गैँडाकोटमा इन्टरनेटका तार व्यवस्थित गर्न सर्वपक्षीय छलफल

गैँडाकोट – गैँडाकोटको वडा नं–६ मा छरपष्ट रहेका तार व्यवस्थित गर्न आइतबार सर्वपक्षीय छलफल गरिएको छ ।
वडा कार्यालय, राजनीतिक दल, टोल विकास संस्था, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, केबुल, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिबीच सर्वपक्षीय छलफल गरिएको हो ।
भेलाले सेवा प्रदायक कम्पनीलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र यही भदौ २१ गते कालिका चोकदेखि तार व्यवस्थापन एवं अनावश्यक तार काट्ने निर्णय गरेको छ ।वडाको सौन्दर्य नै बिग्रनेगरी तार छरपष्ट भएको, घरनजिकका पोलहरुमा रहेका तारका कारण कुरुप देखिएको, पटक–पटक आगलागीको सामना गर्नुपरेको, लत्रिएका तारमा अड्किनेजस्ता जोखिम रहेकोले व्यवस्थित गर्न लागिएको वडाध्यक्ष सुभाष चापागाईंले बताए । यसअघि अव्यवस्थित तार काटिने ३५ दिने सूचना जारी गरिसकिएको जनाउँदै उनले सेवा प्रदायक कम्पनीलाई तार व्यवस्थित गर्न आग्रह गरे ।
नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले बिजुलीका तारभन्दा एकमिटर तलबाट तार राख्नुपर्ने प्रावधान भए पनि टेलिकम, केबुल र इन्टरनेट प्रदायक कम्पनीले सो नियम पालना नगरेको बताए । अधिकांश स्थानमा बिजुलीका पोलमा आगलागी हुने कारण बिजुलीको तार नभई इन्टरनेटका तार देखिएको उनको भनाइ थियो ।
नेपाल टेलिकम गैँडाकोट शाखा प्रमुख अर्जुन लामिछानेले यस्ता तार पुनः प्रयोग पनि नहुने र नष्ट पनि नहुने भएकाले पहिले नै सचेत बन्नुपर्ने बताए ।नेपाली कांग्रेस गैँडाकोट–६ का सभापति प्रकाश भूषालले प्रयोगमा नरहेको तार काटेर फाल्ने र प्रयोगमा आएकालाई संकेत चिह्न लगाउनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति कुशल अधिकारीले पोलमा रहेका तार सेवाग्राहीको सम्पत्ति भएका कारण वडावासीले चाहे हटाउन सकिने बताए । उपस्थित स्थानीयले इन्टरनेट अपरिहार्य आवश्यकता भएको तर यसलाई भूमिगत वा व्यवस्थित गर्न सुझाव दिएका थिए ।
उपस्थित सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुले इन्टरनेट सोसाइटी स्पाममा आवद्ध सेवा प्रदायक नियमसंगत नै रहेको र अन्यले गर्दा दोष पाएको बताएका थिए । उनीहरुले संकेत चिह्न राखिनु राम्रो रहेको बताएका छन् । स्थानीयले घरअगाडि लगाएका बोटबिरुवाका कारण, विद्युत्का पोल होचो भएका कारण र फिल्डमा काम गर्ने कामदारका कारण समस्या रहेको बताएका थिए । वडाले गर्ने काममा सहयोग रहने उनीहरुको भनाइ थियो । टेकमाइन्ड, वर्ड लिंक, सुविसु, सिजी, चित्रवन नेटलगायतका कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
वडा कार्यालयले भदौ १५ गतेदेखि तारहरु सफाइ गरिने जनाउँदै इन्टरनेट सेवा प्रदायकहरुलाई आ–आफ्ना केबुल पहिचान संकेत हरेक पोलहरुमा रहेको जक्सन बोर्ड तथा तारमा प्रयोग गर्न सूचना जारी गरेको थियो । निर्धारित समयभित्र उक्त कार्य नगरेमा संकेत तारबाहेकका अन्य सबै हटाइने बताइएको छ ।
तपाइँको प्रतिक्रिया