पुत्र वियोगले मर्माहत भएका सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन

काठमाडौं – दिवंगत अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको पनि निधन भएको छ । पुत्र वियोगले मर्माहत भएका सानुको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिबार ३.२० मा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन् ।
गत असार २१ गते सानुका एक मात्र छोरा सारुक ताम्राकारले आत्महत्या गरेका थिए । यसको १५ दिनपछि मृगौलामा देखिएको समस्याको उपचारका लागि भन्दै सानु नर्भिक भर्ना भएका थिए । डायलासिसकै क्रममा मृत्यु भएको प्रारम्भिक जानकारी पाएको मोहन निरौलाले बताएका छन् ।
‘मृगौलाको उहाँको समस्या पुरानै थियो तर तीन हप्ताअघि अलि धेरै च्यापेपछि हामीले नै अस्पताल जानुपर्छ भनेर नर्भिक ल्याएका थियौँ । तर उहाँ आज रहनु भएन,’ निरौलाले भने ।
कलाकार संघका कार्यवाहक अध्यक्षसमेत रहेका सानु ताम्राकार कलाकारिताबाहेक पुरानो समयमा जादुगर पनि थिए । उनले यही क्रममा विश्वका धेरै देश भ्रमण गरेका थिए । उनले तीन दर्जन बढी चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गरेका छन् । उनका रुकमणि ताम्राकार नामकी श्रीमती छन् । सानुले आफ्नो र श्रीमतीको सुरुका अक्षर मिलाएर छोराको नाम सारुक राखेका थिए ।
सानुको भोलि मात्र अन्त्येष्टि गरिने निरौलाले बताएका छन् । भोलि ९ बजे पशुपति परिसरमै श्रद्धाञ्जलीका लागि राखिने र १ घन्टापछि दाह संस्कार गरिने निरौलाल जानकारी दिए ।
तपाइँको प्रतिक्रिया