नेपालमा डेंगी संक्रमितको संख्या १८ हजार नाघ्यो

काठमाडौं – यो वर्ष (सन् २०२३) नेपालमा डेंगी संक्रमितको संख्या १८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरी यता अगष्ट २४ सम्म १८ हजार ३८९ जनामा संक्रमण पुष्टि भएको छ । जुलाइयता संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ ।
कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या डेढसयभन्दा माथि छ । सबैभन्दा धेरै कोसी प्रदेशमा १३ हजार ६८६ जना संक्रमित भएका छन् । वाग्मतीका धादिङ, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
वाग्मतीमा दुई हजार ९६७ जना संक्रमित भएका छन् । मधेसमा १८३, गण्डकीमा ६३२, लुम्बिनीमा ३४०, कर्णालीमा ४१ र सुदूरपश्चिममा ५४० जनामा संक्रमण पुष्टि भएको छ । अगष्टका २४ दिनमा मात्रै देशभर १० हजार ५४६ जना डेंगी संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।
वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पोष्ट मनसुनसम्म नै संक्रमण फैलिरहने विगतका तथ्यांकहरूले देखाएको बताउँछन् । “यसअघिका वर्षहरूमा पनि कुनै एक निश्चित क्षेत्रमा पोष्ट मनसुनमा पनि डेंगी फैलिएको देखिएको छ, योवर्ष पनि नियमित संक्रमण बढ्ने र वर्षातको अन्तिमसम्म नै रहने सम्भावना हुन्छ”, उनी भन्छन् । अघिल्लो वर्ष वा तीन वर्षअघि संक्रमण देखिएकै ठाउँमा फेरि उच्च भने नहुने विश्वभरकै तथ्यांकले देखाएको उनी बताउँछन् ।
तपाइँको प्रतिक्रिया