कालिका – पूर्वी चितवनको कालिका नगरपालिकामा ८० वर्षभन्दा माथिका रातो कार्ड प्राप्त गरेका ज्येष्ठ नागरिकको घर–घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
नगरपालिका क्षेत्रभित्र रहेका करिव ६५० जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवं उपचार गर्नेगरी घर–घरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरू गरेको नगरप्रमुख विनोद रेग्मीले बताए ।
घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा बजेट छुट्याएर कार्यक्रम गर्दै आइरहेको उनको भनाइ छ । उक्त स्वास्थ्य उपचारका लागि रू ६ लाख बजेट छुट्याएर कार्यक्रमलाई निरन्तरता दिइरहेको प्रमुख रेग्मीको भनाइ छ ।
स्वास्थ्यकर्मीको समूहले नगरका ११ वटै वडामा प्रत्येक दुई/दुई महिनामा पुगेर उच्च रक्तचाप, सुगर जाँच, पिसाबमा प्रोटिनको मात्रा, स्वास्थ्य परामर्श र सामान्य औषधि वितरणका गर्ने गरिएको छ ।
त्यस्तै विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमासमेत नगरपालिकाले गरिदिएको छ । नगरपालिका भित्रका प्रत्येक घर–घरमा स्वास्थ्यकर्मी पुगेर दीर्घरोगी पहिचान, उनीहरुको स्वास्थ्य अवस्था र कुन–कुन औषधि सेवन गर्छन् त्यसको बारेमा वडा नं. ८ गैरीबारीमा अनुगमन गरेको नगरप्रमुख रेग्मीले जानकारी दिए ।
जटिल रोग भएका बिरामीहरुलाई नेपाल सरकारले निर्धारण रेको मापदण्डअनुसार नगरपालिकाको तर्फबाट सेवा सुविधा उपलब्ध गराउँदै आएको प्रमुख रेग्मीले बताए ।
कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले कार्यक्रम निकै प्रभावकारी भइरहेको बताए । भण्डारीले भने, “यो कार्यक्रममा रातो कार्ड पाएका र अपाङ्गता भएका व्यक्तिहरुलाई समेटेका छौँ, ५२ जना रातो पाएर अपाङ्गता भएका व्यक्ति छन् । प्रत्यक दुई–दुई महिनामा करिव ६५० जनाको घरदैलोमा पुगेर यो कार्यक्रम गरिरहेका छौँ ।”
आधारभूत स्वास्थ्यसेवा स्थानीय तहको एकल अधिकारभित्र पर्ने भएकाले ज्येष्ठ नागरिक घरमै बिरामी परेर बस्नुपर्ने अवस्थालाई सुधार गर्न यो अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
स्वास्थ्य परीक्षणमात्रै नभई ज्येष्ठ नागरिकको आनिबानी, खानापान, सरसफाइमा विशेष जोड दिन आग्रह गरेको उनले जानकारी दिए । सानो रोग पालेर बस्दा बस्दै पछि यो रोगले ठूलो भयावहाक स्थिति सिर्जना नहोस् भन्नका लागि यो घरदैलोमै पुगेर स्वास्थ्य परीक्षणको थालनी गरेको उले बताए ।
आधारभूत स्वास्थ्यसेवा केन्द्रका डा. हस्तबहादुर चेपाङले ज्येष्ठ नागरिकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष चित्रबहादुर मगर, नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवाल, सम्बन्धित टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।