राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी : उपमहासचिव पुन

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्बद्ध पेसागत जिल्ला समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि बिना कारण हमला भइरहेको बताए ।
‘राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौँ’, उनले भने। उनले वर्तमान सरकार गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उपमहासचिव पुनको जिकिर छ ।
राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको उल्लेख गर्दै उनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेको बताए ।
तपाइँको प्रतिक्रिया