त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेमा ६ पुरुष र २ महिला

काठमाडौं – काठमाडौंबाट पोखरा हुँदै बेनीतर्फ जाँदै गरेको ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहरामा भएको दुर्घटनामा ६ पुरुष र २ महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये तीनजनाको मात्रै नामथर खुलेको छ। बाँकी ५ जनाको खुल्न बाँकी छ।
धादिङ प्रहरीका अनुसार म्याग्दी रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वत मोदी गाउँपालिका १ का गुरुदत्त शर्मा पौडेलको छोरी १५ वर्षीया कृतिका शर्मा र धादिङ गजुरी गाउँपालिका ८ का २४ वर्षीया सविन रम्तेलको विवरण खुलेको हो।
दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेहरूको टिचिङ अस्पताल मलेखु र काठमाडौंमा उपचार भइरहेको छ। सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका ६ का ३४ वर्षीय रोशन तामाङको सकुशल उद्वार गरी प्रहरीले नियन्त्रणमा लिएको छ।
बस नदीमा डुबेकोले गोताखोरको टोलीले एकजना यात्रु हराइरहेको आशंकामा खोजी जारी राखेको छ । नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको प्रहरीको अनुमान छ।
बुधबार बिहान सवा ११ बजे बस त्रिशूली नदीमा खसेको थियो।
तपाइँको प्रतिक्रिया