकास अधिकृतहरु सुशिला वाग्ले र कलावती ओझा, अधिकृतस्तर छैटौं पञ्चमाया तामाङ, सूर्य तिवारी, बौद्धिक अपाङ्गत अभिभावक महासंघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियोे ।
परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनले साझेदारी संस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन् भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा संघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन् । परियोजनाको अवधि तीन वर्ष अर्थात् जनवरी २०२२ देखि डिसेम्बर २०२४ सम्म रहेको छ ।
तपाइँको प्रतिक्रिया