काठमाडौँ – भारतले एकैपटक ४० प्रतिशत निर्यात कर लगाएपछि नेपाली बजारमा प्याज आउन छाडेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा हिजो सोमबारदेखि प्याज आउन छाडेको हो । यससँगै, विकास समितिले वेभसाइटबाट प्याजको मूल्यसूची नै हटाइदिएको छ ।
भारतले निर्यातमा कर लगाएपछि भने व्यवसायीले भारतमा महँगो भएको भन्दै आयात नै बन्द गरिदिएका हुन् । यद्यपि, अनौपचारिक माध्यमबाट भने प्याज आइरहेको छ ।
कालिमाटी बजारमा सोमबार प्याजको थोक मूल्य प्रतिकिलो ६१ रुपैयाँ थियो । हिजो एकैपटक १७ रुपैयाँले बढेर प्रतिकिलो ७८ रुपैयाँ पुगेको थियो । यद्यपि, कालिमाटीमा हरियो प्याज भने कारोबार भइरहेको छ । विकास समितिमा आज हरियो प्याजको मूल्य प्रतिकिलो २२० रुपैयाँ कायम छ ।