चीनले नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेट्यो

नयाँ दिल्ली – चीनले सोमबार आफ्नो नयाँ नक्सा जारी गरेको छ । उसले उक्त नक्सालाई ‘स्टान्डर्ड म्याप’ भनेको छ ।नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।
अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।’
ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको केही दिनअघि मात्र भेट भएको थियो । सो भेटमा दुई देशको सीमा विवादको बारेमा छलफल भएको बताइएको बेला यो नक्सा जारी भएको हो ।यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशको ११ स्थानको नाम बदल्ने अनुमति दिएको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमा आफ्नो दाबी गर्दै आएको छ । उता भारतले पश्चिम अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर क्षेत्रमा चीनले अवैध रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ ।
तपाइँको प्रतिक्रिया